भाग्यले खेलेको खेल

सविना पराजुली (नाम परिवर्तन)

आज १२ कक्षाको फाइनल जाँचको अन्तिम दिन थियो । सजिलो विषयसंगसंगै फेरी जाँचको अन्तिम दिन भएर पनि होला म अलिबढी उत्सुक थिए । फाइनल जाँचको रुटिङ आएदेखि बोकेको भारी, बल्ल आज बिसाएँ । मन हलुँगो भयो ।
पढाईलाई निरन्तरता दिदै राम्रो काम पाएँ भने काम पनि गर्छु भन्ने सपना सजाएकी थिए । तर मैले देखेको सपना र परिवारले देखेको सपना फरक भयो । एकदिन साँझमा घरमा खाना खानका लागि सबै परिवार भान्साकोठामा भेलाभयौं । परिवारको सबै सदस्य भेट हुने स्थल भनेको भान्साकोठामा नै थियो । म बुबालाई खाना पस्किदै थिए, एक्कासी बुबाले भन्नुभयो –
“छोरी तिमीले पढ्नु पढीसक्यौं, अब कि त विदेश जाने, कि त बिहे गर्ने । यि दुइै मध्ये तिमीले एउटा रोज्नुपर्छ ।”
बुबाको कुराले एक्कासी म झँस्कीए । के भन्नुभएको होला बुबाले भनेर तर बिस्तारै मनमनै सोचें कि मसंगैका साथीहरु विदेश गएका छन, म पनि बिहे गर्नुभन्दा बरु विदेश नै जान्छु ।
घर परिवार सबैको सहमती पछि विदेश जानको लागि प्रक्रिया पुरा गर्न म र हजुरबुबा घरबाट पहिलो पटक काठमाडौं आई प्रक्रिया अगाडि बढायौंं ।
काठमाण्डों आएको १ महिना पछि मेनपावरबाट फोन आयो–
“सविना तिम्रो भिसा आयो । पैसा लिएर भिसा, टिकट लिन आउनु ।”
मेरो खुसीको सिमा नै रहेन् । जुन उदेश्य लिई काठमाण्डौ आएका थियौं अब पुरा हुदैछ ।
भोलिपल्ट बिहान म हजुरबुबालाई लिएर मेनपावर गएँ । बिहान १० बजे मेनपावर पुगेका हामीलाई कुर्न भन्दा भन्दै बेलुकाको ७ बज्यो । वर्षाको समय, बाहिर झमझम पानी परिरहेको थियो । हामी जस्तै अरुपनी धेरै मानिसहरु मेनपावरमा विदेश जानको लागि भनी कागजपत्र लिन आउनुभएको । सबैलाई रातको अध्यारोसंगै पानीमा कसरी घर जानेहोला भन्ने चिन्ताले सताईरहेको थियो । बल्ल बल्ल ८ बजे मेरो हातमा भिसा र टिकट पर्यो । मेरो परिवारका सबैजना खुशी हुनुभयोे, र म पनि खुशी थिएँ, किनभने परिवारको खुशी नै मेरो खुसी थियो । हातमा भिसा लिदै एकोहोरो हेरीरहें । खुसी संगैसंगै आफ्नो परिवार, देश छोड्नु पर्ने पिडा सम्झदै आँखा रसायो । एकनास परिरहेको पानीको झरीसंगै आफ्नो आसुँ पनि पखाल्दै कोठामा फंर्किए ।
सबैकाम यतिछिटिो भयो कि अघिल्लो दिन भिसा भोलीपल्टै बिहानको ७ बजेको टिकट । सबैकाम हतारहतार गर्नुथियो । विदेश जाने सपनाले गर्दा रातभरी निदाउन सकिन् । जब १० बजे सुत्न भनी ओछ्यानमा गई पल्टिए तर निद्रा भने लागेन् । मनमा धेरै कुराहरु दौडिरहें । कस्तो होला कुवेत भन्ने ठाउँ ?
