
बिहानको असिन्ने हावा, कुखुराको बास र धुलाम्य ढुङ्गे आँगन—यही ठाउँमा म मीठो निद्रामा डुब्दै थिएँ। तर साथीहरूले दाउरा लिन जंगल जाने तय गरेकाले, उनीहरू घरछेउमै आएर मेरो नाम लिएर बोलाइरहेका थिए। मन त उठ्ने मुडमा थिएन, तर वाचा गरेको कारण हतारिँदै उठेँ।
म मौसम हेर्छु—आकाश धुम्म, हावा चिसो, पानी झरी झरी पर्ला जस्तो। मैले गुन्यू–चोली सम्हालेर लगाएँ, पछ्यौरीले शरीर बेरेँ र हातमा हँसिया लिएर साथीहरूतिर दौडिएँ। बाटोभरि हामी हाँस्दै–गफ गर्दै हिँड्यौँ। जंगल पुग्दा सबैले दाउरा बटुल्न थाले। तर चिसो बढ्दै गयो, हावा तीव्र बयो, र हिउँ पर्ला जस्तो डर लाग्यो। त्यही कारणले म दाउरा राम्ररी समेट्न सकिन, जबकि साथीहरूले आफ्नो काम सकाइसकेका थिए।
जंगल जाँदा प्रायः हामी सबैजना केही न केही खाजा लिएर जान्थ्यौँ, तर आज मेरो हात खाली थियो। किनभने महिनावारी भएका बेला मलाई घरको भान्सामा पस्न र केही लिन रोकिन्थ्यो। पेट दुखाइ, चिसो हावा र भोक—तीनैले मिलेर शरीर र मन दुवै थकित बनाइरहेका थिए।
सबै साथीहरू आफ्नै–आफ्नो खाजा खान बसे, तर म परै बसेर हेर्दै मात्र थिएँ। मैले खाज केहि लगेको थिएन त्यसैले अलि अप्ठ्यो लागिरहेको थियो । त्यही बेला, एक काकीले मलाई बोलाउनुभयो—
“ए है, किन एक्लै बसिरहेकी? यहाँ आगोको नजिक बस, न्यानो हुन्छ। के ल्याएकी छेस् खाजा?”
म मौन बसिरहेँ। मनले भन्यो—‘काकीले थाहा पाए कि मैले के पनि ल्याएकी छैन भने के होला?’
काकी नजिक बसीन्, उनका साथीहरू खाना खाइसकेका थिए। काकी मात्र खान बाँकी थिइन्। मैले केहि नल्याएको थाहापाएपछि काकीसंग भएको खानेकुरा बाडेर खायौं ।
सबैजना फर्किने तयारी गर्न थाले। उनीहरूले भारी उठाए र म भने त्यति सन्चो नभउकोले गर्दा ढिलो–ढिलो आउने बताएर एक्लै भएँ। पेट दुखाइ यति तीव्र थियो कि बाटोमा पाँच–छ पटक रोकिनुप¥यो।
घर पुगेपछि म आँगनको कुनामा थकित भएर बसिरहेँ। आमा नभएको मेरो भाउजुली म लाई भन्दा पनि मेरो कामलाई बढि प्यारो ठान्नुहुन्थ्यो । दिनभरी भोक्कै म घरमा आएपछि भाउजूले रोटी र तरकारी खाना दिनुभयो । भोक मिठो मान्दै खाजा खादै थिए ।
त्यही बीचमा मोबाइल बज्यो। अज्ञात नम्बरबाट।
फोन उठाउदै “को हो?” भनेर सोधें ।
“तिमीले चिनेको मान्छे,” उताबाट जवाफ आयो।
मलाई अप्ठ्यारो लागेर फोन काटिदिएँ।
पछि फेरि फोन आयो।
“के तिमी अनामिका बी.के. हौ?”
