विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा छोरी संस्था द्वारा “लाइभ टक शो” कार्यक्रम सम्पन्न

३१ असोज २०८२

The current image has no alternative text. The file name is: world-mental-health-day.jpg

छोरी संस्थाले अक्टोबर १० २०२५ विश्व मानसिक स्वास्थ्य दिवस पारेर लाइभ टक शो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाले आफ्नो स्थापना कालदेखि नै किशोरी तथा महिलाहरूको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि सञ्चालन गर्दै आएका विभिन्न गतिविधिहरू, उपलब्धिहरू र महिलाहरूको आत्म–परिवर्तनका अनुभवहरूबारे छलफल गरिएको थियो ।
छोरी संस्था वर्षौंदेखि हिंसा, दुव्र्यवहार र भेदभावको शिकार बनेका महिला तथा किशोरीहरू सँग काम गर्दै आइरहेकोछ संस्थाको विश्वास छ कि मानसिक स्वास्थ्य हरेक व्यक्तिको आत्मबल र आत्मविश्वाससँग गहिरो सम्बन्ध हुन्छ । कार्यक्रमको उद्देश्य पनि यही थियो — “कसरी मानसिक स्वास्थ्यप्रतिको चेतनाले महिलाहरूलाई फेरि आत्मविश्वासी र सक्षम बनाउन सक्छ”
लाइभ टक शोमा छोरी संस्थाको कार्यकारी निर्देशक हिरा दाहाल, मनोसामाजिक परामर्शदाता मैया कोजु, र मानसिक स्वास्थ्य समस्या भोगेर त्यसबाट बाहिर निस्कन सफल भएका लिडरहरु कोमल पाण्डे, सुजिना लामा र सुलेखा कुमारी सहभागी हुनु भएको थियो ।
कार्यक्रममा मनोसामाजिक परामर्शदाता मैया कोँजु द्वारा मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य बीचको सम्बन्धबारे विस्तृत रूपमा चर्चा गरिएको थियो,“मानसिक र शारीरिक स्वास्थ्य दुवै समान रूपमा महत्वपूर्ण छन्। हाम्रो समाजमा मानसिक स्वास्थ्यलाई अझै पनि लाज वा कमजोरीको रूपमा लिने गरिन्छ, तर यसबारे खुलेर कुरा गर्न जरुरी छ । कसैले आफ्नो मनको कुरा भन्न नसक्दा सुरुमा शरीरले संकेत दिन थाल्छ — जस्तै टाउको दुख्ने, ढाड दुख्ने, पेट फुल्ने, ध्यान नलाग्ने वा एक्लै बस्न मन लाग्ने। यी सबै मानसिक स्वास्थ्यका संकेत हुन सक्छन्।”
कार्यक्रममा सहभागी तीन दिदीबहिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमार्फत मानसिक स्वास्थ्यको प्रभावबारे खुलस्त कुरा गर्नुभयो
सुलेखका भनाइ—
“पहिले म डिप्रेसनमा थिएँ। परिवारले साथ नदिँदा एक्लो महसुस गर्थें। पछि काउन्सेलिङमा गएर आफैंलाई बुझ्न थालेँ र जीवनप्रति सकारात्मक सोच पलायो।”
सुजिनाले आफ्नो अनुभव सुनाउनु भयो—
“परिवारमा धेरै सदस्य हुँदा, अरू सबैका कुरा सुन्नु पथ्र्यो तर मेरो समस्या सुन्ने कोही थिएन। त्यतिबेला मलाई मानसिक समस्या भएको थाहा नै थिएन, तर अहिले जब मनोसामाजिक समस्या बारे थाहा पाएँ, बल्ल बुझें कि म त्यस्तो अवस्थाबाट गुज्रिँदै थिएँ। म पहिले एक्लै बस्न रुचाउँथेँ र स–साना कुरा पनि बिर्सिन्थें।”
कोमल भन्नुहुन्छ— “मलाई मानसिक स्वास्थ्य र काउन्सेलिङ भन्ने कुरा केही थाहा थिएन। हाम्रो समाजमा पागल भएर बाटोमा हिँड्न थालेपछि मात्र मानिसलाई मानसिक समस्या छ भन्ने बुझिने गरिन्थ्ये। म पीडामा हुँदा जति बेला पनि रुन मन लाग्थ्यो र जीवनको कुनै अर्थ नै छैन भन्ने महसुस हुन्थ्यो।”
मैया कोजुले दैनिक अभ्यासमा साना–साना बानीहरूले ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ तनाव व्वयस्थापन गर्नको लागि जसरी शरीरमा रोग लाग्दा औषधि खानुपर्छ, त्यसरी नै मानसिक स्वास्थ्यका लागि ध्यान, व्यायाम र सकारात्मक कुराकानी आवश्यक हुन्छ। तनाव बढ्दा नुहाउने, चित्र बनाउने, साथीहरूसँग कुरा गर्ने वा लेखेर मन हल्का पार्ने साना अभ्यासहरूले जीवनमा ठूलो हिलिङ ल्याउँछ। साथै तनाव व्यवस्थापन गर्नका लागि ‘आर्ट थेरापी’ , बलियो ‘सपोर्ट सिस्टम’ को भूमिका, तनाव व्यवस्थापनका सीपहरू, कसरी आत्मबल र आत्मविश्वास पुनः निर्माण गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी दिनु भएको थियो ।
छोरी संस्थाकी निर्देशक हिरा दाहालज्यूले कार्यक्रमको अन्तमा आफ्नो हातखुट्टा तथा शरिरको कुनै भाग दुख्दा मेरो दिमागमा पहिला मलाइ केले तनाव गरेछ भनेर सोच्दछु । सकारात्मक सोचाइले गर्दा नै मानसिक स्वास्थय स्वस्थय रहनेछ भन्ने करा बताउनु भयो । कार्यक्रमको अनलाइन दर्शकहरूलाई मानसिक स्वास्थ्यप्रति सचेतना गराउदै धन्यवाद दिएर कार्यक्रमको समापन गरिएको थियो ।
उक्त कार्यक्रम छोरी संस्थाको फेसबुक पेज, र छोरीमा आबद्ध हुनु भएका किशोरी लिडर, सेवाग्राही तथा कर्मचारीहरुको व्यक्तिगत फेसबुकबाट लाइभ प्रसारण गरिएको थियो । यस कार्यक्रम १५०० जना व्यक्तिले हेरी फाइदा लिनु भएको थियो ।

Scroll to Top