अनु विश्वकर्मा (नाम परिवर्तन)

म ११ वर्षकी मात्र सानी केटी थिएँ, जब एउटा छिमेकी अण्टीसँग काठमाडौं आउने निर्णय भयो। मेरो उमेरको केटी त अरूसँग खेल्दै, स्कुलव्याग बोकेर स्कुल जाँदै, घरमा बाबुआमासँग लाड–चाड गर्दै समय बिताउने उमेर थियो। तर, मेरो भाग्यमा भने त्यो उमेरमै कठोर जीवन यात्रा लेखिएको रहेछ। अण्टीले मलाई काठमाडौंमा ल्याउँदा, “यहाँ आएर पढ्न पाउँछेस, राम्रो जीवन बन्छ,” भन्दै ल्याउनुभएको थियो। अनि म सानी मनले पनि कति रमाएर सोचेकी थिएँ— अब म पनि स्कुल जान पाउँछु, राम्रो ड्रेस लगाउँछु, नयाँ साथीहरू भेट्छु। तर काठमाडौं आइपुग्नेबित्तिकै थाहा भयो— मेरो जीवन त्यतिसम्म फुलेको रहेनछ।
काठमाडौंको ठूलो घर, चम्किला झ्याल–ढोका, ठूला मान्छेहरू देख्दा म अलि डराएकी थिएँ। तर त्यस घरमा म सानी कामदारझैँ राखिएछु भन्ने कुरा त केही दिनमै बुझें। मलाई दिइएको मुख्य जिम्मेवारी भनेको घरबेटीको ५ वर्षका छोराको हेरचाह गर्नु— नुहाउने, तेल लगाइदिने, खुवाउने, लुगाफाता फेर्दिने, भाँडा माझ्ने, कोठा सफा गर्ने, लुगा धुने— एउटै दिनमा कति काम! बिहान अघिल्लो अँध्यारोमै उठेर रात टम्म परेपछि मात्र सुत्ने।
म स्कुल कैयौँ पटक देखेँ, तर कहिल्यै भित्र पस्न पाइनँ। घरबेटीलाई मन लाग्दा मलाई कराउँथे— “धेरै खाँच्छस्, तलाई म खान खुवाउन सक्दिनँ।” मलाई किनेर ल्याएजस्तो व्यवहार गर्थे। अन्ततः एक दिन, “हामीले त बुझ्नै नसक्ने गरि खर्च हुन्छ, यो केटीलाई राख्न सकिँदैन,” भन्दै मलाई शेर्पा दिदीको घरमा पठाइदिए। त्यति मात्र होइन, मैले दुई वर्ष काम गरेको तलब पनि उहाँहरूले नै खाईदिए। मैले त्यो तलबले आमा–बुबालाई केही दिन्थेँ कि भन्ने आशा थियो, तर त्यो पनि मेरो हातमै आएन।
शेर्पा घरमा बिताएको सात वर्ष त झन् कहिल्यै नबिर्सने समय हो— वर्षमा एकपटक मात्र घर जान पाउने। त्यो एक दिन नै मेरो लागि सबैभन्दा ठूलो चाडजस्तै हुन्थ्यो। शेर्पा घरमा महिनाको ५०० रुपैयाँ पाइन्थ्यो। त्यो पैसाबाट मैले आमाको उपचार गराइरहेँ। घरमा आमा, दाजु र भाउजू मात्र हुनुहुन्थ्यो। बुबा त भारतमा काम गर्न जाँदा ३–४ वर्षसम्म देखा परिरहनु हुँदैनथ्यो। काठमाडौंमा बस्दा, कहिलेकाहीँ राति एक्लै सुतेका बेला म घरको सम्झनामा रुनै थाल्थेँ— तर आँसु झर्दा कोही सान्त्वना दिने पनि हुन्नथ्यो।
म १९ वर्षकी हुँदा, आमाले मेरो विवाह गरिदिनुभयो। घरको आर्थिक अवस्था, समाजको दबाब— यी सबैले गर्दा मेरो विवाह छिट्टै भयो। विवाहको एक वर्षपछि, म २० वर्षकी हुँदा छोरी जन्माएँ। आमा बन्नु मेरो जीवनको सबैभन्दा ठूलो खुसी थियो। बच्चाको सानो हात समातेर म भविष्यका सपनाहरू बुनिरहेको थिएँ। तर त्यो खुसी धेरै समय टिकेन।
छोरी पेटमा हुँदा नै सासूले विषय–वस्तु बिना गाली गर्न थाल्नुभयो—
“यो छोरी हाम्रो छोरोको होइन।”
“यसको चालचलन राम्रो छैन।”
यस्ता अपमानजनक कुरा सुन्दा मन छियाछिया हुन्थ्यो। श्रीमानले पनि यिनै कुरामा विश्वास गरेर कुटपिट सुरु गर्नुभयो। कहिलेकाहीँ रातभरि खाना नदिई बसाइन्थ्यो। शरीरमा नीलडाम, मनमा घाउ— एकैसाथ बोकेर दिन बिताउनुपर्थ्यो।
एक दिन आमा–बुबा नै मलाई लिन आउनुभयो। उहाँहरूले मेरो अवस्था हेरेर सहनै सक्नु भएन। मैले सोचेँ— अब त म सुरक्षित भएर माइतीमा बस्न पाउँछु। तर श्रीमानले फेरि लिन आए र बाटोमै छोडेर हिँडिदिए। पछि बुबा र दाजुले फेरि मलाई श्रीमानको घरमा पुर्याइदिए, यो सोचेर कि “तिम्रो घर नै त उही हो।”
छोरी जन्मेपछि ११ दिनको न्वारन गरियो। तर न्वारनको भोलिपल्टै नै मलाई फेरि माइती पठाइयो। मेरो मन भतभती पोल्थ्यो— आखिर म कहाँको? कसको?
