आमाको साथ बिना छट्पटीएकी म

मिरा दाहाल

“अरुले दिएको करौडौ मायालाई पखाली दिगो राख्न सक्ने माया भनेको नै आमाको माया हो ।”

होस्टलको काउन्सेलिङ्ग कोठामा आमा, म र होस्टलका म्यामहरु बसेर कुराकानी गर्दै थियौं, मेरो आमालाई लक्षित गर्दै “अरुले दिएको करौडौ मायालाई पखाली, दिगो राख्न सक्ने माया भनेको नै आमाको माया हो” म्यामको मुखबाट यस्तो गरुंगो वाक्य निस्कीयो । यो वाक्य मेरी आमाको मनभित्र कति पस्यो थाहा थिएन तर म भने एकछिन टक्क रोकिए, मेरो दिमाग खाली भयो ।
केहिबेर टोलाएपछि मनमनै सोचें–
हो नी त है, म होस्टल बसेको पनि ३ वर्षजति भयो । होस्टलमा सबैको माया पाएपनि मनको एउटा कुनामा आमाबुबाको माया भने खड्कीरहन्थ्यो । स्कुल जाँदा मेरै साथीहरुको कहिले आमा त कहिले बुबा पुर्याउन लिन आउनुहुन्थ्यो । यो देखिरहदा धेरैपटक सोच्थे ! यदि मेरी आमा पनि स्कुलको गेटसम्म पुर्याउन आएर बाई छोरी, राम्रोसंग पढ् है भनेका सुन्न पाएको भए मेरो पढाईमा कति ध्यान जान्थ्यो होला ? बेलुका छुट्टीको घण्टीसंगै बुबा गेटमा मेरो प्रतिक्षा गर्दै मलाई देख्नेबित्तिकै आँखाको इसाराले नै माया झल्किएको देख्न पाए कस्तो हुन्थ्यो ! मनभित्र एकपछि अर्को मैले महसुस गर्न नसकेको सम्बन्धहरु लर्को नै लाग्नथाल्यो, म कता हराइरहेको थिए, हाम्रो कुराकानीको क्रम अघि बढ्दै थियो, मेरो आमाले भन्नुभयो, म्याम मेरो अर्को छोरी पनि यहि होस्टलमा राख्न पाए हुन्थ्यो, के छ तपाईहरुको व्यवस्था, कति खर्च लाग्ने हो ?
म झनै छक्क परे, आमालाई किन होला हामी दिदीबहिनी यति सारो बोझ भएको । म भन्दा ४ वर्षले सानी एउटा बहिनी थिई । थोरै समय बहिनीसंग बिताएको थिए । हामी दिदीबहिनी र आमा एउटा कोठामा बालाजुतिर बस्थ्यौं । कोठा एउटा नै भएपनि हाम्रो जिवनको सम्पूर्ण खुसीहरु त्यहि कोठाभित्र कैद भएका थिए । बहिनी म भन्दा अलि फरक स्वभावकी थिई, कुरा बुझ्ने खालकी, आमाले माया गरेको या गाली गरेको कुरा उसले आमाको अनुहारबाट बुझ्थी र त्यहि अनुरुप आमासंग व्यवहार गर्थी, तर म भने फरक थिए, सोझी कुरै नबुझ्ने, आमाले जे भनेपनि मान्ने स्वभावकी थिए ।
मलाई सानैदेखि घरको शान्ति कहिल्यै सम्झना छैन । बुबा र आमाबीचको सम्बन्ध कहिल्यै सहज थिएन । झगडा, लडाई, आरोप—यी सबै मेरो बाल्यकालका सामान्य दृश्य थिए । एक दिन, त्यो सबै झन् चर्कियो र बुबा हामीलाई छोडेर जानुभयो । त्यो दिनपछि हाम्रो घरको ढोका, मन सबै बन्द भए । बुबा गएपछि आमा फेरिनुभयो । उहाँको आँखा सधैं थकित देखिन्थ्यो । आवाज चर्को हुन्थ्यो र व्यवहार कडा । हामी गाउँ छोडेर शहर आयौँ । मलाई लाग्थ्यो शहरले केही नयाँ खुशी ल्याउँछ, तर शहरले हामीलाई झन् टाढा बनायो । आमा र हामी दुई दिदीबहिनीलाई । आमाले मलाई भुलाउनको लागि मोबाइल दिनुहन्थ्यो, म धैरै मोबाइल हेर्थेँ ।
आमाले मलाई होस्टल राख्ने निर्णयले म दुःखि थिएँ तर मेरो इच्छा विपरित मलाई आमाले होस्टल राखिदिनुभयो । उहाँको भनाइ थियो—“तिम्रो भविष्यका लागि ।” तर मैले त्यो भविष्य कहिल्यै देखिन, आभाष गर्न पाइनँ । मैले त केवल वर्तमानमा छुट्टिएको घर देख्थेँ । होस्टलको कोठामा बस्दा, म प्रायः झ्याल बाहिर हेर्थें र सोच्थें—“किन म यहाँ छु ? के हाम्रो बस्ने घर नै छैन त ? के म आफ्नो आमाको लागी साँच्चै बोझ हुँ त ?”
