मेरो सपना हरूको लडाई
मानव र मानवी मेरा दुई छोरा र छोरी विद्यालय गएका छन् । ओहो ! साढेँ ३ भइसकेछ, छोरा–छोरीको लागि खाजा बनाउनु पर्ने, के बनाउने भनेर म अलमल्लमा छु । छोरा–छोरीलाई मन पर्ने ‘खिर’ हो, आज त्यही खाजा बनाईदिन्छु भनेर म दूध लिनको लागि पसल गएँ । पसलबाट १ लिटर दूध लिएर आएर म खिर बनाउन तर्फ लागेँ । त्यही समयमा बाहिर बसको हर्न बज्यो, हेरेको त मेरा छोरा र छोरी आएका रहेछन् । छोरा र छोरी नै “मम्मी!” भन्दै हुत्तिदैँ मेरो अँगालोमा बेरिन आइपुगे । अनि मैले पनि दुबैलाई मायाले गालामा सुम्सुमाउँदै भनेँ,
“जाऊ, ड्रेस चेन्ज गरेर आऊ, म खाजा रेडी गर्दैँछु।”
“ओके मामु” भन्दै दुबै छोरा–छोरी रुममा ड्रेस चेन्ज गर्न गए ।
पहिलो सन्तान मानव जन्मिएको थियो । अहिले मानव १२ कक्षामा प्लान्ट साइन्स लिएर पढ्दै छ भने छोरी मानवी ११ कक्षामा होटल म्यानेजमेन्ट लिएर पढ्दै छिन् । मानव अहिले अठार वर्षको भयो भने मानवी सत्र वर्षकी भइन् । यत्ति बेलामा छोरीले मलाई सोधी,
“मामु, हजुरले आज के खाजा बनाइदिनुभएको छ?”
मैले भनेँ, “पहिला खान त आऊ।”
छोरा–छोरी खाजा खान किचेनमा आए । मैले दुबैलाई चरेसको कचौरामा खिर हालेर दिएँ । दुबै खुसी भएर खाजा खाए अनि,
“थ्याङ्क यू मम्मी, आई लभ यू!”
भनेर अँगालोमा आए ।
“लभ यू too, माई डियर सन एन्ड डटर । अब होमवर्क गर्न जाऊ,” भनि म रुमतिर पठाएँ ।
त्यसपछि दुबैले खाजा खाएको भाँडा मात्रै होइन, मैले पकाएको भाँडा पनि सफा गरेँ र किचेनको ग्यास चुलो पनि सफा गरें ।
आजको दिन मैले अफिसबाट छुट्टी लिएको छु । अफिसमा छुट्टी नमिल्ने होइन, शुक्रबार र शनिबार मिल्छ, तर घरको र अफिसको काम धेरै भएकाले आज बिहिबार पनि छुट्टी लिएको थिएँ । घरमा फोहोर भएका कपडाहरू खोजेर धुनको लागि बाथरुम लगेर साबुनमा भिजाएँ अनि धुन थालेँ । त्यत्तिकैमा म विगतका पन्ना पल्टाउन थालेँ ।
मेरो जन्मघर दैलेख जिल्लामा पर्छ । घरको आर्थिक अवस्था राम्रो नै थियो । घरमा म, आमा, बाबा, दाइ र दुई भाइ गरी छ जनाको परिवार थियो । बुबा–आमाको सन्तानमा म एक्लै छोरी थिएँ । मेरा बाबु विद्यालयमा अंग्रेजी विषय पढ़ाउनुहुन्थ्यो भने आमा बैंकमा फाइनान्सको काम गर्नुहुन्थ्यो । दाइ होटल म्यानेजमेन्ट पढेर आफैले होटल खोलेर व्यवसाय गर्नुहुन्छ । दुई भाइ अधिवक्ता पढ्दै छन् । परिवारका सबैले पढ्न पाएका थिए त्यसैले मैले पनि राम्रोसँग पढ्ने अवसर पाएँ । मैले पढ्दा समाजका केही मानिसले बाबालाई भन्थे,
“श्रीमती पनि म्यानेजर, छोरीलाई पनि यति पढाइस्! छोरीलाई त मास्टर्नी बनाइदिनुपर्याे नि है!”