छोरी ८ महिनाकी हुँदा फेरि श्रीमान लिन आउनुभयो। म फेरि उनीसँग गएँ, सोचेर कि यसपटक केही परिवर्तन होला। तर अवस्था झनै बिग्रियो—
खाना नदिने, रातभरि कुट्ने, अपमान गर्ने, दुव्र्यवहार।
म प्राय: दिनभर भोकै सुत्थेँ।
अन्ततः यति धेरै अपमान सहेर पनि माइती फर्किएँ। माइतीमा आएपछि पनि भाउजुको व्यवहारले मलाई राख्न नचाहेको जस्तो लाग्यो। त्यसैले म फुपूको घर गएँ। त्यहाँ पनि सबै घरेलु काम, जंगल जानु, घाँस काट्नु, पानी ल्याउनु, भाँडा–माजधु गर्नु— सबै काम मलाई नै पर्थ्यो। नागरिकता बनाउनुपर्ने भयो। मैले खुटुरुकेमा जम्मा गरेको १२०० रुपैयाँ त्यही काममा खर्च गरें।
त्यसपछि गाउँका केही साथी–बहिनीहरूसँग काठमाडौं फर्किएँ। मनमा डर थियो— म कहाँ जानु? कसले राख्ला? तर मैले पहिले काम गरेको शेर्पा घरबेटीकैमा गएँ। उहाँले मलाई आफ्नो नन्दको घरमा राखिदिनुभयो। तर छोरी सानी भएकाले, र काम कडा भएकाले, फेरि माइती फर्कनै पर्यो। छोरीलाई आमासँग राखेर म फेरि काठमाडौं आएँ— भविष्यका लागि, छोरीका लागि केही गर्नुपर्छ भनेर।
फेरि एउटा घरमा काम गर्न गएँ। तर त्यहाँका हजुरबुबाले मलाई यौन दुव्र्यवहार गर्न खोज्नुभयो। म डरले काँपी–काँपी बस्थेँ। हामी दुई जना एउटै घरमा काम गर्ने थियौँ— अनि मलाई थाहा थियो, यदि म त्यहाँ बसिरहेँ भने अझ ठूलो क्षति हुन सक्छ। आखिर एक दिन सहनै नसकेर भागेँ। साथीको पर्सबाट ६० रुपैयाँ लिएर डल्लुमा मित आमाको घर गएँ।
मित आमाले मलाई टिनचुलीमा अर्को घरमा ८ महिना काम लगाइदिनुभयो। जीवनभर नै काम–काम र दुःख–दुःख। तर म टुटिन भने चाहिनँ।
त्यसपछि गोठेतारमा सानी आमासँग गएँ। त्यहाँबाट अर्को ब्राह्मणको घरमा काम लगाइयो। अन्ततः जमबुडाँडामा काम पाइयो र मैले आमासँग छोरीलाई पनि ल्याएँ। हामीले एक सानो कोठा लिएर बसेँ। सानो भए पनि त्यो कोठा नै मेरो संसार थियो— किनकि छोरीसँग सुत्न पाउँथेँ, बोल्न पाउँथेँ, उसको निधार चुम्न पाउँथेँ।
२६ वर्षको हुँदा मैले दोस्रो विवाह गरेँ। यसपालि केही स्थिरता मिल्ला भन्ने आशा गरें। फेरि एउटी छोरी जन्मियो। पहिलो छोरीलाई स्कुल पठाएँ। म घरायसी कामदारकै रूपमा दिनभर काम गर्छु र श्रीमान डकर्मीको रूपमा कमाउनुहुन्छ।
आज म ३५ वर्ष नाघिसकेको छु। जीवनले धेरै चोट दियो—
बाल्यकालमा श्रमशोषण,
किशोरावस्थामा अभाव र कष्ट,
युवावस्थामा घरेलु हिंसा,
यौन दुव्र्यवहारको जोखिम,
असुरक्षा, अपमान, असहायपन।
तर यी सबै घाउहरू पार गर्दै म हरेक दिन उठिरहेँ—
छोरीहरूको भविष्यका लागि।
आज मेरी ठूलो छोरी २२ वर्षकी भइसकेकी छे। उसले प्राविधिक शिक्षा लिएर क्भ्भ् पास गरेकी छे— म गर्वले छाती ढुकढुक पार्ने गरी। कान्छी छोरी ८ वर्षकी छे र साबिलाई मन पराएर पढ्छे। अहिले उनी नारायणथानको दलित केन्द्रमा बस्छे।
म आफू आज पनि कामदारकै रूपमा काम गरिरहेकी छु। बिहान सबेरै उठेर लुगाधुने, भाँडामाज्ने, खाना पकाउने— दिनभर काम लाग्छ। तर अब म डरले होइन— “साहस, हिम्मत, आत्मविश्वास र आशा” ले दिन बिताउँछु।
जीवनले जित्न खोज्यो, तर म हारिनँ।
कठिनाइहरूले दबाउन खोजे, तर म झनै बलियो बनेँ।
मेरा छोरीहरू— ती नै आज मेरा पखेटा,
मेरा उज्यालो,
मेरा आशा।
म अझै पनि संघर्षमै छु, तर
अब म टुट्दिन।
अब म डराउँदिन।
अब म आफैँलाई हराउन दिन्न।