भोलीपल्ट बिहानैको ७ बजेको टिकट भएको हुनाले ४ बजे नै एरपोर्ट पुग्नुथियो । बिहानको २ बजेदेखि कोठामा हल्लीखल्ली सुरुभयो । हामी सबैजना जडिबुटीबाट बिहानको ३ः३० मा एरपोर्ट गयौं । म आफ्नो सामान लिएर भित्र छिर्नठाउँमा गए भने मलाई एक्लै छोडेर सबैजना घर फर्किनुभयो ।
रातको १० बजे म कुवेतको विमान स्थलमा पुगें । म सहित अरु पनि १२ जना थियौं कुवेत जानी । केहिबेरमा कम्पनीको बस लिन आयो । हामी सबै बसमा चढेर कम्पनीले बुक गरेको होटलमा गयौं । एउटा कोठामा २÷२ जना गरि राखिदिनुभयो केहि दिन अरुजस्तै म पनि होटलको कोठाभित्रै बस्नु पर्यो । करिब १ महिना पछि स्टोरमा काम पाएँ । मेरो काम राम्रै भईरहेको थियो । नयाँ साथीभाइहरूसँग काम गर्दा मलाई निकै रमाइलो लागेको थियो । नयाँ ठाउँमा, नयाँ भाषा र नयाँ मानिसहरूसँग काम गर्दा समय कसरी बित्यो, पत्तै भएन ।
कामबाट जति पैसा कमाएको थिएँ, सबै आमाको खातामा राखेर घरमै पठाउँथे । मेरो लागि पनि पैसा चाहिन्छ, केही बचत गर्नुपर्छ भन्‍ने कुरा मैले कहिल्यै साँेचेकै थिइनँ । मेरो मनमा परिवारका लागि राम्रो गर्छु भन्‍ने मात्र सोँच थियो ।
काममा सबैजनासँग मेरो राम्रो सम्बन्ध थियो । सबैले मलाई माया गर्नुहुन्थ्यो । मेरो काम गर्ने ठाउँमा उमेरको हिसाबले सबैभन्दा सानी थिएँ, र सबैकी प्यारी पनि । विदेश पुगें पनि मैले सबैको माया पाइरहेकी थिएँ । काम गर्ने ठाउँ मेरो कोठाबाट २० मिनेट टाढा थियो । कहिले हिड्दै त कहिले बसमा ओहोरदोहोर गर्थे । भनेको जस्तो काम, राम्रो कमाई र बस्ने ठाउँ आफैले भनेको जस्तो भएकोले गर्दा खुसी नै थिए ।
एक दिन, काम सकेर कोठा जानका लागि बस कुरिरहेको थिएँ । त्यस दिन बस आउन निकै ढिलो भइसकेको थियो । त्यही समयमा, एउटा ट्याक्सी आएर मेरो अगाडि रोकियो । त्यस ट्याक्सीका चालकले मलाई, “तिमी यहाँ किन बसेकी?“ भनेर सोध्नुभयो । म केही नबोली बसिरहेकी थिएँ, तर उहाँले फेरि पनि मलाई सोधिरहनुभयो । त्यसपछि मैले जवाफ दिएँ, “म कामबाट कोठा जानका लागि बस कुरिरहेकी हुँ । “त्यसपछि ती चालकले भने, “म तिमीलाई तिम्रो कोठासम्म पु¥याइदिन्छु ।” मैले त्यो मान्छेलाई “हैन, म आफैँ बसमा जान्छु” भनेर भनिरहेकी थिएँ । तर फेरि पनि डाइभरले मिठो बोलीमा फकाएझै गरि, “म तिमीलाई पु¥याइदिन्छु, ” भन्‍नुभयो । मेरो बस पनि आउन धेरै समय लागिसकेका थियो । कोठा जान पनि ढिलो भइसकेको थियो । त्यसैले मैले उहाँलाई सोधेँ, “मेरो कोठासम्म गएको कति लिनुहुन्छ?” उहाँले मुस्कानसहित भने, “मिलाएर दिनु न । अरू बेला कति तिर्नुहुन्छ त? ” मैले जवाफमा भनेँ, “म ३ रुपैयाँ दिन्छु” उहाँले “हुन्छ” भन्‍नुभयो, र म ट्याक्सीमा चढेँ । मैले मेरो कोठासम्मको बाटो देखाएँ र चुपचाप बसिरहेँ । केही पर पुगेपछि, मलाई बाटो केही फरक जस्तो लाग्यो, र मैले सोधेँ, “यो बाटो मेरो कोठा जाने हैन त ! ” तर उहाँले फेरि मुस्कुराउँदै भने, “यो बाटो चाँडै पुग्छ ।” भनेपछि म केही नबोली चुपचाप बसिरहेँ। मलाई थाहा थिएन, त्यो मान्छे मलाई फसाउने योजना बनाइरहेको थियो भनेर । केहि बेरमा मेरो कोठामा जानु सट्टा उसले मलाइ अर्को ठाउँमा लगेर ट्याक्सी रोक्यो। त्यसपछि उसले भन्यो, “मेरो त्यो घरबाट एउटा सामान ल्याउनु छ, के मलाइ सामान ल्याउन सहयोग गर्नुहुन्छ ?” मेरो मनमा कुनै नराम्रो सोँच थिएन, त्यसैले “हुन्छ,” भनेर म पनि त्यसको पछि लागेँ । त्यो मान्छे अगाडि अगाडि हिँड्दै थियो, र म पछि पछि । त्यसपछि, कुनै अपरिचित बाटोहरू हुँदै, त्यो मान्छेले मलाई दुई तलामाथि लग्यो। एउटा कोठाको अगाडि पुगेपछि