सारु कुमारी (परिवर्तित नाम)

मानिसको शरीरमा जन्मदाग हुन्छ भन्थे।
तर मेरो त मन र शरीर दुवैमा जीवनभर नमेटिने कर्म–दाग परिसक्यो।
चैत्र–वैशाखको चर्को घाम।
तराईको उखरमाउलो गर्मीले त सास फेर्नै मुस्किल,
बाँच्नसम्म गाह्रो हुने दिनहरू थिए ती।
दिन लामो, रात छोटो।
बिहान पाँच बजे नै टलक्क घाम लाग्थ्यो—मानौं दिउँसो नै भइसकेको हो।
“छिटा उठ्! बाख्रा लान ढिलो भइसक्यो!”
सौतेनी आमाको रुखो स्वरले मस्त निद्रामा डुबेकी म झर्सङँ तर्सिए।
डरले गर्दा जुरुक्क बिस्ताराबाट उठें।
घरभन्दा टाढा, करिब ५० मिटर परको जंगल–छेउमा दिसा–पिसाब गर्न गएँ—
किनकि हाम्रो घर मात्र होइन, सिङ्गो गाउँमै शौचालयको चलन थिएन।
आधा घण्टापछि घर फर्किँदा आमाको स्वर झनै तिखो भइसकेको थियो—
“६ बजिसक्यो, कति ढिलो गरेको? बाख्रा भोकाइसके!” भोक लागेका बाख्रालाई कसरी चाँडो खुवाउने?
बाख्रा भोकोएको थाहा पाउने सौतेनी आमाले आफ्नी १४ वर्षकी छोरी भोकाएको महसुस नै गरिनन् ।
आमा कराइरहेपनि केहि खाएर मात्र जान्छु, फेरी चाडै घर पनि त आइदैन भनेर भान्सा छिरेँ।,
तर भान्सा त सुनसान—राति अबेर मैले आफै मोलेर चुलो नजिकै घोप्ट्याएर राखिएको कराई–डेक्ची जसैको त्यस्तै थियो ।
खिन्न मन लिएर भान्साबाट बाहिर निस्कीए । गोठमा बाधिएको बाख्राको डोरी खोलिदिए र गोठको अर्को कुनामा घाँस काट्न जादा लाने बोरा पनि संगै बोकेर चौरतिर लागें । ।
अरूबेला सगैं जाने साथीहरू भेटिन्थे—घाँस काट्न, बाख्रा चराउन। तर आज नयाँ वर्षको दिन—सबै घरमै रमाइरहेका थिए। सौतेनी आमालाई मेरो रमाइलो कहाँ महसुस हुन्थ्या र?
जंगलको छेउमा बाख्रा छोडेँ र म एक्लै घाँस काट्न थालें।
परिचित ठाउँ, समान दिनचर्या—तर मन भने एक्लोपनले भरिएको।
काममा डुब्दा वरिपरि कोही आएको–गएको थाहा नै नहुने।
त्यसैबेला परबाट एक जना काका हातमा पानीको बोतल लिएर मेरी तिर आइरहेका थिए। म पनि तिर्खाएकै थिएँ—
“काका, पानी दिनु न,” मैले आफैँ भनेँ।
उनीले बोतल मेरो हातमा थमाइदिए। मैले एकै सासमा ठाडो घाटी लगाएर कलकल गर्दै पानी पिएँ।
तर त्यो पानीमा मिसिएको अन्धकारबारे मलाई थाहा थिएन।
पानी पिएको एक मिनेटमै संसार घुमेजस्तो भयो— घुँडा कमजोर, आँखा धमिलो— र म अन्धकारमा डुबेर ढलें।
म बेहोस थिएँ, तर मरेकी थिइनँ। होसविहीन शरीरले पनि पीडा चिन्छ—आफ्नो अस्तित्व च्यातिदैँ गरेको क्रूर छायाँको स्पर्शले।
गिद्धले सिनो लुछेझैं, उहाँले मेरो असहाय शरीरमाथि कुकर्म गर्दै थिए। म बोल्न सकिनँ, चल्न सकिनँ—स्वर शरीरमै थुनिएको थियो।
एक घण्टापछि होस खुलेको थियो।
आँखा खुल्यो, तर संसार भने भत्किएको—
शरीर चकनाचुर, आत्मा फाटेको।
आफ्नो शरीर हेर्दा लाग्यो—
कसैले मेरो अस्तित्व नै फालिदिएको छ।
एकैचोटि आँसु, आवाज, र पीडा—एकसाथ फुटे।
र म फेरि अन्धकारमा बिलाएँ।
होस खुल्दा म घरको पिँढीमा थिएँ।
चारैतिर गाउँका मानिसहरूको घेरा—
कसैले दया, कसैले कुतूहल, कसैले त सीधै आरोपको दृष्टि।
“इनै हो? केटी नै…?”
अधुरा वाक्यहरू मेरो कानमा बाणझैं बिन्छन्।
दुई दिनपछि स्वास्थ्य जाँच गराउँदा सबै रिपोर्ट ‘पोजेटिभ’ आए। डाक्टरको हातबाट कागज लिएर बाहिर निस्कँदा
सिङ्गो संसार काखमै टुक्रिएर खसेजस्तो लाग्यो।
गाउँभरि हल्ला चल्यो ।
कसैले भने—“अन्याय भयो।”
कसैले भने—“त्यो केटीकै गल्ती होला।”
कतिले त पैसामा सौदा मिलाउन खोजे—
मृत आत्मामाथि व्यापार जस्तै।
गाउँका अगुवाहरू भेला भए—
म हुँदाहुँदै मेरो भविष्यबारे निर्णय गर्दै थिए।
तर मेरो मनभित्र भने अर्को आवाज उठिसकेको थियो—
“मेरो न्याय म आफैं खडा गर्छु।”
त्यसपछि सुरु भयो—
लाजसँग, डरसँग, समाजका आँखा र आफ्नै छायासँग लड्ने
अत्याधिक कठिन युद्ध।
म ऐनामा हेर्न डराउँथेँ, तर एकदिन हेरेँ— र आफूभित्र मरेको आत्मा होइन, फेरि उठ्ने बिउ देखेँ।
आँसु पुछेँ। सास फेरेँ र आफूलाई भनेँ—
“म पीडित होइन।
म बाँच्न, लड्न र उठ्न जन्मिएको मान्छे हुँ।
भाँचिएको पखेटाले पनि उड्न सक्छ।”
म कानुनी प्रक्रियातिर लागेँ।
कसैले साथ दिए, कसैले दिएनन—
तर मेरो आवाज अब मौन थिएन।
आज पनि त्यो दिन सम्झँदा मन चसक्क हुन्छ, तर अब म अँध्यारोले हैरान हुँदिनँ। कहिल्यै नउठेजस्तो लाग्ने घाउहरू एक दिन राखबाट उठ्ने बीउ बन्छ—यसमा अब विश्वास बसिसकेको छ।
अब म पीडाको छायामा होइन— आफ्नै पुनर्जन्मिएको उज्यालोतिर हिँडिरहेकी छु।
पहिले म मौन थिएँ। आज म आवाज बनेकी छु। पहिले डरले थर्किन्थे। आज म अन्यायविरुद्ध अडिने स्तम्भ बनेकी छु। म भत्किएकी थिएँ— तर हराइएकी थिइनँ। आज म आफ्नै धड्कनसँग मिलेर नयाँ बाटो कोर्दैछु— जहाँ डर सकिएको छ, र हिम्मतले बास बस्न थालेकोछ।

