सडकबाट शिक्षाको उज्यालो यात्रा

सुजिना क्षेत्री (नाम परिवर्तन)

म कसरी आफ्नो परिचय दिऊँ?
१० वर्षका हरेक बालबालिकाको हातमा किताब र कलम हुन्छ। राम्रो लुगा लगाएर विद्यालय जान्छन्, मिठो–मिठो खाना खान्छन्, र आमाबुबाको माया पाउँछन्। तर हाम्रो भाग्यमा भने यस्तो केही कोरिएको रहेनछ।
हरेक दिन हामी हजारौं मानिसहरूलाई देख्थ्यौँ। थाहा छैन, के पाउनका लागि यी मानिसहरू यति धेरै दौडन्छन्? म र मेरो सानो भाइ कहिल्यै नसकिने सडकको पेटीमा बसेर तिनलाई नियाल्थ्यौँ।
मेरो एउटा दाइ, एउटी दिदी, र एउटा भाइ छन्। हामी एउटा झ्याल नभएको, साँघुरो कोठामा बस्थ्यौँ। त्यहाँ एउटा मात्र सानो खाट थियो, जसमा हाम्रो बुबा जाँड खाएर सुतेका हुन्थे। खाटअगाडि भुइँमा ग्यास चुलो राखिएको थियो, र खाट र ग्यासको बीचमा हामी ओछ्यान ओछ्याएर सुत्थ्यौँ।
बुबा दिनभरि रक्सी खाएर बस्नुहुन्थ्यो।
हाम्रो आमा भाइ जन्मेको सात महिनापछि बित्नुभयो। त्यसपछि हाम्रो जीवनमा अँध्यारो मात्र रह्यो। भोक मेटाउन दिदीले अर्काको घरमा काम गर्न थाल्नुभयो। घरमा कमाउने दिदी मात्र थिइन्, तर बुबाले त्यो पैसा खोसेर रक्सीमा सक्थे। दिदीलाई हामीलाई हुर्काउन निकै कठिन भयो। त्यसैले, हामीलाई दाइको जिम्मा लगाएर उहाँ पोखरा जानुभयो, होटलमा काम गर्न।
आमा हुँदा जसोतसो म सरकारी विद्यालयमा पढ्दै थिएँ। तर आमाको निधनपछि मेरो शिक्षाको यात्रा रोकियो। चौथो कक्षा पढ्दै गर्दा म विद्यालय जान छोडेँ। दाइको बसाइ कहिले घरमा हुन्थ्यो, कहिले हुँदैनथ्यो। उहाँको संगत नराम्रो थियो, तर हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो।
बुबाको गाली र पिटाइ सहनुभन्दा सडककै जीवन सहज लाग्न थाल्यो।
मेरो शरीरमा दिदीको थोत्रो कुर्ता र सुरुवाल थियो। भाइले अघिल्लो वर्ष दिदीले किनिदिएको पुरानो ज्याकेट लगाएको थियो। दिनभरि म र भाइ रत्नपार्कमा माग्थ्यौँ, अनि राति बसपार्कमा गएर दाइलाई भेट्थ्यौँ। मागेको पैसाले खाना खाएर, कार्टुन ओछ्याएर निदाउँथ्यौँ।

