सुजिनाको सर्घषको कथा

सुजिना (नाम परिवर्तन)

ढकढकढकढकढ.. सवैजना उठ है । विद्यालय जाने बेला भयो । यमिना दिदीको आवाजले मेरो दिमाग र परेली संगै उघ्रिए । उठ्नासाथ एउटा मिठो कल्पनाले मेरा ओठमा हांसो झल्कीयो । “आज त मंगलबार । आहा । मार्केट जाने दिन ।” एक्लै मुस्कुराउंछु ।

ओछ्यानबाट उठेर मेरो ४ बर्षे छोराको लागि स्कुल ब्याग तथा उसको लागि चाहिने सवै ब्यवस्था गर्छु । आफुपनि हल्का निलो रड.को कुर्ता अनि सेतो रड.को सुरुवाल लगाएर विद्यालयको जानको लािग तयार हुन्छु । म मेरा अरु सात जना साथीहरुसंग रमाईला गफ गर्दै विद्यालय पुग्छु ।

देख्दामा कालि कालि पातली र सानी मान्छे म भर्खरै १९ बर्षमा टेकेको छु । तर बच्चैबेलादेखि मैले भोगेको जिवनले मलाई २९ बर्षकि आमा, ४० बर्षको एक ब्यापारी अनि ३५ बर्षको कर्मचारी भन्दा सानो महशुस हुंदैन । हो म एक आमा, एक ब्यापारी र एक कर्मचारीको भुमिका निर्वाह गर्दैछु । त्यतिमात्र कहां हो र । म एक कक्षा २ मा पढ्ने विद्यार्थि पनि हुं ।

विद्यालयमा आफ्नो पढाई पुरा गरी आफु बस्ने संस्थामा आई खाना खाएर म मेरो दिनचर्या सुरु गर्छु । विद्यालयबाट आउंदै आज मार्केटेको लािग चाहिने बन्दा, प्याज, धनिया जस्ता सवै सामाग्री मसंगै आईसकेका छन । आज मेरा दिन यिनै बन्दा, प्याज, तेल र आगो वरीपरि वित्नेछन। विहानको ११ बजेको छ । म निकै मेहेनत गरेर दुध चिया बनाउंछु । अर्को भांडोमा उतिक्कै मेहेनत गरेर मसला हररररर आउने अनि स्वादिलो कालो चिया पनि बनाउंछु । यस संस्थामा काम गर्ने तथा बस्ने दिदीबहिनीहरुको लागि चिया खाजा बनाउने मेरो जागीरको जिम्मेवारी भित्र पर्छ । जिम्मेवारी त छंदैछ । त्यो भन्दा पनि बढि मेरा वरीपरी भएका म्यामहरु तथा साथीहरुले मैले पकाएको मिठो मानी मानी खाएको देख्दा म त्यसै अघाउंछु । सन्तुष्ट हुन्छु । स्वादिलो बनाउनलाई चिया पाक्दै गरेको चुलोलाई सानो पारीदिएर म किचेनको स्ल्यापमा चपीड. बोर्ड चपचपचपचपपचपच पारेर बन्दा लाई मसिनो गरी टुक्र्याइपनि रहेको छु । म बस्ने संस्थाबाट करिब ३०० मिटर अगाडि एउटा बास्केटबल कोट छ । त्यहां हरेक मंगलबार स्थानीय उत्पादीत सामानहरुको हाट बजार लाग्ने गर्छ । त्यहांका करीव ३० जना ब्यापारीहरु मध्येको एउटा ब्यापारी म पनि हुं । कसैले अर्गानिक तरकारी बेच्छन् भने कसैले खानेकुरा त्यहि पकाएर बेच्छन ।  मैले भनें आफु सर्लाहिमै हुँदा सिकेको गाउंको हाट बजारको प्रचलित खाजा आलुको चप र पकौडालाई नै काठ्माण्डौमा स्थापित गर्न सफल भएको छु ।

