- नमस्ते! तपाई आफ्नो बारेमा थोरै कुरा भन्न सक्नुहुन्छ?
नमस्ते, मेरो नाम सुलेखा कुमारी हो। म अहिले १९ वर्षकी भए। मेरो पुरानो घर सर्लाही हो र अहिले म ललितपुरको नख्खुमा बस्छु। मेरो परिवारमा मेरी आमा, बुवा, बहिनी र म छौं र उहाँहरू अहिले सर्लाहीमै बस्नुहुन्छ। मेरो एउटा सानो ४ वर्षको छोरा पनि छ।
- तपाईले आफ्नो यात्रामा सामना गर्नुभएको साना वा ठुला चुनौतीहरू के के थिए?
म १४ वर्षको उमेरमा बलात्कारमा परेर गर्भवती भएको थिए। मलाई मेरो घर परिवार र समाजबाट कुनै पनि साथ मिलेको थिएन। म त्यो बेला निकै एक्लो महसुस गर्थे। साना साना चुनौतीहरू त धेरै नै थिए तर सबैभन्दा ठूलो चुनौती मेरो लागि मेरो परिवारको साथ र माया नपाउनु थियो। म त्यो बेला सानी थिए र धेरै कुरा थाहा पनि थिएन। मलाई सबैले समाज र परिवारको इज्जत फालेको भनेर मानसिक यातना दिने गर्थे। मलाई दिनदिनै यस्तो लाग्थ्यो कि म किन जिउँदै छु र म मर्छु भनेर सोच आउँथ्यो र कति पटक त म मर्नको लागि प्रयास पनि गरे।
- तपाईले सामाजिक वा सांस्कृतिक बाधाहरूलाई कसरी पार गर्नुभयो?
मलाई मेरा आफ्ना मानिसहरूले साथ दिएनन्, समाजले त झन मलाई मेरै गल्ती हो भनेर धेरै कुरा सुनायो। भाग्यवश मलाई बाल संरक्षण निकायबाट मद्दत मिल्यो र उनीहरूले मलाई एउटा संस्थाको सहयोग दिनुभयो। त्यहाँबाट साथ पाएपछि मैले थोरै थोरै गर्दै हिम्मत पाए। आफ्नो परिवारबाट नपाएको माया मैले उनीहरूबाट पाए र आफ्नोलागि आफैले समाजसँग लड्ने प्रेरणा पाए। मैले हिम्मत गरेर मेरो बलात्कारी बिरुद्ध मुद्दा पनि लडे र जिते। आफ्नो लागि आवाज उठाएर मैले अजै पनि हौसला प्राप्त गरेँ र बिस्तारै बितेको समयको कुरा बिर्सेर अघि बढ्न खोजे।
- केहि त्यस्तो कारण वा क्षणहरु थिए जसले गर्दा तपाईलाई हार मान्न मन लाग्यो? त्यो बेला के गर्नुभयो?
मलाई थाहा थियो म निर्दोष थिएँ भनेर तर सबैले यातना दिने गर्दा मलाई आफैदेखि नराम्रो लाग्न थाल्यो। म दिनदिनै सोच्थे कि म विवाह नगरी नै गर्भवती भए, अब म के गरुँ, कसरी आफ्नो जीवनमा अघि बढुँ। मलाई कसैले नअपनाएको कारणले निकै पिडा हुन्थ्यो र त्यसैले मैले जीवनदेखि हार मानिसकेको थिए। मलाई आँफु बाँच्न कुनै इच्छा थिएन। यदि मैले कसैको साथ र सहयोग पाएको भए आज यहाँ हुदैन थियेँ होला।
- तपाई अहिले के काम गर्दै हुनुहुन्छ र यो काम गर्न प्रेरणा कसरी पाउनुभयो?
म अहिले एउटा संस्थामा बसेर हस्तकला्को कामहरू गर्दै आएको छु। मैले यो काम गरेको अहिले लगभग ३ वर्ष भएको छ र अहिले मैले यस कामबाट महिनामा १५, १६ हजार कमाउँछु। यहाँ मैले कपडाका फूलहरू बनाउने, कागजबाट बनेका मालाहरु बनाउने, कपडाका प्याडहरु सिलाउने र कपडाका झोलाहरू सिलाउने कामहरू गर्छु। यो काम सुरु गर्नुको कारण मेरो आफ्नै आत्मविश्वास बलियो बनाउनु थियो। मैले आफ्नो लागि केहि गर्न सक्छु र आफ्नो र आफ्नो छोरा को भविष्यको लागि सक्षम हुनुपर्छ भन्ने सोच राखेर यो काम गर्न थालें। सुरुमा त मलाई केही गर्न मन लाग्दैनथ्यो र नकारात्मक सोचहरू मात्र आउँथे। तर यहाँ मेरा दिदी बहिनीहरू सँगै मिलेर यो काम गर्दा मलाई निकै रमाइलो लाग्छ र मेरो दिमागमा कुनै नराम्रो सोच पनि आउँदैन। यो हस्तकला काम गर्दा मेरो सबै ध्यान यतै हुन्छ र आफ्ना बारेमा पनि राम्रा सोच मात्र आउँछन्।
- तपाई जस्तै परिस्थिति भएका महिला हरुलाई के सन्देश दिन चाहनुहुन्छ?
सुरुमा त म यो भन्न चाहन्छु कि म जस्तो कठिन परिस्थितिबाट कोही पनि नजाओस्। यदि कुनै पनि यस्ता कठिन परिस्थितिमा परेका छन् भने म सबैभन्दा पहिले यो भन्छु कि तपाईंको यसमा कुनै गल्ती छैन र तपाईंको लागि म जस्तै सयौं दिदी बहिनीहरूको साथ छ। त्यो परिस्थितिबाट अघि बढ्न निकै कठिन हुन्छ तर आफैंमा विश्वास गर्न कहिले पनि नबिर्सनुहोस्। तपाईं आफैं एक शक्तिशाली व्यक्ति हुनुहुन्छ र तपाईंले गर्नु भए ठूला ठूला कामहरू गर्न सक्नुहुन्छ।
- भविष्यका लागि तपाईको आशा के रहेको छ?
म आफ्नो छोरालाई मैले नपाएको सबै खुशी दिन चाहन्छु। उसलाई राम्ररी पढाउन चाहन्छु। म आफैं पनि धेरै नभए पनि १२ सम्म पढ्न चाहन्छु। भविष्यमा मेरो एउटा घर होस् भन्ने आशा राख्दछु। मैले सिकेका सीपहरूलाई निरन्तरता दिई अरू पनि नयाँ नयाँ कुरा सिक्न चाहन्छु। त्यसै गरी, म जस्तै माया र साथ नपाएका दिदी बहिनीहरूलाई म माया र साथ दिन चाहन्छु र उनीहरूलाई मैले सिकेका सीपहरू पनि सिकाउन चाहन्छु।