बिनिशा चेपाङ

इतिहास रचना त सबैलाई मन पर्छ, र न–रचेको इतिहास पनि त कोही नकोहीले बोक्छ। यो काम त शक्तिमा हुनेहरूले मात्रै गर्छन्। अनि अर्कै कुरा—समयलाई हामी देख्दैनौं। तर समयअनुसार चल्नै पर्दछ। समयले नै हामीलाई चाल चल्न सिकाउँछ।
अब म मेरो जीवनका केही खुशीका पल सुनाउन चाहन्छु। जीवनमा खुशीका छायाँ त धेरै छन्, तर म आफ्नै स्मरणमा रहेको कुरा सुनाउँछु—त्यो जुन मैले आफैँलाई दिएको अनुभव हो।
म १२ वर्षकी हुँदा मेरो होस्टेलको यात्रा सुरु भयो र १८ वर्षको उमेरमा होस्टेलबाट निस्कें। कक्षा ६ बाट सुरु भएको मेरो पढाइको यात्रा कक्षा १२ पास गरेर समाप्त भयो।
होस्टेलमा त्यही प्रकारका विद्यार्थी मात्र बस्न पाउँथे—जो पढ्न मन भए पनि पढ्न नपाएका, जसको घरबाट विद्यालय जान धेरै टाढा थियो, जसको परिवारमा आमाबुबा थिएनन्, वा जसको घरको आर्थिक अवस्था कमजोर थियो। म यी चारै समस्याले घेरिएको मान्छे थिएँ। गाउँमा कक्षा ५ सम्म पढ्दा, कक्षा ६ पढ्न दुई घण्टा हिँड्नु पर्थ्यो। गाउँकै दाइले मलाई होस्टेल पुर्याउनुभयो।
मेरो घरमा बुबा र कान्छो दाइ मात्रै हुनुहुन्थ्यो। आमाको कुरा के गरौँ—म जन्मेको एक वर्षपछि मेरी आमा पुनर्विवाह गर्नुभयो रे।
कक्षा ६ बाट ७, ७ बाट ८, ८ बाट ९, र ९ बाट १० सम्म उक्लें। म जहाँ गए पनि सबैसँग मिल्न सक्थें। सबैलाई माया र सम्मान दिन सक्थें। कक्षा १० मा पुगेपछि मेरो पढाइ पनि राम्रो हुँदै गइरहेको थियो।
होस्टेलमा कति जना बस्थ्यौं भन्ने मलाई स्पष्ट याद छैन। आउजाउ भइरहन्थ्यो। कक्षा १० मा पढ्दा भने होस्टेलमा २१ जना थियौं। कक्षा १० पढ्ने हामी ५ जना थियौँ । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १२०० विद्यार्थी थिए।
समय बित्दै गयो। दिनले रात, रातले दिन लुकामारी खेल्दै गए। विद्यालयले कोचिङ कक्षा सुरु गर्यो। होस्टेलका चार जना साथीहरू गए, तर म चाहिँ गाइन। मन त मलाई पनि थियो, तर मन भए पनि मन मानेर बस्न पर्दथ्यो। मैले भनेको थियो नि—“समयलाई हामी देख्दैनौं, तर समयअनुसार चल्नैपर्छ।”
साथी–बहिनीहरूले सोधे—
“तिमी किन कोचिङ पढ्न आउदिनौ?”
मैले भनें—
“मलाई पढ्न मन छैन।”
वार्डेनले सोध्दा भने—
“म कोचिङ नपढी नै SEE पास गर्छु।”
चार जना बिहानै उठेर कोचिङ जान्थे, म भने १० बजे विद्यालय पुग्थें। कक्षामा शिक्षकले सोध्थे—
“तिमी ट्युशन पढ्न किन आउदिनौ?”
तर म केही बोल्दिन थिए।
कोचिङ कक्षा सुरु भएको सात दिनपछि शिक्षकले हामीलाई बोलाएर कारण बुझ्न खोज्नुभयो। ९७ विद्यार्थीमध्ये केवल ७ जना मात्रै कोचिङ नपढेका रहेछौं। बाँकी सबै ९० जना जॉइन गरिसकेका थिए।
फेरि शिक्षकले सोध्नुभयो—
“तिमी किन कोचिङ नपढेको? तिम्रो होस्टेलका चार जना त पढ्छन् त!”
घरको आर्थिक अवस्था भनेर भन्न लाज लाग्थ्यो। त्यसैले मैले भनें—
“म कोचिङ नपढी नै SEE पास गर्छु।”
मेरो कुरा सुनेर शिक्षक हाँस्नुभयो र नोटमा टिप्नुभयो। अर्को दिन सबै ९६ जना कोचिङ गए, म मात्र एक्ली। प्रिन्सिपलको अफिसमा लगियो। प्रिन्सिपलले भने—
“त्यसो भए कक्षाको top 10 का लागि कोचिङ आवश्यक छैन। यो कोचिङ कसका लागि हो?”
मैले जवाफ दिन सकिनँ। म ट्युशन पढ्नेवाला थिइनँ। म यस्ती मान्छे—पढाइभन्दा बढी गीत, संगीत, खेलकुद र अन्य पक्षमा ध्यान दिने। पढाइ अलि कमजोर नै थियो। यही कारणले शिक्षक र प्रिन्सिपलले विश्वास गर्नुभएको थिएन। मैले भावुक भएर होइन, सोचेर नै भनेकी थिएँ।
हुँदै–हुँदै SEE आयो। परीक्षा दिइयो। परीक्षा पछि तीन हप्ता बिदा भयो। नतिजा चैतमा आयो। मनमा खल्बली थिएन, किनभने विश्वास थियो—म पास हुन्छु।
होस्टेलका ४ जना कोचिङ् पढ्ने मध्ये २ जनाले मात्र SEE पास गरेछन्। पास भएकाहरुलाई विद्यालयले फेयरवेल दिन बोलाउनुभयो। म पनि फेयरवेल कार्यक्रममा गएँ। विद्यालयका ९७ जनामध्ये ९६ जनाले ट्युशन पढेका थिए, तर SEE मा ६७ जनाले मात्र पास गरेका रहेछन्। बाँकी सबै जना फेल रहेछन्। जब विद्यार्थीहरुलाई फूलको गुच्छा, रातो टिका र खत लगाएर सम्मान गरियो, त्यसपछि प्रिन्सिपलले मेरो उदाहरण लिएर भाषण गर्नुभएको थियो। त्यो आज पनि मेरो स्मरणमा ताजा सम्झना भएर बसेको छ।
र म—मैले पनि मेरो कथा रचेकी छु। मैले आफ्नै तरिकाले संघर्ष गरें, आफ्नो निर्णयमा अडिग रहें र सफल भएँ। इतिहास सधैं मात्र शक्तिशालीको होइन; कहिलेकाहीँ, साहसी निर्णय गर्ने व्यक्तिहरूले पनि आफ्नो इतिहास रच्दछन्।