हुनत म दिदी हुँ, तर सबैले भन्थे—“यो त बहिनी भन्दा लाटी छ ।” मलाई थाहा छैन त्यो लाटोपन हो कि दुःखले दिएको परिपक्वता । म सधैं शान्त रहन्थेँ । म भित्रभित्रै जलिरहन्थें । आमा हामीलाई समय दिन सक्नुहुन्नथ्यो । उहाँ बिहानदेखि बेलुकासम्म काममा दौडिनुहुन्थ्यो, अनि बेलुका फर्केर थाकेको शरीरसँगै रिस पनि ल्याउनुहुन्थ्यो ।
कहिलेकाहीँ उहाँ रक्सी खाएर आउनुहुन्थ्यो । त्यो बेला उहाँलाई चिनिनै गाह्रो हुन्थ्यो । म भने आमालाई दिनभरिको कुराहरु सुनाउन आतुर हुन्थेँ, ताकि मेरो हँसिलो अनुहार देखेर आमाको आदि दुःख मलाई सरोस् तर त्यस्तो कहाँ हुन्थ्यो र ? कोठामा आउने बित्तिकै उहाँको आवाज झन् चर्को हुन्थ्यो, व्यवहार झन् कठोर । हामीले खाना खायौँ कि खाएनौँ—उहाँलाई मतलब हुँदैनथ्यो । म धेरैपटक भोकै सुतें तर त्यो भोक भन्दा ठूलो पीडा थियो—आमाको मायाको अभाव ।
हाम्रो लागि आमा के काम गर्नुहुन्छ भन्ने पनि रहस्य थियो । तर हामीले सोध्ने आँट कहिल्यै गरेनौँ । सायद डरले हो या दूरीले ।
तर हाम्रो कथा भनोँ वा अवस्था भनोँ जे भनेपनि यतिमै सीमित थिएन । समाज हामीसँग थिएन । छिमेकीहरूका आँखामा हामी कहिल्यै सामान्य थिएनौँ । “त्यो घरको छोरीहरू…” भन्ने फुसफुसाहट सधैं कानमा गुन्जिन्थ्यो । सायद मेरो आमालाई अरुले राम्रोसंग चिनेका थिए होलान तर हामिले आफ्नो आमालाई कहिल्यै चिन्न सकेनौँ । हामी गल्ली हुँदै आफ्नो गन्तव्यतिर हिँड्दा केही केटा मान्छेहरूको हाउभाउले, ईशाराले, सिट्ठी वा आँखाको नजरले असहज बनाउँथ्यो । अरु त के कुरागरौं म कोठामा एक्लै बसिरहँदा आमाले काम गर्ने ठाउँको व्यक्तीहरु कोठामा आई मलाई असहज बनाउथ्यो । कहिले मायाको लोभ देखाउथे भने कहिले सिधैँ मेरो शरिर छुनको लागि तम्तयार हुन्थेँ । समाजको नजरमा हामी व्यक्ति थिएनौँ, केवल एउटा वस्तु थियौँ ।
मलाई धेरैपटक लाग्थ्यो—बुबाआमाको सम्बन्ध विग्रिएपछि छोराछोरीको जिम्मेवारी केवल आमाको मात्र हो त ? बुबाको केहि जिम्मेवारी हुदैन? “किन समाज वा कसैले बुबालाई केहि भन्दैन, किन छोराछोरीको भार एउटी महिलालाई मात्र थम्याईदिन्छ ? नत कुनै सिप, नत कुनै पढाई केवल जिम्मेवारीको भारी बोकेर यो समाजमा हिन्दा सघर्षको पाइलाहरु कसैको आखाले देख्दैन तर तिनै छोराछोरी हुर्काउन, लालनपालन गर्न दिनरात नभनी काममा दौडेकी महिलाको कहा गै ? कति खेर आई ? को संग गै जस्ता अनेकथरी प्रश्नहरु यो समाजका प्रत्येक मानिसको चासोको विषय थियो । आमाले नखाएको विषपनि हामीलाई लाग्थ्यो । आमा कोहिसंग बोल्नुहुदैनथ्यो । तर उहाँको मौनताले हामीलाई पीडा दिन्थ्यो, झनै असुरक्षित बनाउथ्यो ।
होस्टलको जीवनले मलाई झन् परिवर्तन गर्यो । सुरुमा म राम्ररी पढ्न खोज्थें, तर बिस्तारै ध्यान हराउन थाल्यो । म कोठामा बस्दा मोबाइल धेरै चलाउथँे, मलाई थाहा थियो मोबाइल धेरै चलाउन हुन्न भनेर तर म के गर्ने ? आमाले मेरो साथी नै मोबाइल बनाइदिनु भएको थियो । मोबाइल चलाउन थालेपछि म मोबाइलको लतमा फसेँ । मैले खोजेको माया थियो, आमाको माया नपाएपछि मैले फेसबुक मेसेन्जर मा केटाहरु संग कुरा गर्न थालेँ । मलाई मेसेन्जरको साथी नै प्यारो हुन थाल्यो । म पढ्नको लागि स्कुल जान्थेँ, तर कक्षामा बसेर पनि मेरो मन कतै हराइरहन्थ्यो—घरको सम्झना, मोबाइलको याद, आमाको व्यवहार, समाजको नजर, अनि आफ्नै अस्तित्वको प्रश्नहरू ।
