महिला तथा किशोरीहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा भोग्नुपरेको सास्ती “अनुभव”

-मिरा दाहाल

रत्नपार्क…………रत्नपार्क, …………….आउनुहोस् ……….. छिटो गर्नुहोस् हिड्न लाग्यो है …………………. ओ दिदी सिट खाली छ …… ल ल सिट खाली ………….!

होचो होचो कद, करिब १२/१३ वर्ष जतिको कालो वर्ण तर हसिँलो अनुहार भएको भाई घाँटी सुक्नेगरि कराउँछन । उसले एउटा हात फोर्स गाढीकोे ढोकैमा रहेको डण्डीमा च्याप्प समाएको छ भने अर्कोहात हलाउदै आफ्नो गाडीमा सकेसम्म धेरै मानिसहरुलाई चढाउन इसारा गरिरहेको छ ।
काडाँघारीको गान्धीमोड, जहाँ मानिसहरु आफ्नो गन्तव्य तिर जानको लागि बस कुर्ने थलो नैैै बनिसकेको थियो । सधैं जसो अफिस समयमा यो चोकमा मानिसहरुको भिड नै हुन्थ्यो ।
त्यो भाईले गाडी पर्खिरहेका मानिसहरुलाई बुंगुरको खोरमा थुने जसरी गाडीमा कोचिरहेका थिए र त्यहि भिडमा म आफुसंगै अर्को एउटा नयाँ सास आफ्नो पाठेघरमा बोकेर गाडी चढ्ने तर्फ लम्कीएँ ।
“छिटो चढ्नु न दिदी कति ढिलो गर्नुभएको” पछाडी भुईमा उभिएको त्यो भाई मेरो ढिलाईमा कराईरहेको थियो । म भने एउटा हातले ब्याग र अर्को हातले पेटमा बढिरहेको बच्चालाई सुरक्षा दिदै बल्ल बल्ल गाडीमा छिरें ।
अफिसको समय भएकोले गर्दा गाडी भरिएरै आएको थियो । झन यहाँबाट यतिधेरै मान्छे चढेपछि गाडीमा खुट्टा छिराउने ठाउँ थिएन ।
गाडि अगाडि बढ्दै गयो । गाडीभित्र उभिएका मानिसहरुको भिडले गर्दा म आफु जोगिनु भन्दा पनि मेरो गर्भमा हुकिएरहको बच्चा जोगाउन तर्फ केन्द्रित भएँ ।
ब्याग बोकेको हातले गाडी भित्र माथी तेर्साइएको डण्डीमा समात्न खोज्छु, पुरै हात तन्काउदा पनि डण्डी समात्न मेरो हातलाई हम्मेहम्मे परेको थियो । त्यसपछि छेउमै रहेको सिटमा २ जना महिलाहरु अडेस लगाएर बसिरहेको थिए । उनीहरुको सिटको अडेसा लगाउने ठाउँमा बलियो गरि समातेर आफुलाई अड्याउन प्रयास गर्छु ।
गाडीमा २० प्रतिशत मानिसहरुमात्र सिटमा थिए भने अरुसबै खचामखच गरि उभिएका थिए । ढोकोको छेउमा उभिएको भाईले बारम्बार अलि भित्र जानुस्, भन्ने शब्द दोहोर्याइरहेको थियो । सबै मानिसहरु आ आफ्नै सुरमा थिए । कसैको एयरफोनको तारले खल्तीमा रहेको मोबाइलदेखि कानमा रहेको एयरफोनसम्म जोडिएर आनन्द दिइरहेको थियो भने सिटमा बस्ने मानिसहरुको अरु नै गन्थन चलिरहेको थियो । अघि बल्लबल्ल उक्लीएकी म मानिसहरुले ठेल्दाठेल्दै अन्तिम तिर पुगिसकें छु ।
म संगै उभिनेहरुको भिडबाट एकजना मानिसले “सिट दिएको भए हुन्थ्यो नि, गाहे भयो जस्तो छ बहिनीलाई” भन्दै थिए । सिटमा आनन्दसंग बसेका महिलालाई यो कुरा मन परेन छ कि क्या हो, रिसाउदै “ट्याक्सीमा जानु पर्छनी के बिजोग देखाएको हो, सक्दिन म त सिट छोड्न” भन्दै मुन्टो बग्याईन । ति महिलाको कुरा मेरो कानमा पनि ठोकियो । यो कुराले मेरो मन चसक्क भयो ।
केहिछिनमा गाडिभित्र सुनसान छाउँछ । सुनसान भएकोले अघि ति महिलले भनेको कुराले मलाई झस्कायों । मनमनै सोचें, मलाई पनि रहर त कहाँ थियो र यो भिडमा फेरी यस्तो अवस्थामा हिड्न तर बाध्यताको अगाडी केहि पनि लागेन । म केवल शान्त थिए ।
गाडीले कोटेश्वर पार गर्यो, गाडीबाट झर्ने र उक्लिनी क्रम बराबर जस्तै भएकोले गर्दा भिड कम भएको थिएन ।
“ओ दाई ! हात हटाउनुहोस्, लाज लाग्दैन” उभिएका भिडबाट निस्कीएको किशोरीको आवाजले सबैको ध्यान केन्द्रित गर्छ ।
हामी सबैको ध्यान भीडको बीचबाट आएको आवाजमा केन्द्रित भयो । मेरै छेउमा उभिएकी एकजना महिलाले भनिन, के भो बहिनी ? किन कराएको ? ति किशोरीले हेर्नुस न, यो दाईले मेरो शरिरमा जबर्जस्ती … भन्दै थिइन एकपछि अर्को गरि सबै एकै स्वरमा ति व्यक्तितिर खनिए । म मात्र अवस्था निहाली रहेको थिए ।
होइन.. मैले केहि गरेको छैन भन्दै ति व्यक्ति आफु जोगिन खोज्दैथिए तर ति किशोरीले आफु दुव्यवहारमा परेको कुरा खुलस्त भनेपछि उसको केहि लागेन । आफुलाई जोगाउन निकै प्रयास गरे तर सकेनन् ।
त्यहि भिडको एकजना भाईले फेरि भने, कन्डक्टर भाइ, प्रहरी चौकीमा बस रोक्नुहोस् हामीले यो व्यक्तिलाई छोड्यौं भने फेरी उसको मनोबल बड्छ त्यसैले यसलाई पुलिसकोमा जिम्मा लगाउनुपर्छ ।
बस रत्नपार्कको प्रहरी चौकी नजिकै रोकियो । २ जना केटाले ति व्यक्तिलाई प्रहरीचौकी तिर लगें । दुव्र्यवहारमा परेकी किशोरी र उनको साथी पनि उनीहरुको पछि लागें । म पनि बसबाट ओर्लिएर अफिसतिर लागेँ ।

Scroll to Top