विपत्तिलाई अवसरमा बदल्ने अनिसाको कथा

 अनिसा तामाङ्

असोज ११ गते । लगातार तीन दिनसम्म झरी परिरहेको थियो। बाढी र पहिरोको जोखिमबारे सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन आदिमा आएको र सुनिएको समाचारले सबैलाई त्रास बनाइरहेको थियो । हाम्रो घर पनि डुक्कुछापको खहरे खोलाको डिलैमा थियो । तल २ कोठा र माथि एउटा कोठा गरेर जम्मा ३ वटा कोठाको थियो । घर, आँगन र खोला एकअर्कासंग जोडिएको थियो । त्यहि डुक्कुछापको खहरे खोलामा खेल्थ्यौं । आफ्नो साथीजस्तो भएको थियो यो खोला । तर जब ३ दिनदेखि नरोकिकन पानी परिरह्यौ त्यसपछि यहि साथी दुश्मन जस्तो भयो । रातभरको वर्षाले म निदाउन सकिनँ । खोला किनारमा बस्ने हामी सबैलाई बाढीको त्रासले सताउदै गयो ।

खोलाले बगाएर ल्याएको ठुल्ठुला ढुंगाको आवाजले मेरो निन्द्र बिचैमा खुल्यो । मैले आँखा मिच्दै सिरानी मुनी भएको मोबाइल हेर्दा रातिको १२ बजे र ५ मिनेट गएको रहेछ । झ्याल खोलेर बाहिर तिर हेरे तर मेले केहि देखिन । बाहिर अन्धकार छाएको थियो । बिजुली गएको कारण चारैतिर मसानघाट जस्तो डरलाग्दो देखिएको थियो । हाम्रो घरनजिकै अरु ठुलीआमाको घरबाहेक अरु कसैको घरहरु थिएन ।

म १७ वर्षकी मात्र थिए, सानो कुराले पनि धेरै डराउने त्यसमा त आफ्नै आँखा अगाडी बाढीले सबै नासिदै छ । यो झरीले हाम्रो सामान्य जीवनलाई तहसनहस गरिदिने सङ्केत देखाइसकेको छ । ३६ घण्टादेखि नरोकिकन परिरहेको पानीले घरको जग हल्लीन थालिसक्यो थियो । केहि बेरमै आफ्नै आखा अगाडि हेर्दा हेर्दै हाम्रो बाख्राको गोठ बगायो ।

अविरल वर्षापछि, मध्यरातको १ बजे पानीको ठूलो गर्जन सुनियो । फेरी आफ्नो ओछ्यानबाट जुरुक्क उठेर भ्याल खोलेर हेरे, खोला सतह उफ्रिँदै हाम्रो घरतर्फ आउँदै थियो । “आमा, पानी बढ्यो!” म चिच्याएँ । पानीको गर्जन, झुप्रोको टिनको छानोमा पर्ने पानीका ठूला थोपा, अनि हाम्रो घंगै जोडिएको ठुलीआमाकी सुत्केरी बुहारी यानीकी मेरी प्यारी भाउजुको करुण आवाजले वातावरण भयावह बनायो । मेरो भाउजु दुई हप्ताअघि मात्र आमा बनेकी थिइन् । उनकी तीन वर्षकी छोरी मेरो काखमा निदाइरहेकी थिइन् । “बहिनी, छोरालाई बचाउनुछ । पानीले बगाउँछ कि जस्तो छ,” भाउजुको शब्दले मेरो मनलाई चिरा पार्यो । म एकातिर बच्चालाई च्याप्दै, अर्कोतिर बहिनीलाई काखमा समाउन संघर्ष गरिरहेकी थिएँ ।

एक्कासी मेरी आमाले आत्तीएर “अनिसा” भनेको रुन्चे आवाज मेरो कानमा ठोकियो । परिवार सबै डरले आत्तिएका थिए । आमाको त्यो चिट्चिहाटले मेरो मन चिसो भयो । हजुर भन्दै सानी बहिनीलाई च्यापेर आमाभएको ठाउँतिर दौडिए । आमा रुदै विलौना गर्दै हुनुहुन्थ्यो “हे भगवान यो के भयो ?” मेरो मुटुले ठाउँ छोड्यो । मेरो आँखाबाट आसु झर्न थाल्यो । खोलाको छाल आँगनदेखि ढोकामा आइसकेको रहेछ । हामीहरु कता जाम कता भयो । पानी रोकिने कुनै छाटकाट नै थिएन । पानीको छाल झनझन माथि आइसकेको थियो । भाग्न घरको मेन ढोका उर्घादा पानीलाई बाटो बनाएको जस्तो भयो । हामी बाहिर निस्कीनु र पानी भित्र छिर्नु एक्कैपटक भयो । हामी हतारहतार घरपछाडी भाग्यौं । त्यतिकैमा गल्याङ्गगुल्लुङ्ग केहि झरेको ठुलो आवाज आयो । पछाडी फर्केर हेर्दा हाम्रै घरको आधिभाग नै खोलाले लग्यो । म स्तब्ध भए । के गर्ने के नगर्ने, कही सोच्न सकिरहेकी थिइन । मेरो मुटुले ठाउँ छोड्यो । जसरी पानी परीरहेको छ त्यसरी नै मेरो आँखाबाट आसु झरिरहेको थियो । पानी नरोकिएकोले गर्दा केहि गर्न सक्ने अवस्था थिएन । मनमा डर त्रास लिएर, जिन्दगीको अन्तिम श्वास यहि हो कि जस्तो लाग्यो । पानी रोकिने आशमा सबैजना एक्कैठाउँमा बस्यौं ।

