विहानको अँध्यारो घटना

पुष्पा विक

भाले बासेको आवाजसँगै बाहिरबाट ठूलो आवाजमा कसैले बोलाएको र ढोकामा हानेको आवाजले म मस्त निद्राबाट एक्कासी ब्युँझिएँ। “छिटो उठ्, छिटो” भन्ने चर्को आवाजले मेरो मुटुको धड्कन एक्कासी बढ्यो। झस्किँदै उठेँ, र बाहिरको आवाजले शरीर पनि काम्न थाल्यो।

बाहिरबाट आएको चर्को स्वर सुन्ने बित्तिकै आमा ढोका खोल्न जानुभयो। ढोका खोल्नेबित्तिकै, “एका बिहानै कानै फुट्ने गरी के भन्दै कराएकोर” भनेर आमाले भन्नुभयो। त्यसको लगत्तै, आमा चिच्याएको र ढलेको आवाज सुनें।

म कोठाबाट हतारिँदै दौडिएँ। बाहिर पुग्दा आमा बेहोस भएर आँगनमा लड्नुभएको देखें। “आमालाई के भयो, काकी” भन्दै आमालाई समाउन लाग्दा, कसैले भन्न थाल्यो, “तिम्रा बा रुखमा झुन्डिएर आत्महत्या गर्नुभएको छ।”

यो शब्दले उज्यालो बिहानलाई कालो अँध्यारो रात बनाइदियो। मेरा कान बन्द भए, शरीरले के गर्दै थियो, थाहा नै पाइनँ। म थच्चक बसेँ। गाउँका सबै मान्छेहरू बिस्तारै जम्मा हुँदै थिए। मान्छेहरूका आवाजसँगै मेरो दिमाग पनि असंख्य सोचहरूले भरिँदै थियो।

चिसो पानीको छिटाले अनुहार र हातमा स्पर्श गर्दा म झसङ्ग भएँ। आमा पनि पानीको छिटाले होसमा आउनुभयो। आमाले डाँको छोडेर, “बुबा” भन्दै रुखतिर दौडिनुभयो। त्यो उकालो ढुंगाको बाटोमा ठोक्किँदै, लड्दै, मान्छेहरूले समात्न खोज्दा पनि आमालाई थाम्न कसैले सकिरहेको थिएन। तर, उहाँको पीडा सम्हाल्न सक्ने मान्छे त्यहाँ कोही पनि थिएन।

म पनि आमासँगै दौडिरहेको थिएँ। दिमागमा बुबाको अनुहार मात्र देखिइरहेको थियो। बुबालाई के भयो होलारु किन यस्तो भयो र मनमा यस्तै सोच आइरहेको थियो।

पुग्ने बित्तिकै, मैले बुबालाई झुन्डिएको देखेँ। हिजो मात्रै उहाँले आँगनमा बसेर मुस्कुराउँदै “छोरी, राम्रो गर्नुपर्छ है” भनेर भन्नुभएको कुरा सम्झिएँ। मन्दिरको छेउको रुखमा झुन्डिएको डोरीमा आँखा रोकियो। त्यसपछि मैले के गरें, केही थाहा भएन।

आमाको चिच्याएको आवाजले म होसमा आएँ। वरिपरि मान्छेहरूको भीड थियो। मान्छेहरूले बुबाको लाशलाई अस्पताल लैजाने तयारी गर्दै थिए। बुबाको लाशलाई सदरमुकाम लगियो। पोष्टमार्टमको तयारी भइरहँदा, उहाँले हाम्रो लागि देख्नुभएको सपना र भनाइहरू आँखामा खेल्न थाले। ती सबै सपना उहाँसँगै सदाका लागि समाप्त भए।

नयाँ सोचको सुरुवात

बुबाको मृत्युले हाम्रो परिवारलाई गहिरो चोट पुर्‍यायो। परिवार उहाँमाथि नै निर्भर थियो। बुबाको अभावले मभित्र केही गर्नुपर्ने दृढ संकल्प जन्मियो। पढ्नुपर्छ भन्ने सोच्थें, तर पैसाको अभाव थियो। नपढ्दा भविष्य अन्धकार थियो। यी कुरा मनमा लिएर साथीको सहयोगमा काठमाडौँ आएँ।

काठमाडौँ मेरो कल्पनाभन्दा धेरै फरक पाएँ। काम खोज्ने क्रममा एउटा खाजाघरमा काम पाउन पुगेँ। त्यहाँ केही समय काम गरेपछि, एक दिदीको सहयोगमा म एउटा संस्थासँग जोडिएँ। त्यो संस्थाबाट महिलाहरू र किशोरीहरू कसरी जोखिममा पर्ने रहेछन् भन्ने धेरै कुरा सिकें।

मनोविमर्श सत्रमा बसेर थाहा पाएँ कि अत्यधिक तनाव, र आफ्ना कुरा व्यक्त गर्न नसक्ने अवस्थामा मानिसले आत्महत्या गर्न खोज्छ। शसक्तिकरण, किशोरी रूपान्तरण, नेतृत्व विकासजस्ता तालिमले मलाई नयाँ आँट दियो।

सिकाइ आत्मबल

अब, मैले बुझें—जस्तोसुकै समस्या भए पनि जीवनभन्दा ठूलो समस्या हुँदैन। समस्याको समाधान आत्महत्या होइन। हर समस्या समाधानयोग्य हुन्छ।

हामीलाई चाहिने भनेको समस्यालाई व्यक्त गर्ने आँट र हिम्मत हो। सुन्ने मान्छेले प्रोत्साहन र हौसला दिन सके, हरेक समस्याको समाधान गर्न सकिन्छ।

जीवनमा धेरै समस्याहरू आइरहन्छन्। ती समस्यासँग जुझ्दै जाँदा व्यक्तिमा नयाँ आत्मबल र आँटको विकास हुँदै जान्छ। समस्याले मानिसलाई अझ बलियो बनाउँछ। यो कुरा मैले मेरो व्यक्तिगत र पारिवारिक जीवनबाट सिकेँ।

Scroll to Top