बुझेर बाँचेको जीवन: विभेद विरुद्धको आवाज

मनिसा खत्री

दिनहुँ बिहान ५ बजे खुल्ने मेरा आँखाहरू आज ४ बजेकै समयमा जागे। रातभरको थकाइ, गाई–वस्तुको कुडो, कुखुरालाई दाना, घर–परिवारका नसकिने जिम्मेवारी—सब एकैपटक दिमागमा घुमे। फेरि निदाउन खोजेँ तर आँखा बन्द भएन।
घरमा चामल सकिन लागेको थियो, बिहानै कसरी मिलाउने होला—यही चिन्ताले मन तरल थियो।
छेउमै पाँच वर्षको छोरो र उसका बाउ पुरानो फाट्टफुट्ट अर्धनो ओढेर मस्त निद्रामा परेका थिए। पल्लो कोठामा ११ वर्षीया छोरी सानो ओढ्नेमा जाडोसँग जुधिरहेकी—टाउको छोपे खुट्टा देखिने, खुट्टा छोपे टाउको नढाकिने।
म भने जुरुक्क उठेँ। आँगनको छेउमा थन्किएको पुरानो पित्तलको गाग्री बोकेर पधेँरातिर लागेँ। गाउँले भन्थे—
“बिहानै त्यो पधेँरामा भूत नाच्छ, बच्चा रोइहाल्छ।”
सुन्दा मन डराउँथ्यो तर पानी त घरमै आइदिने सुविधा कहाँ!
“आयु रहुन्जेल वायुले भेट्दैन” भन्दै म बिँडासँगै पधेँरातिर झरेँ।
पानी बोकेर घर फर्कँदा सबैजना अझै निद्रामा थिए। पानी राखेर म अगेनातिर लागेँ। गोठबाट कालो डिक्ची ल्याएँ, बेलुकाको बाँकी ढिँडो र पानी मिसाएँ।
भाले बाँस्सिएको आवाजले बिहान खुलेको संकेत दियो।
भित्रबाट बुढाको आवाज आयो—
“कत्तिको धुँवा उडाएको! के पकाउँदै हो”
मैले वास्तै नगरी ढिकी तिर लागेँ। घुनले खाएको मकै लिएर कुट्न थालेँ।
त्यत्तिकै “मामु” भन्दै हाँस्दै छोटो खुट्टाले ठिङ्ग उफ्रिँदै मेरो छोरो ढिकीको छेउमा आयो। मैले उसलाई उठाएर काखमा लिएँ। चिसो बिहानमा उसको न्यानो शरीरले मेरो मन उज्यालो बनायो। उसले बोकेको गिलास समाउँदै दूध खुवाएँ। गोठको गोबरको हल्का गन्ध मिसिन्थ्यो।
पानीले उसको हात–खुट्टा सफा गरिरहेकी थिएँ, तर नाकको घाउ छोएपछि ऊ बेस्सरी रुन थाल्यो।
रुवाइ सुनेर बुढा हतारहतार आए—
“किन रुवाइस् मेरो छोरोलाई”
मैले उत्तर दिएँ—“सफा गराइदिन खोजेको…”
कुरा सकिन नपाउँदै उनले छोराको कपडा फुकालेर मेरो अनुहारतिर फ्याँके—
“ला, यो पनि धोइदे।”
छोरालाई समाउँदै म चुपचाप घरभित्र छिरें।
ढिकीमा कुटेको मकै सकेपछि छोराको कपडा बोकेर बाहिर निस्कँदै सोचें—छोरी त सुतिरहेकी होलि। तर आँगनमा पुगेपछि उसको मेहनतिला हात भाँडाको कालो दाग घोटिरहेको देखेर मन भारी भयो।
रातो कुर्था, कालो लेगिज र तुने चप्पल लगाएर ऊ आँगीनाको कुनामा उभिइरहेकी—मानौँ एकछिन पनि उसलाई आरामको अधिकार छैन।
भित्रैबाट बाउ चिच्याए—
“छिटो भात–तरकारी पका। भाइलाई स्कुल जान ढिला हुन्छ। उसको ड्रेस पनि मिलाइदे।”
यो सुन्दै छोरी चटपटाएर जवाफ फर्काई—
“मैले कति पटक भने स्कुल जान्छु भनेर! म पनि पढ्न चाहन्छु तर कोही सुन्दैनन्। भाइ पाँच वर्षको नपुग्दै उसको स्कुलको चिन्ता सबैलाई। तर म?
मलाई भने भाँडा माझ्, खाना पकाउ भन्ने?”
छोरीको आवाजमा पीडा पनि थियो, दबिएको रोष पनि।
