सुजिना तामाङ1
साँझ झमक्कै परिसकेको थियो । वरिपरि भङ्ग भङ्ग गरेर कुकुरहरु भुकिरहेका थिए । म भने एउटा सानो टाटिले घेरिएको, कमेरो माटोले पोतेको चार भित्ता भित्र, ढोका छेउमै रहेको माटाको चुल्होमा खाना पकाउनका लागि आगो बाल्न लागिरहेको थिएं । मलाई आगोबाल्न पनि निकै कठिन भै रहेको थियो । चिसोमाटोले पोतिएको चुल्हो, अनि रातभरी परेको पानीले भिजेको दाउरा, जति बाल्न खोज्यो उति चिसो दाउराबाट निस्केको धुवाको मुस्लो । उफ… फुक्दा फुक्दा मेरो मुटु नै फुट्ला जस्तो भै सक्यो ।
त्यतिकैमा ढोकामा लात्ताले ड्याम्म हानेको आवाज आयो । म एक्कासी तर्सिए । फुक्दै गरेको ढु्रग्री फुत्त भुइमा झर्यो । पछाडी फर्केर हेरें । रक्सीले टिल्ल परेर मातेर मेरो बुढो ठुल्लठुलो आवाजमा फलाकी रहेका रहेछन् “यति खेरसम्म खाना पकाकी छैनस् ?” दिनभरी कहां मरेकी थिइस्, को संग लठारिन गइस् र यति राती बल्ल आगो फुक्दैछेस् ?” उनका हात मै माथि झम्टीए ।
मैले आफु गलत छैन भनी बारम्बार कोशिस गरें तर मात्तेर आफ्नो खुट्टा भुइमै नटेकिएको मान्छेले मेरो कुरा के नै बुझ्थ्थे र?
उनको रुख्खो बोली, घरै थर्किने आवाजमा निस्केको अस्लील शब्दहरु अनि म माथि बारम्बार उठेको त्यो हात दिनदिनै बढ्दै गयो । म चुपचाप उहाँको तीता बचनहरु सहदै बसिरहें । उहाँको यो टोल थर्किने आवाजको अगाडि मेरो आवाज त्यतिकै हराउंथ्यो ।
बल्लबल्ल आगो बल्यो, चुल्होमा भात बसाल्दै, बारीबाट टिपेको लौकाको तरकारी चुलेसीको सहायताले काट्न थालें । तरकारी केलाइरहंदा आफ्नो जिन्दगीका पानाहरु पनि केलाउन थालें ।
कक्षा १२ मा पढ्दै थिए, टन्न साथीहरु रमाइलोसंग कलेज पढ्न जान्थ्यौ, केहि कुराको पनि तनाव थिएन । जीवन स्कूल र घरको बीचमा सीमित थियो । बजारमा भर्खरैमात्रै स्यामसुको टुकटुके फोन निस्केको थियो । एक दिन, अचम्मलाग्दो घटना भयो । मेरो मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आयो । “हेलो, म सन्देश बोल्दैछु । गल्तीले नम्बर डायल भएछ, सरी है “उसको आवाजले सहजै मेरो मन छोयो । मैले पनि मुस्कुराउँदै उत्तर दिए, “ठीक छ, यो त सामान्य कुरा हो । त्यस दिनदेखि रङ नम्बरको यो संयोगले हामीबीच बोलचाली सुरु भयो । सुरुमा सामान्य कुराकानी भयो । पछि, दिनहरू बित्दै जाँदा हाम्रो कुराकानी गहिरिँदै गयो ।