म अरु मंगलबार झैं आज पनि मार्केट पुगेर आफ्नो कामको सुरसार गर्छु । सधै पर्कौडा खान आउने हरी दाइ  आउनुहुन्छ र भन्नुहुन्छ “आज मेरो छोरीको जन्मदिन छ, “मेरो छोरीको जन्मदिनमा तिमीले बनाएको आलुचप खुवाउछु” । म केहि बेरैमै उनले बन्दा, हरियो प्याज, खुर्सानी मसिनो टुक्रा पारेको समाग्रीलाई हातमा पन्जा लगाएर मुछ्न थाल्छु । त्यतिकैमा अर्को ग्राहक फेरी पकौडाको अर्डर गर्न आईसकेको देख्छु र हतपत एकछिन कुर्नु है तयार भईहाल्यो भनेर पकौडा जस्तै स्वादिलो आश्वासन दिन्छु । 

सानो छंदा स्कुल पढ्न पाइन । घरधन्दा गर्दा गर्दै कतिबेला बाल्यकाल बित्यौ मैले  पतै पाइन ।  त्यसैले व्यापारको हिसाब किताब भने औला भाँचेरै गर्छु ।  तर अव विद्यालय जांदैछु । विस्तारै क्यालकुलेटर अनि अझै विस्तारै कम्प्युटर नै चलाउन थाल्छु कि के थाहा । जिवनमा जति मेहेनत गर्यो त्यति नै सवै काम गर्न सकिन्छ भनेर म्यामहरुले सधैं हौसल्ला दिनुहुन्छ । हाट बजारमा भएका सवै ब्यापारी मेरा आफ्ना घरका परीवार जस्ता छन । सवैले घरको सदस्यजस्तै मलाई मायां गर्छन । मेरो कुरा सुन्छन । मलाई महत्व दिन्छन अनि मेरो कामको प्रशंसा गर्छन । म यति सानोमा यतिको कुरा गर्न सक्ने भएकोमा म प्रति गर्व गर्छन । जवकि मेरो आफ्ना् घर परिवारका सदस्यहरु भने न त मलाई मायां नै गर्छन न त मेरो कुरा सुन्छन । त्यसैले पनि मैले सिकेको छु । परिवार रगतले मात्र हुने हैन रहेछ । परिवार भनेको त एक अर्काको साथ सहयोग, मायां र हौसल्ला रहेछ । त्यसैले पनि होला मंगलबार आएपछि मन एकदम प्रफुल्लित हुन्छ ।

“ओ सानी साहुनी मिठ्ठो आलुचप खाउं त… ।” अर्का ग्राहकले मलाई जिस्काउदै अर्डर गर्छन ।

“ल लिनु दाई २०० रुपैयाको भयो,” म फोयल पेपरमा आलुचप प्याक गरेर दिन्छु । 

काम गरिरहदा मलाई मेरो छोराको याद आउछ । संस्थामा बस्ने साथीलार्ई फोन गर्छु । “स्कुलको भ्यानबाट बाबुलाई कोठासम्म ल्याइदिनु है”

साँझ ढल्कीदै जान्छ, मेरो व्यापार पनि बढ्दै जान्छ, । मम्मु भन्दै छोरा उफ्रिंदै आईपुग्छ । मेरो छोराको लागि पनि यो मार्केट उसको गाउं जस्तै छ । सवै स्टलमा छिर्छ । सवैले माया गर्छन । खानेकुरा दिन्छन । जिन्दगीमा भोगेका अनेको कहालीलाग्दा दिनहरुलाई बिर्सेर अघि बढ्न आंट दिने मेरो यो छोरा मेरो जिउन आधार भएको छ,

महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा अहिले पनि धेरै महिला तथा किशोरीहरु हिंसा, दुव्यर्वहारको भोगिरहनु हरुलाई “आफु कमजोर नबन्नुहोस्, जिन्दगीमा अगाडि बढ्नुहोस् । आफुले कर्मगर्न नछोडनुस, एकदिन अवश्य सफल भइन्छ भन्ने सन्देश दिन चाहान्छु ।

Scroll to Top