सुमनाको मौन पीडा

-अनुष्का लामा

जंगलको छेउमै एउटा सानो घर थियो, जहाँ ११ वर्षीया सुमना आफ्ना आमाबुबासँग बस्थिन्। उनको घर सुनसान ठाउँमा थियो—कच्ची घर, वरिपरि ठाउँ-ठाउँमा पातला रूखहरू, अनि आँगन अगाडि बग्ने सानो खोल्सो। जंगल नजिकै भएकाले बिहानै हुस्सुले चारैतिर छोपिन्थ्यो, चरा चिरबिर गर्थे, अनि खोल्सामा बगिरहेको पानीको कलकल आवाज आउँथ्यो। प्राकृतिक रूपमा रमणीय भए पनि दैनिक जीवन भने कठिनै थियो। उनका आमाबुबा खेतीपाती र पशुपालन गर्थे, जसकारण बिहानै घाँस–दाउरा गर्न जंगल जान्थे। सुमना धेरैजसो समय घरमा एक्लै बिताउँथिन्।

सुमनाको घरमा पुर्ख्यौली रूपमा छ्याङ्ग बनाउने र बेच्ने चलन थियो। छ्याङ्ग खाने बहानामा बुबाका साथीहरू, बाटो हिँड्ने व्यक्तिहरू उनका घरमा आइरहन्थे। उनका बुबाका साथीमध्ये रामे काका नाताले नजिक भए पनि सुमनालाई असजिलो लाग्थ्यो। रामे काका प्रायः जाँड खाएर बुबासँग धेरैबेर गफिन्थे, र आमाबुबाले उनलाई विश्वास गर्थे। प्रायः उनीहरू रामे काकाको भरमा सुमनालाई छोडेर काममा जान्थे। तर, सुमनालाई रामे काकाको हेर्ने तरिका अप्ठ्यारो लाग्थ्यो, तर कसैलाई भन्न सकिरहेकी थिइनन्।

एक दिन, सुमना घरको पिँढीमा बसेर पढिरहेकी थिइन्। आमाबुबा काममा गइसकेका थिए। बाटोबाट रामे काका आउँदै गरेको देखेर उनको मन थरथर काम्न थाल्यो।

“सुमना, तिम्रो बा घरमा छन् कि छैनन्?” परैबाट रामे काकाले सोधे।

सुमनाले डराए पनि हिम्मत जुटाउँदै भनिन्, “घरमा हुनुहुन्न, तपाईँ भोलि आउनु है।”

तर रामे काका फर्किनुको सट्टा पिँढीसम्म आइपुगे। मोबाइल निकालेर कसैलाई फोन गरेको बहानामा उनी सुमनाको नजिकै बसे। उनका शरीरबाट मदिराको गन्ध आउँथ्यो।

“एक्लै के लेख्दै बसेकी?” उनले सोधे।

सुमना डरले केही बोलिनन्। रामे काका झन् नजिक सरे।

सुमनालाई याद आयो—एक दिन रामे काकाले घरमा कोही नभएको बेला उनको हात समातेर अँध्यारो कोठातिर लैजान खोजेका थिए। त्यो बेला उनले चिच्याउन चाहेर पनि सकेकी थिइनन्। त्यसपछि उनी झन् त्रसित भइरहन्थिन्।

“तिमीलाई मोबाइलमा गेम खेल्न मन पर्छ?” रामे काकाले सोधे।

“नखेल्ने, म पढ्दै छु,” उनले भनीन्।

तर रामे काका मानेनन्। “हेर न, तिमीलाई मनपर्ने गेम छ,” भन्दै उनले मोबाइल देखाए।

सुमनाले अलिअलि उत्सुकता देखाइन्। त्यसै मौकामा रामे काकाले उनलाई काखमा राखे, हातमा मोबाइल दिए र अर्काे खल्तीबाट चकलेट निकालेर दिए। गेम र चकलेट पाउँदा सुमना अलि दंग परिन्। तर त्यसै बेला, रामे काकाले उनको शरीरको गोप्य भागमा हात लगाउन थाले।

सुमना झसंग भइन्। “यो के गर्नुभएको! हात हटाउनुहोस् न, काका!” उनले डराएको स्वरमा भनिन्।

तर रामे काका फुसफुसाए, “डराउनु पर्दैन, सबैले गर्छन्।”

सुमनाको मनमा झनै डर उत्पन्न भयो। उनी भागेर गोठतिर गइन्, तर रामे काका पनि पछि लागे। अन्ततः उनले जबरजस्ती गरे।

सुमना चिच्याइन्, तर उनको आवाज कसैले सुनेन। झन् चिच्याएको भन्दै रामे काकाले उनको मुख थुनिदिए। उनको आवाज दुई ढुंगाबीचको तरुलझैँ दबियो।

