संघर्ष र पुनर्जागरणको कथा

सिता राई (परिवर्तित नाम)

दैलेखको पहाडी गाउँमा जन्मिएकी सिता राईको जीवन कहिल्यै साधारण थिएन। उनी एक गरिब परिवारमा हुर्किएकी थिइन्, जहाँ दैनिक जीवन कठिनाइ र संघर्षले भरिएको थियो। परिवारमा पाँच सदस्य—बुबा, आमा, दाइ र हजुरआमासँगको जीवनमा सिता बाल्यकालमै माया भन्दा बढी विभेद र हिंसा अनुभव गर्न बाध्य थिइन्।
सिता जन्मिन् भनेर घरमा खुशी भन्दा बढी निराशा छाएको थियो। छोरी जन्मिएकोमा हजुरआमा र काकीले खुल्लै तिरछो नजरले हेर्दै गाली गर्थे—
“छोरी जन्माएर के फाइदा!”
यी शब्दहरूले सिताको बाल्यकाल मानसिक रूपमा असर पार्यो।
महिनावारी सुरु भएपछि उनको जीवन झन् कष्टकर बन्यो। परिवारमा छाउपडी कडाइका साथ मानिन्थ्यो। महिनावारीको समयमा सिता, उनकी आमा र दिदीलाई घरबाट टाढाको एकान्त छाउगोठमा बस्न बाध्य पारिन्थ्यो। जाडो, अँध्यारो, डर र एक्लोपन—यी दिनहरू उनका लागि अत्यन्त पीडादायी थिए। घरमा बोल्दा गल्ती नगरीकनै बाङ्गो आँखा हेर्ने, गाली गर्ने, र आमालाई दिइने अपमान—सिता कहिल्यै सुरक्षित महसुस गर्न सकेनन्।
एकदिन आमा दाउरा लिन गइन्। त्यतिबेला सिता सुतिरहेकी थिइन्। हजुरआमा र काकीले कोठामा आगो लगाइदिए। आगोबाट उनका हात निकै जले। आमालाई स्पष्ट थाहा थियो—हजुरआमा र काकीले नै आगो लगाएका थिए।
त्यति बेला उनका बुबा पनि गाउँ फर्किए। बुबा फर्किएसँगै हिंसा झन् बढ्यो। हजुरआमा र काकीको अत्याचारमा अब बुबाको गाली र पिटाइ पनि थपियो। बुबाले आमालाई सधैं कुट्ने, गाली गर्ने, हप्काउने मात्र होइन, हरेक झगडामा “यो घर छोडेर जा” भनी धकेल्थे। घर, जुन सुरक्षित ठाउँ हुनु पर्ने, सिताका लागि पीडा, डर र आँशुले भरिएको कारागार जस्तो बनिसकेको थियो।
यसबाहेक, घरको कठिन वातावरणले सिता पढ्न खोज्दा पनि चुनौती थप्थ्यो। उनले गाउँमै कक्षा ८ सम्म पढिन्। सिता विद्यालय जाँदा निकै कठिनाइ भोग्थिन्। विद्यालय जानु मात्र उनको लागि सजिलो थिएन। साथीहरूले प्रायः उनलाई हातमा के भएको सोध्थे। केहीले हाँस्दै जिज्ञासा राख्थे, केहीले झर्को दिन्थे, र केही साथीहरू उनलाई नजिक आउन डराउँथे।
बिहान विद्यालय, बेलुका घरको काम, राति टुकीको उज्यालोमा पढाइ—यस्तै उनको दिनचर्या थियो। पढाइलाई निरन्तरता दिन उनी कक्षा ९ मा सुर्खेत सरिन्।
सहरमा पढाइको अवसर देखिए तापनि स्वतन्त्र जीवनका लागि उनलाई काम गर्न पनि पर्यो। पहिलो काम कपडा पसलमा पाइन्, तर मालिकले तलब दिएनन्। दैनिक १०–१२ घण्टा काम, तर हातमा केही आएन। त्यसपछि उनले दोहोरीमा काम पाइन्, तर त्यहाँ अपमान, असुरक्षा र गलत टिप्पणीबाट उनी लगातार पीडित भइन्।
पढाइमा असर देखिँदा उनकी शिक्षिकाले उनलाई सोधिन्—“के भयो, सिता?” त्यसपछि सिताले आफ्नो सबै पीडा शिक्षिकासँग बाँडिन्। शिक्षिकाले उनलाई सहयोग गरिन्—बस्ने ठाउँ र पढाइको अवसर सुनिश्चित गरिन्।
सिता मिसको घरमा बस्दा पहिलोपटक उनलाई कुनै कमी महसुस भएन। मिसले उनलाई छोरीजस्तो माया गर्नुहुन्थ्यो। दुबै मिलेर सपना बुने—राम्रो पढ्ने, ठूलो बन्ने, स्वतन्त्र र सुरक्षित जीवन पाउने। मिसले उनलाई विश्वास र सम्मानको अनुभव गराइन्।
तर सुखले उनको साथ छोडिदियो। मिसको निधनले सितालाई भित्रैदेखि टुटाइदियो। उनको जीवनको उज्यालो, आधार एकैपटक हरायो। यस्तो लाग्यो—संसार नै अन्धकारमा परिणत भयो। अब उनलाई माया गर्ने, पीडा बुझ्ने कोही छैन जस्तो अनुभव भयो।
सिता फेरि असुरक्षित भइन्। आर्थिक अवस्था कमजोर भयो, र सुर्खेतमा टिक्न नसकी उनी काम छोडिन्। विकल्प नभएपछि सिता दैलेख फर्किइन् र एक वर्ष दिदीसँग बसिन्। तर गाउँमा रोजगारी र भविष्य दुवै सीमित थियो।
दिदीले उनलाई सुझाव दिइन्—“काठमाडौं जाऊ, त्यहाँ केही अवसर मिल्ला। यहाँ बस्ने हो भने जीवन सुधारिँदैन।”
सिता सपनासहित फेरि काठमाडौं आइपुगिन्। विभिन्न पसल र काममा अवसर खोजिन्, तर कतै सुरक्षित र मनग्गे वातावरण पाइएन। जीवन खर्च बढ्यो, आय थोरै रह्यो, तनाव बढ्दै गयो। पढाइ सुरु गर्न नसक्दा मानसिक रूपमा कमजोर भइन्।
अन्ततः, दिदीले संस्थामा सहयोग खोज्ने सल्लाह दिइन्। सिता ‘छोरी’ संस्थामा पुगिन्। त्यहाँ उनलाई पहिलोपटक:
• सुरक्षित वातावरण
• सम्मान
• भावनात्मक समर्थन
• पढाइ जारी राख्ने अवसर
• आत्मनिर्भर बन्ने सीप
यस्तो अनुभव प्राप्त भयो।
आज सिता फेरि उठ्न थालिसकेकी छिन्। उनी भविष्यको आशा र विश्वास बोकेर अघि बढ्दैछिन्। संघर्ष र पीडाले उनलाई तोकेको छैन; अब उनले आफ्नो जीवन आफैं रच्ने निर्णय लिएकी छिन्।

Scroll to Top