भनेर जिस्क्याउँथे ।
तर बाबाले समाजको कुरा नसुनी मलाई पूर्ण शिक्षाको अवसर दिनुभयो । मैले मेरो पढाइ निरन्तरता दिँदै कक्षा १० सकाएँ र सामाजिक कार्य (Social Work) मा उच्च शिक्षा लिँदै गएँ । मेरो सपना थियो — पढेर सामाजिक कार्यकर्ता बन्ने, महिलाहरूलाई सशक्त बनाउने, समाजका खराब चाला–चली हटाउने।
मैले स्नातक (Bachelor) सामाजिक कार्यमै पूरा गरेँ । त्यो बेला मेरी उमेर २४ वर्ष भइसकेकी थियो । अब भने घरमा मेरो बिहेको कुरा चल्न थाल्यो । बाबाआमाको रोजाइमा धनी, पढे–लिखेको, क्याम्पसको प्राध्यापक सौगात थपलियासँग मेरो विवाह भयो ।
काठमाडौँ आदर्श नगरस्थित ३ तले घर नै मेरो नयाँ घर बन्यो । सौगात एक्लो छोराका रहेछन् । सौगात जन्मेको ३ वर्षमै उनका बाबु अल्सरले बित्नुभयो रे । आमाले दिक्क भएर शहर बसाइ मन नलागी सिन्धुपाल्चोक गाउँमा बस्नुभएको थियो । गाउँमा आफ्नै खेत जमिन रहेकाले त्यही काम हेर्नुहुन्थ्यो ।
म बिहे गरेर गएको भोलिपल्टै सासूआमाले मलाई भन्नुभयो,
“मलाई छोरा सौगातको चिन्ता छ, ऊ रिसालु र अलि घमण्डी स्वभावको छ । उसले भनेको मान्नुपर्छ । अनि अर्को कुरा, सौगातलाई केटीहरूले धेरै बोल्ने, घरमा हक जमाउने व्यवहार मन पर्दैन।”
यो कुरा सुन्दा म एकछिन अत्तालिएँ । मनमनै लाग्यो — “के म त सिंहको पञ्जामा परेछु?”
तर पनि म भित्रै सोच्थेँ — ‘सौगात त्यस्तो हुँदैन, म सुधार्न सक्छु।’
दिनहरू बित्न थाले । सौगात बिहानै विद्यालय जान्थे, बेलुका आएर ल्यापटपमा काम गर्थे । हामीबीच धेरै बोलचाल नै हुन्थेन ।
म एम.ए. पढ्ने सोच्दै थिएँ । एकदिन हिम्मत गरेर सौगातलाई भनेँ,
“म एम.ए. पढ्न चाहन्छु।”
तर उनले ठाडै इन्कार गरे —
“आईमाईले परिवारका निर्णय बोल्नु हुँदैन, अनि एम.ए. त झन् नपढ!”
दुई वर्षपछि छोरा मानव जन्मियो । त्यो छोराको स्याहारमै वर्ष बितेको थिएन, फेरि एक वर्षमै छोरी जन्मिइन् । दुबैलाई स्याहार्दै हुर्काएँ । सौगात भने सधैँ बिहान स्कूल, बेलुका ल्यापटप—यत्ति नै।
छोरा ४ वर्षको भएपछि विद्यालयमा भर्ना गर्ने समय आयो । सौगातले भने,
“सरकारी विद्यालयमै हालिदेऊ।”
मैले भनेँ,
“नाइँ, बोर्डिङ स्कूलमा हाल्नुपर्छ, अनि म पनि एम.ए. पढ्छु।”
यो कुरा सुनेर उनी रिसले कडा भए —
“आईमाईले निर्णय गर्न मिल्दैन! पढाइ त छोड!”