साँझ आमाबुबा घर आए, रामेकाकाको बारेमा केहि भन्दै थिइन तर उनको आमाले कुरा नै सुन्न चाहिनन् । उल्टै रामेकाको विश्वासीलो छन, हामीलाई माया गर्छन, हाम्रो दुखसुखमा साथ दिन्छन, भन्दै उसैको बयान गर्न थाल्नुभयो । आमाले यसो भनिरहदा बुबा पनि संगै खाना खादै हुनुहुन्थ्यो । बुबाले पनि सुमनामाथि ठुलो श्वर गर्दै तिमीले त्यसो नभन, उ मेरो पुरानो साथी हो  भन्नुभयो । त्यसपछि सुमनाले आफुमा बितेको कुराहरु दोहोर्याएर आमाबुबालाई भन्ने आँट नै गरिनन ।  त्यसपछि सुमनाले केही भन्न सकिनन्। दुखाइले उनी आफ्नो कोठामा गई र रोइरहिन्।

त्यस दिनपछि उनको जीवन बदलियो। उनी डराउँथिन्, कसैसँग बोल्न चाहन्नथिन्, कोही पुरुष देख्दा झनै त्रसित हुन्थिन्। उनको निद्रा हरायो, रातभरि नराम्रा सपनाहरू देख्थिन्। किताब खोल्थिन्, तर पढ्न सक्दिनथिन्। सधैं त्रासमा बाँच्न थालिन्।

घटना घटेको केही दिनपछि फेरी रामे काका आए। उनी देख्नासाथ सुमनाको मन भयले भरियो। आमासँग विन्ती गरिन्,
“आमा, म मायाको घरमा खेल्न जान्छु, घरमा एक्लै बस्न डर लाग्छ।”

तर आमाले टेरिनन्,
“पर्दैन जानु, बुबाले गाली गर्नुहुन्छ।”

आमा घाँस काट्न गइन्। उनी टाढा जाँदै गर्दा सुमनाको मुटु चिसो हुँदै गयो। जति टाढा पुगिन्, त्यति सुमना डराइन्।

रामे काका फेरि आए। उनले दुव्र्यवहार गर्न खोज्दा सुमनाले उनको हात बेस्सरी टोकिन्। काका आत्तिएर भान्साकोठामा गए, खुकुरी निकालेर घाँटीमा तेर्स्याउँदै भने,
“मैले जे गर्छु, त्यो मान्नुपर्छ। नत्र मारिदिन्छु!”

सुमना डरले पत्थर झैँ जड भइन्।

त्यसरी नै दुई-तीन वर्ष बित्यो। रामे काकाको हैरानी निरन्तर रह्यो।

समय बित्दै गयो। सुमना किशोरी भइन्। महिनावारी भइन्। तर, उनलाई लाग्यो—शारीरिक सम्पर्क गरेपछि मात्र महिनावारी हुन्छ। त्यसैले उनले डरले यो कुरा कसैलाई भनिनन्।

केहि समयपछि सुमनाको दिदीपर्नेले थाहा पाइन कि सुमना महिनावारी भइन भन्ने कुरा । त्यसपछि उनको महिनावारीको बारेमा आमालाई पनि थाहा भयो । “तँ अब ठूली भइस्, महिनावारी भइस्। नराम्रो मान्छेहरूसँग बच्नुपर्छ,” आमाले सम्झाइन्। आमाले उनलाई मायाले काखमा राखिन्।

त्यस दिन, सुमनाले पहिलो पटक कसैको आत्मीयता महसुस गरिन्। भित्रभित्रै भत्किएको उनको मन आमाको मायाले केही भए पनि निको हुन थाल्यो।

(हामी नजिकका आफन्त, साथीभाइ वा परिवारका सदस्यहरूमाथि आँखा चिम्लेर विश्वास गर्छौं, तर कहिलेकाहीं तिनै मानिसहरू नै बालबालिकाका लागि सबैभन्दा ठूलो खतरा बन्न सक्छन् । बालबालिकाले आफूमाथि भएको दुव्र्यवहारबारे बोल्न खोज्दा उनीहरूको कुरा सुन्नुपर्छ, उनीहरूलाई झन् डराउने गरी गाली गर्नु हुँदैन ।  ‘यो त नजिकको आफन्त हो, यस्तो गर्नै सक्दैन’ भन्ने मानसिकता त्याग्न जरुरी छ । बालबालिकाले असुरक्षित महसुस गर्छन् भने के भै रहेको छ भन्ने कारण खोज्नुपर्छ ।  घरमा कोही बारम्बार आइरहेको छ भने त्यसको कारण बुझ्नुपर्छ। सुमनाको बुबाले सोच्न सकेको भए, सायद उनकी छोरीले यति धेरै पीडा सहनु पर्दैनथ्यो ।)

Scroll to Top