डिजिटल हिंसाको कथा: “अनिकाको मौन चीत्कार”

साबी खड्का

धादिङको पहाडको फेदीमा एउटा सानो गाउँ छ—बरुवा। बिहान–बेलुका बाक्लो हुस्सु लागिरहने, शान्त र स्वस्थ वातावरण भएको ठाउँ। यही गाउँमा हुर्केकी १७ वर्षकी अनिका चेपाङ प्रतिभावान, सहयोगी, दयालु, र आदर गर्ने स्वभावकी केटी थिइन्। उनको सपना थियो—एकदिन नर्स बन्ने र गाउँका महिलालाई सहयोग गर्ने।

SEE सकेपछि छोरीको प्रतिभा र पढाइमा गरेको मेहनत देखेर, खासै पैसा नपाए पनि उनका बाबुले उनलाई नयाँ स्मार्टफोन किनिदिनुभयो। अनिका धेरै खुसी भइन्।

फोन पाएसँगै, अहिलेसम्म केही नभए जस्तो लागिरहेको बेला, उनी फोनमै व्यस्त हुन थालिन्। फोनमा पढाइका कुरा हेर्दै, साथीहरूसँग च्याट गर्दै रमाइरहेकी थिइन्।

यही बीच फेसबुकमा उसलाई एउटा नयाँ फ्रेन्ड रिक्वेस्ट आयो—Rohan Khatri। प्रोफाइलमा उसलाई आफ्नै उमेरको जस्तो लाग्यो। “Plus Two Student”, “Future Engineer” भनेर लेखिएको देखेर अनिकाले सामान्य रूपमा रिक्वेस्ट स्विकार गरिन्।

सुरुमा रोहनको बोली धेरै मिठो हुन्थ्यो—
“तिमी Smart देखिन्छ्यौ।”
“तिमीले लेखेको कति राम्रो!”
“तिमीलाई हेर्दा मन नै रमाउँछ।”

“तिमी सँग जतिबेला बोले पनि कमै जस्तो लाग्छ।”

“तिमीकतिcute छौ।”

पहिले अनिकालाई अलि अचम्म लाग्थ्यो, तर रोहनको मधुरो बोलीले उसले विश्वास गर्न थाल्यो। घरमा आफूलाई कसैले खासै बुझ्दैन भन्ने लाग्ने अनिकालाई रोहनसँग कुरा गर्दा मन हलुका हुन्थ्यो।

तर केही समयपछि रोहनले उसको विश्वासलाई गलत दिशामा लैजान थाल्यो—
“अनिका, तिम्रो राम्रो फोटो पठाइदेऊ न?”
“थोरै मेकअपमा पठाउँदा झन् राम्रो लाग्थ्यो है।”

अनिका असजिलै हुन्थी। उसलाई यस्तो माग मन पर्थेन। तर उसले सामान्य फोटो पठाइदिइन्।

तर त्यही दिनदेखि रोहनको माग झन् बढ्न थाल्यो—
“हातमा मेरो नाम लेखेर फोटो पठाउ।”
“स्टाइलिश ड्रेसमा फोटो पठाउ।”
“यो अरूलाई देखाउँदिन, साँच्चै।”

अनिकाले धेरै पटक इग्नोर गर्न खोजिन्। तर उसलाई डर लाग्न थाल्यो।

रोहनले धम्की दिन थाल्यो—
“तिमीलाई थाहा छ? मसँग तिम्रा सबै फोटोहरू छन्।”

“मलाई एक्लै भेट्न आउ।”

“मैले भनेको मानेनौ भने, …………..”

एकदिन रोहनले उसको फोटो एडिट गरेर अश्लील बनाइदिएको तस्बिर पठायो। तस्बिर निकै वास्तविक देखिन्थ्यो। र लेख्यो—
“यो म तिम्रो घरमा पठाउँछु। सोसल मिडियामा पोस्ट गरिदिन्छु सोच, तिम्रो इज्जत कहाँ पुग्ला।”

अनिका थरथरी काम्न थालिन्।
उसको आँखाबाट आँसु रोकिएन, उसले मनमनै सोची।
“यो मैले गरेको होइन, तर कसरी प्रमाणित गरूँ? को विश्वास गर्छ?”

“घरपरिवार, साथी, आफन्तहरूले देखे भने?  म अरूलाई आफ्नो अनुहार कसरी देखाउने?”

उसले कसैसँग केही भन्न सकिनन्। घरमा बाबुआमाले सोध्थे—
“छोरी, किन यति चुप छेस्?”
तर अनिकाले झूट बोलिन्—
“केही होइन, पढाइको टेन्सन।”

उनी खाना खान छोडिन्, फोन बज्दा डर लाग्ने भयो, रातभरि निन्द्रा हरायो।

अन्ततः एक दिन उनी कलेजमा बस्दा आँखामा आँसु लिएर, टोलाएर चुपचाप बसिरहेकी थिइन्।

सुष्मा मिसले उनको अनुहार देखेर सोधिन्—
“छोरी, के भयो तिमीलाई? तिमी अहिले अलग देखिन्छ्यौ। के भइरहेको छ मलाई सबै कुरा भन।”

अनिकाले बिस्तारै काँपिरहेको स्वरमा सबै कुरा बताइन्—रोहन, धम्की, एडिट गरिएको फोटो, डर।

मिसले तुरुन्त हात समाएर भनिन्—
“तिमीले कुनै गल्ती गरेकी छैनौ। दोष त त्यस मानिसको हो। हामी अहिले नै केही गर्छौँ।”

कलेजमा अनिकाका बाबुआमालाई बोलाइयो। अनिकालाई लाग्यो—अब त झन् समस्या भयो। तर बाबुआमाले उनको कुरा विश्वास गरे।
बाबुले भने,
“हाम्रो छोरीलाई कसैले धम्क्याउन पाउँदैन।”

तीनैजना साइबर ब्यूरो पुगे। अधिकारीहरूले च्याट, स्क्रिनसट सबै जाँच गरे।
थाहा भयो—रोहन वास्तवमा २५ वर्षको युवक, जसले अरू किशोरीहरूलाई पनि यस्तै धम्क्याइरहेको थियो।

अन्ततः उसलाई पक्राउ गरियो। फोटो र एडिट गरिएका सामग्री हटाइयो।

अनिकाले धेरै महिनापछि राहतको सास फेर्न पाइन्।
उनको आँखामा आँसु थियो—तर डरको होइन, साहस र बाँच्ने हिम्मतको आँसु।

त्यसबेलादेखि अनिका विद्यालयमा डिजिटल सुरक्षा बारे आफ्नो अनुभव सुनाउन थालिन्।
सानालाई भन्थिन्—
“इन्टरनेट राम्रो छ, तर सावधानी अत्यन्त आवश्यक छ। कसैले धम्की दियो भने तुरुन्तै भन। मौन बस्नु समाधान होइन।”

बरुवाको गाउँमा अनिकाको कथा धेरै फैलियो।
यो लाजको कथा थिएन—
यो साहस, आत्मविश्वास, र अन्यायसँग लड्ने एक केटीको कथा थियो।

Scroll to Top