सन्देश विदेशमा भएकोले गर्दा हामीहरुको भेटघाट असम्भव थियो । तर, कुराकानीमा भने हामीबिचको सम्बन्ध यस्तो गहिरो बन्यो कि हरेक बिहान “गुड मोर्निङ“ भन्न पनि पर्खन गाहे हुन थाल्यो । उसलाई कहिले भेटौं जस्तो भयो, उसको फोटो हेर्न म र साथीहरु साइबरमा पनि गयौं । फोटो हेरेपछि मलाई झनै उ मन पर्यो । त्यसपछि म भने उ नेपाल आउने प्रतिक्षामा बसें ।
उसको र मेरो प्रत्यक्ष भेट नभएपनि फोनबाटै सन्देशले प्रस्ताव राख्यो, “म चाडै नेपाल आउछु । तिम्रो आवाजमात्र सुनेर तिमीसँग प्रेममा परेको छु । तर अब तिमीलाई देख्न अनि भेट्न मन लाग्यो । सन्देशको यस्तो कुराले म फुरुङ्ग हुन्थे ।
लगभग १ वर्षको प्रतिक्षापछि उसको नेपाल आउने दिन पनि आयो, उसले शुक्रबारको दिन बिहान १० बजे सातदोबाटो चोकमा भेट गरौं भन्यो र म त्यहि अनुरुप गएँ । मैले टाढैबाट उसलाई चिनें, फेसबुकमा देखेको फोटोमा जस्तै कालो जाकेट, कालो पाइन्ट परैबाट हेर्दा हिरो जस्तो लाग्यो । एकैछिन त मैले टाढैबाट हेरिरहे, उसलाई फोन गरेर एकछिन कुर्न भन्दै टाढैबाट उसलाई निहाले । उसले भने छिटो आउन भन्दै थियो । थोरैबेर उसलाई सताएपछि हामी दुवैको भेट भयों । नजिकै चिया खानेठाउँमा गयौं र चिया संगै आफ्नो मनको कुराहरु प्रत्यक्ष भेटेर साट्यौं ।
उसले मेरोबारेमा मात्र नभै मेरो परिवारको बारेमा पनि कुराहरु गथ्र्यो । यसरी हामी घण्टौं एकअर्कोबिच समय बिताउथ्यौ ।
यसरी प्रत्यक्ष रुपमा उ संग भेटेपछि झनै हाम्रो सम्बन्ध गाढा हुन थाल्यौं । एकपलको दुरीमा पनि मन छटपटाउने, पानी बिनाको माछा जस्तो महसुस हुन थाल्यो. । दिनको १० पटक उसले मलाई फोन गथ्यौं । मैले खाको नखाको, सन्चोविसन्चो सोध्ने देखि मेरो प्रशंसा गर्ने उसको बानीले गर्दा मलाई उसंग बिहानीको झुल्केघामदेखि बेलुका आखाँ ननिदाउनजेलसम्म उसैको संझना आइरहन्थ्यो । उसले आफ्नो तारिफ गरिरहदा साच्चीकै आफु त कति राम्री महसुस हुन्थ्यो ।
मेरो पढाई, घरको जिम्मेवारी सबै उसको प्रेमको अगाडि कुहिरोमा हराएको काग झै भईसकेको थियो । म उ बिना र उ म बिना बाँच्न नसक्ने भयौं । हामी दुवैले आफ्नो आफ्नो घरमा बिहेको बारेमा कुरा पनि गर्यौं तर मेरो घरबाट १२ कक्षा पास गर्नु अनि गरौंला । आमाबुबाले कुर्नुभनेपछि सन्देशले मानेन र उसैले भने बमोजिम हामीले भागेर विवाह गर्यौं ।
मलाई उसले आफ्नो घरमा लग्यो, घरमा पनि सबैले बुहारी भनेर आफ्नो संस्कार अनुसार नै भित्राए ।
मोबाइलको रंग नंम्बरबाट सुरुभएको हाम्रो सम्बन्ध विवाहसम्म पुग्दा धेरै रमाइलो थियो, राम्रो सपनाहरु सजाएका थियौं, हामी दुवै खुसी थियों ।
मेरो जिन्दगीमा उसको प्रवेश हुँदासम्म सबै राम्रो बन्दै थियो तर जब उसले आफ्नो जिन्दगीमा रक्सीको नसा भित्रायो अनि उसको र मेरो दुवैको जिन्दगी वर्वादी तिर धकेल्दै गयो ।