“होइन,” मैले झूट बोलेँ।
तर उसले पत्यायन। मैले होइन भनेपनि उसले मानेन्, पछि मैले पनि सत्य कुरा भन्दै गए ।
घरमा सबैले छोरी भनेर हेप्थे, कसैको माया, साथ पाएकी थिइन, त्यसैले पनि म प्रति कसैले माया देखाउदा मन त्यसै रमाउन थाल्यो। उसको र मेरो फोनमा कुराकानी दैनिक रुपमा नै हुनथाल्यो ।
खै कसरी भेट्दै नभेटेको मान्छेसंग माया गाँसीयो थाहा नै भएन । मेरो दिनचर्या मोबाइलमा बित्न थाल्यो, मेरो खुसी सबै त्यहि अल्झीयो, त्यो केटाको बारेमा कसैले गरेको नराम्रो कुराहरु म आफै बुझ्न र सुन्न चाहदिनथे।
समय बित्दै गयो, बिस्तारै उसले मेरो गाउँसम्म थाहा पाइसकेछ ।
सबैतिर हल्ला चल्दै गयो। घरमा दाइ–भाउजूले फोनबारे सोध्न थाले। मैले केहि जवाफ दिन सकिराको थिइन।
साँझको खाना पकाउन भान्सामा थिए, उसको फोन पुनः आयो—
“हामी भेटौँ,” उसले भन्यो।
मैले आत्तिदै “कहाँ? कहिले”
फेरी उसले जवाफ फर्कायो “नेपालगञ्ज आउ। अनि कतै जाऔँ।”
भोलिपल्ट झिसमिसेमा केहि लुगाहरु पोकोपारी भेट्दै नभेट्को मान्छेसम्म मिठा सपना सजाएर घरबाट निस्किएँ।
अनि अचानक—उही मान्छे सडक छेउमा देखा प¥यो।
“म नै हुँ तिमीले भेट्ने भनेको,” उसले भन्यो।
मैले केहि सोच्न सकिनँ । मैले सोचेको मान्छे कस्तो थियो ? मात्र एकनास उसलाई हेरिरहे ।
त्यसपछि गाडी आयो।
“हामी यसैमा जानुपर्छ,” उसले भन्यो।
एउटा बिस्वासमा त्यो व्यक्तिलाई पछ्याएँ।
नेपालगञ्ज पुगेपछि हामी होटलमा बस्यौँ। मेरा अंकलको फोन आयो। म डराएर उठाउन सकिनँ। डरले आँसु झर्दै थियो।
उसले मेरो हात समाउँदै भन्यो,
“रुनु पर्दैन, भोलि हामी भारत जाऔँला।”
भोलिपल्ट उसले मलाई नयाँ लुगा किनिदियो, मन्दिर लग्यो, टिका र सिन्दूर लगाइदियो। म केही बुझ्न सकिरहेकी थिइनँ, तर त्यहाँ माया भनिएको अनुभूति पाइयो—पहिलोपटक कसैले ध्यान दिएको, माया गरेको, बचाउन खोजेको जस्तो।
तर त्यो सब अभिनय मात्र रहेछ—म सायद त्यो बेला नै मात्र बुझ्न सकेकी थिइनँ।
भारतको चण्डीगढ पुर्याएपछि, मलाई एउटा कोठामा राख्यो। उनी बाहिर काम गर्न जान्थे। म एक्लै बसिरहेँ—न भाषा बुझिने? न मान्छे चिनिने न कतैको बाटा थाहा हुनु ।
त्यहा गएको ४ रातपछि ५ औं दिनको रात उनी कोठामा आएनन । कुनै खवर बिना मलाई एक्लै छोडेर कहा गएको हो पत्तै पाइन । त्यहिप नि भोली आउछन होला भनेर एक्लै डराएर त्यो रात ननिदाइकन उज्यालो बनाए ।
भोलीपल्ट बिहान, रातो कार लिएर एकजनाले मैले नचिनेको केटामान्छे आए र भने—
“तिम्रो श्रीमान दुर्घटनामा परेका छन्। अस्पतालमा छन्। म तिमीलाई लिन आएको।”
भोक, डर र असहाय अवस्थाले म विश्वास गरें।
तर सत्य त्यो थिएन।
त्यो मान्छेले मलाई एक कोठामा थुनेर भन्यो—
“तिम्रो श्रीमानले तिमीलाई तीन लाखमा बेचेका छन्। अब तिमी यहाँका मान्छेले भनेको मान्नु पर्छ।”
म स्तब्ध भएँ।
म बेचिएकी रहेछु—नागरिकता, पैसाका लागि।
उनको माया, संरक्षकत्व, वाचा—सबै नाटक रहेछ।
यसको केहिदिनपछि एकजना दिदी कोठामा आउनुभयो र भन्नुभयो
“भाग्ने कोसिस नगर्नु है, मार्न सक्छन्,” दिदीले सानो आवाजमा भन्नुभयो।
तर त्यहि दिदीले नै, जोखिम मोलेर, रातमा झ्यालबाट बेडसिट बाँधेर मलाई बाहिर झारिदिनुभयो।
म खाली खुट्टा तीन घण्टा दौडिएँ। ढुङ्गाले खुट्टा चिरियो, होश गुम्ने जस्तै भयो।
अन्ततः एक नेपाली बोल्ने दिदीको घरमा पुगेँ।
त्यहा नेपाली दिदीदेखेपछि म स्वर्गमा पुगेको जस्तो महसुस भयो । उनीले पानी दिइन्, सुतेर आराम गर्न भनिन्, र बच्चालाई जस्तो म टुटेको मान्छेलाई सम्हालिन्।
त्यो रात दिदीको घरमा पहिलोचोटि मैले सुरक्षित महसुस गरें। तर मन अझै अत्तिएको थियो—कहिँ त्यो रातो कारको मानिससंग फेरि भेट होला कि, कसैले चिनेझैँ गरला कि। मनमा डरका तरंगहरू उठिरहें।
दिदीले भनेकी थिँइन्,
“भोलि बिहान छिट्टै उठ, केही उपाय निकालौँला।”
बिहान सबेरै दिदीले चिया बनाएर मलाई दिइन्। “हामीलाई चिन्ने एक जना दाजु यहाँ भारतीय–नेपाली सीमा नजिक ट्रक चलाउनुहुन्छ। उहाँले मद्दत गर्न सक्नुहुन्छ,” दिदीले शान्त स्वरमा भनिन्।
मलाई थोरै आशा पलायो, तर शरीर अझै काँपिरहेको थियो।
करिब १० बजे त्यो दाजु आए। ठूलो ट्रक ढल्काउँदै घर अगाडि रोकियो। दिदीले सबै कुरा उनलाई भन्नुभएको रहेछ।
दाजुले गम्भीर आवाजमा भने,
“छोरी, डर नमान। म तिमीलाई नेपाल नजिकै सीमासम्म पु¥याइदिन्छु।”
ट्रकमा चढ्दा मेरो हात अझै काँपिरहेको थियो। ट्रकको भित्री भागमा चामलका बोरा, कागजका पेटीहरू छरपस्ट थिए। दाजुले भने,
“यिनै बोरामुनि बस, कसैले देख्दैन।”
म बोरामुनि बसेँ। ट्रक हल्लिँदै–काँपिँदै अघि बढ्यो।
हिजो रातदेखि रोकिएको मन फेरि रोयो।
“घर… घर जान पाइने हो कि?”