तर मैले छोरा बोर्डिङमै भर्ना गराएँ र म पनि एम.ए. पढ्न थालेँ ।
जब यो कुरा उनलाई थाहा भयो—हाम्रो झगडा सुरु भयो ।
अब सौगात कहिले–काहीँ घर पनि नआउने भए । आए पनि झगडा ।
उनी गाउँमा आमालाई फोन गरेर भन्थे —
“म बुहारीसँग बस्न सक्दिन । छिटो गाउँको जग्गा बेचेर छुट्टै घर बनाउँ।”
मैले यो विषयमा केही बोलीनँ ।
छोरी पनि ४ वर्षकी भइन् । मैले उनलाई पनि बोर्डिङमै भर्ना गराएँ । मेरै इच्छा थियो — छोराछोरीलाई राम्रो शिक्षा दिलाउने।
क्रमशः म विदेशीसँग चल्ने सामाजिक प्रोजेक्टमा जागिर लागेँ ।
यो कुराले सौगात झनै रिसाए ।
शिशुहरूको हेरविचारका लागि असहाय एक महिलालाई कामदार राखेँ ।
यसले त सौगातलाई झनै आगो लगायो ।
म कामको कारण गाउँ–गाउँ घुमेर महिलालाई चेतनामुलक, आत्मनिर्भर र सक्षम बनाउने कार्यक्रम गर्न लागेँ ।
सौगात अझै कडा भए —
माथि नराम्रो नजर, झुठा आरोप—परपुरुषसँग लागेकोसम्म भन्न थाले ।
एक दिन झगडामै मैले पनि भन्न पुगेँ,
“सौगातजी, तपाईं घरमा बस्ने लायकको पनि होइन । गाउँमा घाँस–दाउरा गर्ने मान्छेजस्तो देखिनुहुन्छ । बिरामीको खुट्टा मालिस गर्ने मान्छे जस्तो व्यवहार!”
यो सुनेपछि उनी भड्किए,
“कसरी यस्तो भन्न सकिस? नोकरीको तुजुक देखाइनौ? यो मेरो घर हो! अनुशासनहीन आईमाई!
तेरो यो घमण्ड म सहन सक्दिन ।
यो घर मेरो लागि मसानघाटजस्तै भइसकेको छ ।
कि तैंले निस्केर जा, कि म निस्कन्छु!”
म मौन बसेँ। मनमा भनिरहेकी थिएँ —
“म किन घर छोडेर जाऊँ? जो यस घरलाई मसानघाटजस्तो भन्छ, ऊ नै जाओस्।”
साँचिकै, समयले त्यही गरायो ।
सौगात घर छोडेर गए ।
उनी फर्कन्छन् कि फर्किँदैनन्—थाहा छैन ।
वर्षौँदेखि थामेर राखेको मनको पीडा छ्यालब्याल भयो ।
म सोच्थेँ —
“सौगातले परिवारसँग होइन, आफैंसँग हार मानेर गएको हो ।
परिवार र दायित्व छोडेर भाग्नु पनि त एक किसिमको हार हो नि?”
भविष्यमा समयले उनलाई के सिकाउनेछ—थाहा छैन ।
तर यदि कुनै दिन उनी आफ्नै गल्ती बुझेका कदम लिएर फर्किन्छन् भने—
यो घर र मेरो मनको ढोका सधैं खुल्ला नै रहनेछ।
यति सोचेर म सुतेँ ।
बाहिरबाट कुकुरको कराउने आवाज, कालो अन्धकार चिरिरहेका आवाजहरू…
सबै सुनिँदै थियो ।
म भने मनका घाउहरू चिप्ल्याउँदै निदाउन खोजिरहेकी थिएँ ।