बिहानपखको ३ बजे बल्ल पानी पर्न कम भयो । त्यतिकैमा हाम्रो घरदेखि माथि हाम्रो काकोको घर थियो । काकाको घरनजिकै खोला थिएन तर ठुल्ठुला रुखहरु थियो । तर यहि वर्षाको कारण ति सबै रुखहरु ढले । बाटो सबै बन्द भयो । वस्तीबाट गाउँलेहरु तल हाम्रो घर भएको ठाँउ वरिपरी जम्मा भए । केहि गाउँलेहरु खोला तरेर हामीलाई सुरक्षित स्थानमा लगे । 

बाबाले हातैले बचेको जिन्सी सामान टिप्नुभयो । तर घरमा रहेको अन्नपात केहि पनि बचाउन सकेनौं सबै खोलाले बगायो । मैले यि सब देखिरहदाा, भोगिरहदा आफ्नो भविष्य कोर्ने किताबापी पनि सबै संगै च्यापे भने अरु सबै आफ्नै आँखा अगाडि हामी रित्तो भयौं । 

म कक्षा १२ मा पढ्दै थिए, परिक्षा नजिक आउदै थियो । यो वर्ष फेरी मेरो पढाई राम्रो भएको थियो । तर यहि बाढीको कारणले गर्दा मेरो परिक्षा पनि छुट्यो । ४ वटा विषयको जाँच पनि दिन पाइन् । कलेज जाने सबे बाटोहरु बन्द थियो । गाडी पनि चलेको थिएन । साह्रै दुख लाग्यो । १ वर्ष कुर्नुपर्यो ।

भोलीपल्ट उज्यालो भएपछि सबैजना सुरक्षाको लागि खोलादेखि अलि माथि एउटा सरकारी स्कुलमा गयौं । त्यहाँ मेरो आमा, बुबा, हजुरआमा, भाई सबै संगै थियौं । के खाने, के गर्ने केहि थाहा थिएन । त्यसमा पनि भाउजुको अनुहार हेर्दा मेरो आँसु रोकिएन । उनले बोलेकी थिइनन्, तर उनको पीडा स्पष्ट थियो । बच्चा रोइरहेको थियो । भोक र चिसोको कारण सुत्केरी अवस्थाकी भाउजुका लागिे पीडा झनै गाहे थियो ।

त्यो स्कुलमा एक रात बिताउँदा बच्चाको स्वास्थ्य बिग्रँदै गएको थियो । अर्कोदिन सरकारी तथा गैरसरकारी संस्थाहले राहत लिएर आउनुभयो । केहि दिनको लागि पुग्न दाल चामल देखि लिएर तेल, नुन मरमसला सबै पायौं । मैले हाम्रो लागि भन्दा पनि बिरामी भएको सानो भाईको लागि औषधीको व्यवस्था गरिदिनुन भनेर अनुरोध गरेपछि संस्थाको म्यामहरुले भाउजु र बच्चाका लागि केही औषधि दिए । भाउजुको दुःख र बच्चाको रोदनमा लुकेको आशा देखेकी थिएँ । ती दिनले मलाई जिम्मेवारीको अर्थ बुझायो । संकट र विपतले मानसलाई बलियो बनाउदो रहेछ ।

बाढीले हाम्रो जीवनमा ठूलो प्रभाव त पार्यो तर यसबाट कसरी बाहिर निस्कने भन्ने बाटो पनि पहिल्याइ दियो । अहिले म आफ्नो पढाईलाई निरन्तर दिदै छु, एउटा संस्थासंग पनि जोडिएकी छु  । संस्थाले नै बाढीपछि मेरो पढाईलाई सहज बनाइदिन आवश्यक सहयोग गरिदियो । यसका साथै सशक्तिकरणका विभिन्न तालिमहरु, मनोविमर्श सेवामा पनि मलाई सहभागी गराईदिनुभयो । जसले गर्दा हराईको आँट हिम्मतलाई पुन बिउझाइदिएको छ । हिजोको त्यौ नैराश्यताको जिवनबाट बाहिर निस्कीएर आफ्नो नयाँ जिन्दगी अगाडि बढाउदै छु । आफ्नो परिवारलाई पनि सहयोग गर्देछु ।

अहिले पनि त्यो रात सम्झीदा मेरो मन भारी हुन्छ । तर, म गर्व गर्छु कि म संघर्षको क्रममा हार मानिनँ ।  मेरो भाउजु अहिले स्वस्थ छिन्, बच्चा हुर्कँदैछ, र हाम्रो परिवार नयाँ घरमा बाँच्न थालेको छ । बाढीले हाम्रो जीवनलाई उथलपुथल बनाए पनि, त्यसले हाम्रो साहस, आँट र  आत्मविश्वासलाई हराउन सकेन । ती दिनहरूले मलाई सधैँ यो सिकाए—संकटले हाम्रो क्षमताको परीक्षा लिन्छ, तर आशा र प्रयासले सधैँ विजय दिलाउँछ ।

त्यो असोज १२ गतेको रात मैले एउटा कुरा बुझें—जीवन कहिल्यै रोकिन्न, जति नै ठूला विपत्ति आए पनि । हरेक समस्यासँग समाधान पनि जन्मिन्छ । बाढीले मेरो जीवनको धेरै चीज बगाए पनि, मेरो साहस, आशा, र भविष्यप्रतिको विश्वास कहिल्यै खोस्न सकेन ।

Scroll to Top