त्यो मान्छेले मलाई भन्यो, “यो कोठाभित्र मेरो सामान छ । तपाईंले निकालिदिनुस्, मचाहिँ अर्कोतिरबाट सामान लिएर आउँछु।” त्यसपछि म त्यो कोठाभित्र छिरेँ, ताकि सामान निकालिदिन सकूँ । म कोठाभित्र छिरें । मैले कोठाभित्र कुनै सामान देखिनँ तर कोठाको ढोका एक्कासी ढ्याम्म गरि बन्द भएको आवाज आयो । भलाई लाग्यो “सायद हावाले ढोका बन्द भएको होला ।” तर कोठाभित्र सामान केही नदेखेपछि, म ढोका खोल्न गएँ । जति खोल्न खोजे पनि ढोका खुल्दै खुलेन । त्यसपछि म आत्तिएँ, रुन थालेँ, कराएँ, तर कसैले पनि ढोका खोलेन । त्यो रातभरी त्यो कोठामा म रुदै कराउदै एक्लै बिताएँ । त्यो कोठाको ढोका भोलिपल्ट बिहानमात्र खोलियो । ढोका खोल्नेहरू कोही अरू नै मानिस थिए । मैले उनीहरूलाई भनें, “मलाई यहाँ किन राखेको? मलाई जान दिनुहोस् । म काममा जानुपर्छ ।” तर ती मानिसहरूले मेरो मोबाइल खोसेर मलाई फेरि कोठामै बन्द गरेर गएँ ।
पहिला देखिनै त्यो ट्याक्सी चालकले केटीहरू ल्याएर अरूलाई बेच्ने काम गर्दो रहेछ । मसँग मोबाइल पनि थिएन, र मलाई त्यही कोठामा १४ दिनसम्म धुनेर राखें । मलाई न त खानै दिन्थे न त कतै बाहिर जान नै । मैले जति पुकार गरेपनि मेरो वेदना सुनिदिने त्यहाँ कोहि थिएनन् । धेरै कष्टकर दिन बिताउनु पर्यो ।
एकदिन बल्ल खाना दिने निउँमा एकजना केटामान्छे आउनुभयो । मैले वहाँलाई “दाइ” भनी सम्बोधन गरेरे यहाँबाट निकाल्न भनी धेरै विन्ती गरे । बल्ल बल्ल १४ दिनपछि, त्यहि दाईको सहायतामा रातिको समयमा, मलाई लुकिछिपी बाहिर छोडिदिनुभयो। उहाँले मेरो मोबाइल पनि फिर्ता दिनुभयो । मेरो मोबाइल खोल्दा त्यहाँ भएको सबै सम्पर्क नंम्वर डकुमेन्टहरु सबै हटाइएको रहेछ, र मलाई कसैको नम्बर पनि याद थिएन । तर पनि त्यो कोठाबाट बाहिर निस्कन पाउँदा म अत्यन्त खुसी थिएँ, र जसो तसो आफ्नो कोठासम्म पुगेँ । त्यसपछि मैले तुरुन्तै नेपाल फर्कनका लागि तयारी गरेँ ।
म नेपाल फर्किनको लागि भनी बुझ्नको लागि नेपाली दुतावासमा जादै थिए । बाटोमा चेकिङ भै रहेको हुनाले पुलिसले म संग पनि कागजपत्र जाँच गर्ने माग्यो । मेरो आइडेन्टी कार्डको म्याद सकिएकोले गर्दा पुलिसले मलाई समात्यो र जेल चलान गर्यो । फेरी म पहिलाकै दिनमा फर्किन बाध्य भए । मैले म आफु के मा काम गर्छु भन्ने सबै स्पष्टीकरण दिदा पनि म्याद नाघेकोले म जेल जान बाध्य भए । त्यहाँ फेरी कानुन कडा रैछ, उनीहरु नियम विपरीत जादै नजाने । त्यसैले मेरो केहि लागेन । करिब १ महिना म त्यो जेलभित्रको अन्धकार, कोठामा बिताउन बाध्य भए । १ महिनापछि मेरो कार्डको बारेमा कम्पनीले स्पष्टीकरण दिएपछि बल्ल म जेल मुक्त भए । त्यसपछि पुलिसले नै नेपाली दुतावासमा सम्पर्क गरेर मलाई नेपाल फर्काउने व्यवस्था गरिदियो ।
नेपाल फर्कने दिन मेरो मन अनेक भावनाले भरिएको थियो । तर जुन दुःख, पीडा, संघर्ष मैले विदेशमा सहनु पर्यो, त्यसपछि मेरो मनमा अब एउटा मात्र चाहना थियो— आफ्नै माटोमा, आफ्नै परिवारसँग सुरक्षित भएर बस्ने ।
नेपालको आकाशमा जहाजले पखेटा फैलाउँदा मेरो आँखाबाट आँसु बग्यो । त्यो आँसु पीडाको मात्र थिएन, त्यो नयाँ सुरुवातको पनि थियो । घर फर्किंदा लागेको थियो, जिन्दगीले मलाई ठूलो पाठ सिकाएको छ— आफ्नो सपना पूरा गर्ने नाममा हतारमा निर्णय गर्नुहुँदैन । अब म आफ्नै देशमा केही गरेर देखाउने दृढ संकल्प लिएँ । अब म अरूलाई पनि सचेत पार्नेछु, ताकि कसैले पनि मेरो जस्तो भोगाइ भोग्न नपरोस् । जिन्दगीले दिएको यो दोस्रो अवसरलाई म नयाँ दिशामा अघि बढाउन चाहन्छु ।

Scroll to Top