तर एक दिन, दाइलाई पुरानो साइकल चोरेको आरोपमा प्रहरीले समातेर लग्यो। त्यसपछि झनै हाम्रो साहारा गुम्यो। त्यो रात मेरो आँखा झिम्किएन। दाइ हुँदा म सुरक्षित महसुस गर्थेँ, तर अब त हामी असहाय भयौँ। त्यसपछि हाम्रो संघर्षको यात्रा झन् कठिन बन्यो। पेट भर्नकै लागि हामीले फोहोर टिप्यौँ, चोरीसम्म गर्यौँ।
अन्धकार भित्रको भयावह क्षण
एक दिन, एउटा अंकल मलाई एकटकले हेर्दै थिए। अधबैँसे जस्तो देखिने उनी सँगै बसेर भन्न थाले, “१००० रुपैयाँ दिन्छु, मसँग जाने हो?“
म ट्वाँ परेर भाइलाई हेरेँ। पैसाको कुरा सुन्नासाथ भाइको आँखामा चमक देखेँ। सायद, उसले केहि मिठो खान पाउने आशा गर्यो होला।
उसले मेरो हात समात्दै मुस्कुरायो।
त्यो मुस्कानमा आमाको झझल्को पाएँ। भाइलाई खुसी पार्न म पनि जबरजस्ती मुस्काएँ। अनि मुन्टो भुइँतिर झुकाउँदै “हुन्छ” भनेँ।
अंकलले मलाई एउटा अँध्यारो गल्लीमा लगे। गल्लीको अन्तिममा एउटा रातो बत्ती बलेको होटल थियो।
त्यहाँ पुगेर उनले भाइलाई बाहिर जान भने। भाइ मेरा औँला छोड्दै कोठाबाट बाहिर निस्कियो।
म डरले चिसिँदै गएँ।
अचानक, अंकलले झोलाबाट १००० रुपैयाँ झिक्दै भने, “लुगा खोल!“
“किन खोल्ने?“ मैले मधुरो स्वरमा सोधेँ।
“तैले के सोचिस? भोज खान बोलाएको हो?“ उनले झर्किंदै थप्पड हाने।
मेरो आँखाबाट आँसु बग्न थाल्यो।
मैले चिच्याउन थालेँ। बाहिरबाट भाइले ढोका पिट्दै थियो।
ढोका खोल्नेबित्तिकै भाइ दौडेर मेरो अँगालोमा आइपुग्यो। म अंकललाई धकेलेर, भाइको हात समाउँदै त्यहाँबाट जति सक्दो भागेँ।
त्यो रात हामी भोकै बस्यौँ।
तर, त्यो हजार रुपैयाँ मैले जोगाएर राखेँ। भोलिपल्ट, त्यही पैसाले एउटा होटलमा गएर पेटभरि भात खायौँ। होटलकी साहुनीले चोरझैँ हेर्दै थिइन्, तर हामीले एकै सासमा खान सकियो।
त्यस दिनपछि मलाई कुनै पनि पुरुषबाट डर लाग्न थाल्यो। म कसैलाई विश्वास गर्न छोडेँ। भाइको साथ कहिल्यै नछोड्ने प्रण गरें।
उज्यालोको यात्रा
एक दिन, हामी रत्नपार्कको रुखमुनि बसेका थियौँ।
त्यसै बेला, एक जना दिदी आएर सोध्नुभयो, “सन्चै छौ, बहिनी?“
यो प्रश्न मैले धेरै भयो नसुनेको।
म मौन बसें। भाइ डरले मेरो पछाडि लुकेको थियो।
उहाँले भन्नुभयो, “तिमीलाई नयाँ लुगा लगाउन मन पर्छ?“
मैले मुन्टो हल्लाउँदै “पर्छ” भनेँ।
“मसँग जान्छौ? राम्रो कोठा दिन्छु, शिक्षा दिन्छु, मिठो खाना दिन्छु।”
हामी डरायौँ।
तर उहाँले आफ्नो परिचय दिनुभयो, “म ’छोरी’ नामको संस्थाबाट हो। हामी बालबालिकालाई सहयोग गर्छौँ।
हामी दोधारमा परेका थियौँ, तर डराउँदै पनि दिदीसँग गयौँ ।
त्यहाँ पुग्दा हामीलाई नयाँ लुगा दिए, मिठो खाना दिए, अनि मायाले हेरचाह गरे ।

आजको मेरो परिचय
मेरो नाम बिबारिसी विश्वकर्मा हो ।आज म कक्षा ११ मा पढ्दै छु, मेरो भाइ कक्षा ५ मा छ ।
हाम्रो दिदी पोखरामा गएकी दिनदेखि बेपत्ता हुनु भयो। दाइले एक केटीसँग विवाह गरे । बुबा मुटुको रोगले बिते ।
तर, हामीलाई सडकबाट जोगाएर शिक्षाको उज्यालो दिनुहुने ’छोरी’ संस्थालाई धन्यवाद ।
आज, म शिक्षित छु। मेरो भाइ पनि स्कूल जान्छ ।
हामीले बिर्सिन खोजेका ती अँध्यारा दिनहरू सम्झेर, अब अरूलाई मद्दत गर्ने सपना देख्छु ।

Scroll to Top