म रिसाउन थालेँ । सानो कुरा पनि ठूलो लाग्थ्यो । म्यामहरूले भनेको मन परेन भने म चुप लाग्दिनथेँ । “किन मान्नुपर्छ ?” भन्ने प्रश्न सधैं मेरो दिमागमा घुम्थ्यो । बिस्तारै म सबैसँग टाढा हुँदै गएँ—शिक्षक, आमा, साथी, सबैसँग ।
मेरो साथीहरु पनि त्यस्तै थिए—भित्रभित्रै टुटेका, बाहिरबाट कडा देखिने । हामी एकअर्काको पीडा बुझ्थ्यौँ, तर समाधान खोज्दैनथ्यौँ । हामीले गलत बाटो रोज्यौँ—धुम्रपान, मद्यपान । त्यो धुवाँ र रक्सीमा हामीले आफ्नो दुःख हराउने कोसिस गर्यौँ, तर त्यो झन् गहिरो हुँदै गयो ।
जब साथीहरू घर जान्थे, मलाई पनि जान मन लाग्थ्यो । तर मेरो लागि घर कुनै आरामको ठाउँ थिएन । म घर जान मन लागेर जादिनथेँ, म त केवल साथीहरु घर गयो म मात्र बस्न नसक्ने, मोबाइल धेरै चलाउन मन लागेर जान्थेँ । घर गएर म साथीहरुसंग घुम्न जान्थेँ, मेसेन्जरको साथीसँग निकै कुराकानी गर्थेँ अनि होस्टलको साथीहरुँग एकै दिन होस्टल फर्किन्थ्यौँ । घर मेरो लागि केवल झगडा र टाढापन थियो भने घरमा भएको मोबाइल मेरो समय बिताउनको लागि साथी । होस्टलबाट फोन गरेर छिट्टै आउनुपर्ने खबर सुन्दा म दुःखि हुन्थेँ । जे गरेपनि म होस्टलमै बस्न बाध्य थिएँ—मन नलागे पनि ।
आमाले मलाई होस्टल राख्नुभएको निर्णयले मलाई टाढा मात्र बनाउथ्यो । म आमासँग झन् रिसाउन थालेँ । “किन हामीलाई यस्तो जीवन दिनुभयो ?” भन्ने प्रश्न मेरो मनमा सधैं उठ्थ्यो । तर मुखले भन्ने सक्दिनथेँ ।
म धेरै परिवर्तन भएँ । पहिलेको म—हँसिलो, जिज्ञासु—कहिल्यै फर्किएन । अहिलेको म—रिसाउने, कसैको कुरा नसुन्ने, धरै मोबाइल चलाउन मन लाग्ने, आफ्नै संसारमा हराउने ।
कहिलेकाहीँ राति सुत्न नसक्दा म आफैँसँग कुरा गर्छु । “के म गलत छु?” “के म यस्तो हुनुपर्ने थियो?” उत्तर कहिल्यै स्पष्ट हुँदैन । मेरो यस्तो हर्कत देखेर म्याम हरुले मलाई अलगै बोलाउनभयो । उहाँहरुले केही भन्नुभएन, केवल सोध्नुहन्थ्यो—“तिमी ठीक छौ ?”
त्यो सानो प्रश्नले मलाई हल्लायो । कसैले मलाई त्यसरी कहिल्यै सोधेको थिएन । म चुप लागें, प्रश्नको उत्तर नदिएर छत तिर गई तर आँखाबाट आँसु बग्न थाले ।
त्यो दिनपछि मैले पहिलोपटक सोचें—सायद म पूर्ण रूपमा हराइसकेको छैन । सायद अझै केही बाँकी छ ।
म अझै पनि संघर्ष गर्दैछु । म अझै रिसाउँछु, गल्ती गर्छु, तर म अब आफूलाई बुझ्ने प्रयास गर्दैछु । म आफ्नो कथा बदल्न चाहन्छु ।
समाजले जे भने पनि, केटाहरूको नजरले जति असहज बनाए पनि, बुबाको बेवास्ताले जति चोट दिए पनि—म अझै उभिएकी छु ।
म बोझ होइन । म केवल एउटा छोरी हुँ—माया खोज्ने, समझदारी चाहने, र एकदिन आफूलाई पुनः भेट्ने आशामा बाँचिरहेकी छु ।
यो मेरो कथा हो—अधुरो, तर अझै आफुले आफैँलाई बुज्ने प्रयास गर्दै छु ।
म टुटिरहेको होइन, म अझ बलियो बन्नका लागि मोडिँदै छु । अन्त्य जस्तो देखिने कुराको नयाँ सुरुवात हुन्छ । म आँधीबेहरी बोकेर पनि शान्त रूपमा अघि बढ्छु । दबाबले मलाई नष्ट गर्दैन, बरु मलाई को हुँ भनेर देखाउँछ ।

Scroll to Top