म भने मुख नखोली उहीँ उभिइरहेँ—किनकि मैले पनि पढ्न पाइनँ, पढाइको अर्थ बुझिनँ; समाजको कडाइ हाम्रा कानमा घन्किरहेको हुन्थ्यो—
“छोरी पढेर के हुन्छ? अरूको घरको भित्ताको प्वाल टाल्नै त जान्छ।”
त्यही सोचले बाध्य भएर मैले छोरीलाई भनिदिएँ—
“हामी पढ्ने जात कहाँ छौं र छोरी? समाजले हाँस्छ।”
छोरीको पीडाभरिएको आवाज सुनेर भित्र बसेका बाउ झनै आक्रोशमा बाहिर निस्किए—
“छोरी भएर यति ठूला–ठूला कुरा गर्छु?
छोरा भनेको छोरा हो! दागबत्ती दिने पनि उसैले!”
बाउको कठोर बोलीले छोरीको मुख तुरुन्तै बन्द भयो। बिहानैदेखि भाँडा माझ्दै, काम गर्दै, उस्तै उस्तै गाली खाँदै बस्ने उसको नाजुक मन फेरि भाँचियो।
सुक्कसुक्क रोँदै मेरो फरिया समातेर टासिई।
हाम्रो घरभित्र ‘छोरा’ भनेपछि सबै कुरा सहि, ‘छोरी’ भनेपछि काम मात्र—यही नियति बनेको थियो।
डोको र नाम्लो बोकेर म जंगलतिर हिँड्दै थिएँ।
हावाले पात हल्लाउँदा जस्तो मेरा मनका कुरा पनि थरथराइरहेका थिए—
“किन छोरामात्र?
के मेरी छोरी मेरी छोरी होइन?
के उसलाई सम्मान, शिक्षा र स्वतन्त्रता चाहिँदैन?”
मेरो हरेक पाइला सँगै यी प्रश्नहरू हृदयमा बिझिरहे।
जंगलको शान्तीमा बस्दा मैले देखेँ—देशभर कति बच्चाहरू छोरी–छोरा बिनाभेद पढ्न, खेल्न, बाँच्न चाहन्छन्। तर समाजले बनाएको भित्ताले उनीहरूलाई कहिल्यै अघि बढ्न दिँदैन।
छोरी–छोरा बीच हुने भेदभाव, हिंसा, मजदुरी, बेचबिखन सबै—यी पर्खाल भत्किनुपर्छ।
त्यही जंगलको बीचमा म आफ्नो जीवनकै ठूलो निस्कर्षमा पुगेँ—
“अब छोरीलाई पढाउँछु। अब समाजको डरमा छोरीको भविष्य मर्न दिँदिनँ।”
साँझ पर्न लाग्दा दाउरा बोकेर घर फर्कँदा मन भारी थियो तर एउटा अजीवको आशा पनि थियो।
छोरी सधैं मेहनत गर्छ तर भाइकोजस्तो मान पाउँदिन; भाइ खेल्छ, पढ्छ, माया पाउँछ; छोरी भाँडा माझ्छ, गाली खान्छ, र अन्त्यमा सबैभन्दा कम मूल्य पाउँछ—यही हरेक घरको कथा कति बच्चाको जीवन बिगारिरहेको छ!
भोलिपल्ट म बाहिर काम गर्दै थिएँ, तर मनभरि एकै आवाज घन्किरहेको थियो—
“छोरी–छोरा दुवै समान हुन्।”
मले छोरीलाई बोलाएँ—
“तिमी पढ्छ्यौ छोरी, तिमी हकदार छौ।”
छोरीका आँखामा चम्किएको उज्यालो मेरो जीवनकै सबैभन्दा ठूलो शक्ति बन्यो।
मकै कुट्ने, पानी बोक्ने, गोबर फाल्ने सबै काम बीचमै म भित्रै एउटा प्रतिज्ञामा पुगेँ—
अब छोरी पढ्नेछ।
अब यो घरमा भेदभाव टिक्दैन।
पढाइ नै उज्यालो हो, शिक्षा नै हतियार हो—यही बुझेर म दृढ भएँ।
समाजले हाँसे पनि, बोले पनि, म अब डगमगाउँदिन।
आकाशमा निलो उज्यालो फैलँदै थियो, र मभित्र एउटा प्रतिज्ञा जन्मियो—
अब मेरो घरमा छोरी–छोरामा कहिल्यै भेदभाव हुनेछैन।
दुवै बराबरी, दुवै स्वतंत्र, दुवै उज्यालो भविष्यका हकदार।
मेरो संघर्ष अब मेरो परिवार मात्र होइन—सम्पूर्ण समाजको उज्यालो भोलिका लागि हो।

Scroll to Top