जातैले पाको भन्दै आफुले रक्सी खादासम्म त्यस्तो असर गरेको थिइन तर जब रक्सीले मेरो बुढालाई खादै गयो अनि हाम्रो जिन्दगीनै हलचल पारिदियो ।
तर त्यो बानी विस्तारै लतमा परिणत भयो । उ दिनदिनै रक्सी पिउँदै घर फर्किन थाल्यौ । मैले उनलाई धेरै सम्झाएं, तर उसले मेरो कुरालाई वास्ता गरेन । उसको रक्सीपिउने बानीले हाम्रो जिवनमा अशान्ति ल्यायो । झैझगडा, कुटपिट र आरोप–प्रत्यारोपको झनै बढ्दै गयो ।
यसै बिचमा हाम्रो एउटा छोरा पनि जन्मिएको थियो । अब त झर्नै जिम्मेवारी थपिदै थियो । तर जति जिम्मेवारी थपियो त्यति उ जिम्मेवारीबाट भाग्न थाल्यो ।
यदि म यसरी घरमै बसिरहेँ भने न बच्चाको भविष्य बन्छ, न मेरो । बच्चालाई राम्रो जीवन दिने उद्देश्यले मैले नै केहि गर्नुपर्छ, भनेर बच्चालाई उसको बाउ हजुरआमासंग घरमै छोडी काठमाण्डौं आएं ।
काठमाडौँमा मैले निकै संघर्ष गर्नुपर्यो ।काठ्माण्डौमा खानको लािग र बांच्नको लागी मैले जुन संघर्ष गरें ति संघर्षलाई म फेरी सम्झन चाहन्न ।कामको खोजिमा भौंतारिंदा पाएका ति ठक्करहरु, अपमानहरु र आफैंलाई लज्जीत बनाएर बांच्नुपरेको त्यो जिन्दगी सम्झींदा अहिले पनि लाग्छ म संघर्ष नै गर्नको लागि जन्मेको हुं । मनोरंजन क्षेत्रमा काम गर्ने महिलाहरुको शसक्तिकरणमा कार्यरत एक संस्थामा मेरो माईति गाउंको गाउँको दिदीसंग चिनजान भएपछि त्यससंस्थाको माध्यमबाट मैले आफुलाई चिन्ने मौका पाएं । मैले आफुलाई जतिको कमजोर मानेको थिएं । त्यस्तो कमजोर मान्नुपर्ने केहि कारण रहेनछ । म पनि धेरै कुराहरु गर्न सक्ने क्षमता भएको मान्छे रहेछु । म संग आफुले भोग्नुपरेको अन्याय विरुद्ध आवाज उठाउने पनि क्षमता रहेछ भन्ने महशुस गर्न सक्नेभएपछि अहिले म संग जे छ त्यसैप्रति म खुशी छु । जिवनमा केहि गर्छु भनेर आंट पनि आएको छ । म यस संस्थाको हस्तकलाको कामबाट महिनाको २०,००० सम्म उत्पादन गर्न सक्षम पनि भएको छु । मलाई आशा छ म आफ्नो जिवन खुशीपुर्वक बांच्न सक्छु ।
आफै मन पराएर केहि नबुझी मात्र उसलाई हेरेर बिहे गर्नाले मैले जे भोगें यस्तो अरु कसैले भोग्नु नपरोस । त्यसैले म सवै बहिनीहरुलाई भन्न चाहान्छु कि आफ्नो पढाई पुरा नगरी अनि आफु आर्थिक रुपमा सक्षम नभई विवाह गर्ने सोच बनाउंदै नबनाउनुहोस । जिन्दगीले हामीलाइ घरी घरी मौका नदिने रहेछ । त्यसैले आफु पहिला अनिमात्र विवाह तथा समाज भन्न्ो मन्त्र मनमा लिन नविर्सौं ।