मनभित्र यस्तै प्रश्नहरू उब्जीयो।
झण्डै दुई घण्टा यात्रा भयो। दाजुले बोराबाट उठ्न भने।
“हामी सीमा नजिक छौँ,” उनले भने।
अगाडि ठूलो भीड थियो—लोगो, रेह्डी, साइकल, ट्रक।
“यहाँबाट तिमी पैदल जानुपर्छ। नेपाली साइड नजिकै छ,” दाजुले हातले बाटो देखाउँदै भने।
अचानक हावाको झोकाले मेरो पछेउरा उडायो। म सास फेरेँ—
ती दिनपछि पहिलोचोटि आफ्नो देशको हावा, नेपाली माटोको गन्ध महसुस भयो।
आँखा फेरि रसाए।
कतै–कतै नेपाली बोलाइ सुनिन्थ्यो।
“भैया, इधर आइए”
“दिदी, कति किलो?”
“हेर न, त्यो त नेपाल जाने लाइन।”
म हतार–हतार अगाडि बढेँ।
सीमामा नेवारी टोपी लगाएका एकजना सुरक्षाकर्मीले भने,
“बहिनी, कहाँ जाँदै?”
मेरो आवाज टुट्यो,
“म… नेपाल फर्कन लागेको…”
उनले मलाई एकछिन हेरे। “ठिक छ, जाऊ, नेपाल तिम्रै घर हो।”
त्यसपछि मैले सास फेर्न पनि नसकेरै रोएँ—
सुरक्षाकर्मीको त्यो सरल वाक्यले महिनौँको भोगाइ, चोट, अपमान सबै झनक्क बाहिर आयो।
सीमा नाघेपछि, मैले पहिलोपटक साँचो सुरक्षित महसुस गरें।
जुन भूमिमा म जन्मिएँ—त्यहीँ म फेरि टेकिरहेकी थिएँ।
नेपालतिर छिरेर म हिँड्दै जाँदा, बाटोछेउका काठका घरहरू, पसलका बोर्डहरू, गाईबस्तुको आवाज, नेपाली बालबालिकाको हाँसो—सबै बिर्सेको सपना जस्तै लागिरहेको थियो।
करिब एक घण्टा हिँडेपछि, म एक स्थानीय प्रहरी चौकी पुगेँ।
ढोका उघार्ने बित्तिकै म भुइँमा बसिरहेँ र रोइरहेँ—
वर्षौंको पीडाजस्तै आज बाहिर निस्किरहेको थियो।
एक महिला प्रहरी आएर छेउमा बसिन्।
“के भयो बहिनी, किन रुँदैछ्यौ?”
मैले काँपिएको स्वरमा भनें,
“मलाई बेचियो… भारतमा… म कसरी आएँ—सबै भोगें…”
प्रहरीले तत्काल मलाई सुरक्षित कक्षमा राखे, पानी दिए, र सबै कुरा सुने।
त्यसपछि उनले भने,
“अब डराउनु पर्दैन। तिमी सुरक्षित छ्यौ। तिमी नेपाल फर्किसक्यौ।”
उनले मेरी घरपरिवारलाई पनि खबर गरिदिए।
करिब ६ घण्टा पछि,
मेरा दाइ, भाउजू, र गाउँका केही मान्छेहरू आए।
दाइका आँखामा आँसु थियो।
भाउजूले मेरो हात समाएर भनिन्,
“अब केही हुनेछैन, बहिनी। घर जाऔँ।”
त्यो क्षण…
म जति पीडा, डर, अपमान, कैद—सबै सम्झेर पनि एउटा कुरा मात्र महसुस गरिरहेकी थिएँ—
म बाँचेजस्तै लाग्यो।
म फर्किएँ।
म मेरो देश, मेरो परिवार, मेरो जीवनतिर फर्किएँ।
मेरो मनले भन्थ्यो—
“अबबाट कसैले मलाई नथिचोस्, नठगोस, नदोस्रो बनाओस्…
म अब आफ्नै कथा फेरि लेख्छु।

