“हराएको माया, भेटिएको आशा”

बिनिशा चेपाङ

विगत ८ महिनादेखी म ललितपुरको ३ तला घरलाई मेरो सुरक्षित स्थान बनाइरहेको छु । सोच्छु झनै याद आउछ, विगत बल्झिन्छ,र मष्तिष्क उथलपुथल हुन्छ । यो सहरमा बस्ने दिन पनि घट्दै गइरहेको छ । अब फेरी त्यहि घरमा जाने दिन भने नजिकिदै छ, जुन घर ललितपुर आउनुभन्दा अगाडि मेरो लागि नर्क जस्तै थियो । घुमन्तेहरुको लागि उराठलाग्दो, दिक्क लाग्दो र अत्यासलाग्दो मेरो गाउँ कुनै समय मेरो लागि स्वर्ग सरि थियो । सानो बेलादेखी नै त्यो गाउँमा हुँर्के, मेरा उमेरका दरौली साथिहरु धेरै नै थिए । घरमा भने बुबा, आमा, दाई, दिदी, म र भाइबहिनी गरी ७ जनाको परिवार बस्थ्यौँ । बुबाआमाको पहिलो सन्तानको रुपमा छोरी जन्मेकोले बुबा धेरै रिसाउनुभएको थियो र ! तर दोस्रो सन्तानको रुपमा भने छोरो÷दाई जन्मेकोले बुबा खुसी हुनुभयो रे ! त्यसपछिको लगतैको सन्तानमा फेरी म जन्मिएँ । म भन्दा पछि भाई अनि फेरी बहिनी । जीवन सहज तरिकाले चलिरहेकै थियो, साथीहरुसँग खेल्थेँ, रमाउथेँ, खुसी हुन्थेँ र नयाँ नयाँ कुरा जान्नको लागि उत्सुक हुन्थेँ । तर सधैँ उस्तै समय कहाँ हुँदो रै छ र ती सबै पलहरु सखाप पार्नको लागि एक पल नै काफि हुँदो रहेछ । असार श्रावणको महिना थियो,गाउँ सबै हुस्सु र कुहिरोले ढाकेको हुन्थ्यो र घरहरु सबैलाई मकैले ढाकेको हुन्थ्यो । आमाबुबाले र गाउँलेहरुले भनेको सुन्थेँ,“यस्तो मकै घारी भएको समयमा एक्लै हिँड्नु हुन्न रे ! सहरतिर पुल÷सडक निर्माण गरिरहेको हुन्छ । त्यो पुलहरु बलियो बनाउनको लागि साना साना बच्चाहरु हाल्नुपर्छ रे ! त्यहि खोज्नको लागि चोरहरु गाउँ आउछन् अनि बेहोस् बनाएर झोलामा हालेर लान्छन् रे !” एकदिन आमाले मलाई पल्ल गाउँको घट्टबाट मकै पिनेर लिएर आइजो भन्नुभयो म मकै पिनेर बाटोमा एक्लै फर्किँदै थिएँ, झ्वाट्ै त्यहि करा याद आयो डरले म छिटो छिटो पाइला चालिरहेको थिएँ । तर, अचानक मेरै आँखा अगाडि एक जना नचिन्ने केटा मान्छेले गाउँको दिदीको घाँटी रेटेको देखेँ । त्यो दृश्य देखेर मेरो निधारबाट नाम्लेको पाता खसेछ, मकैको पिठोको बोरा पनि भुँइमा खसेर गाउँनै थर्किने गरि चिच्याएछु । म बेहोस भएछु भने मेरो आवाजले गर्दा त्यो मान्छे भागिसकेछ । तर मलाई चाँहि केही पनि नगरि भागेछ । मेरो आवाज सुनेर गाउँको मान्छे सबै आउनुभएछ । गाउँको मान्छे आउँदा त्यो ठाउँमा म र दिदीको लास मात्र रहेछौँ । मेरो ममीबाबा पनि आउनुभएर मलाई पानि छम्किदैँ हुनुहुदो रहेछ । म होसबाट उठेछु । उठ्दा तर म पहिलाकी जस्ती थिइनँ । मेरो अर्धदिमाग थियो । उता दिदीको लासको छेऊछाऊ बसेर मान्छेहरु रुँदै थिए, तर म भने हाँसेको हासै भएछु । म हाँसेको देखेर गाउँको मान्छेले यो त पागल भएछ भनि मलाई भनिरहेका थिए । त्यो शब्द सुनेर म रिसाएर घटनास्थलबाट उठेर पिठोको बोरा बोकेर घरमा आएछु । घरभन्दा तल खोलामा गएर एक्लै टोलाइरहेकी थिएँ घरमा आएर मलाई खोज्दा म नभेटेपछि बहिनी खोज्दै आएछ । अनि मलाई ओई भनेर बोलाएको थियो म झस्केर रिसाएर आफैँ घर आए, बहिनी मेरो पछि पछि आएछ । गाउँको दिदीको लासलाई त्यहि दिनमै जलाइएछ । पुलिस रिपोर्ट गर्न पनि कसैले आँट गरेनछन् । गरोस् पनि कसरी ? गाउँको पढेका एक दुई जना पनि सहर छिरेका थिए, त्यसैले पनि रिपोर्ट नगरी त्यत्तिकैमा त्यो घटनाले विश्राम लियो । तर म भने त्यो घटनाले धेरै नै त्रसित थिएँ । एकान्तमा रोइरहने, हासिरहने, टोलाइरहने, कसैले बोलाउदा पनि झस्किने र धेरै रिसाउने त्यो मेरो व्यवहारमा देखिन थाल्यो । बुबाआमाले मेरो यो व्यवहार केहि दिनमै ठिक होला भनेर मेरो हेरविचार गरिराख्नुभयो । म जतागएपनि मलाई हेर्नको लागि कि त ममि, कि त बाबा, कि भने बहिनी, दाई हेर्न आइरहनुहुन्थ्यो । म भने टोलाइरहेको हुँन्थेँ, कि रोइरहेको हुँन्थेँ, जो आएपनि मलाई रिस उठ्थ्यो । यति सम्म कि मलाई बोलाउन आएकाहरुलाई म हातपात गर्थेँ,जान मान्दिनथेँ, उल्टै म देखी डराउथे । म भने आफ्नै सुरमा घर जान्थेँ, खाना खाएको समयमा पनि म खाना नखाई टोलाइरहन्थेँ । मेरो यस्तो व्यवहारले गर्दा परिवार दःुखित भएका थिएँ, म देखि दिक्दार भएका थिए, यस्तै गरि १ वर्ष बित्यो । एकदिन म आफ्नै सुरमा डोको नाम्लो बोकेर घाँस काट्न गएछु, घाँस नकाटि भिरमा बसी हाँसिरहेको थिएँ रे ! ३÷४ घण्टा बितिसक्दा पनि म घर नफर्किदा बुबाआमाले बहिनीलाई लिन पठाउँदा उल्टै बहिनीलाई नै घाँस काट्ने कच्याले हानिदिएर चोट पुर्याइदिएछु । तर मलाई भने त्यो चोट पुर्याएको कुरा थाहा छैन÷याद छैन । पछि पछिको दिनमा भने म साथिको घरमा जान थाले रे ! ममि बाबा लिन आउनुहुँदा म भने उल्टै ममि बाबालाई नै पिटेर पठाउँथेँ रे ! त्यो पनि मलाई याद छैन । मेरो यस्तै यस्तै व्यवहारले गर्दा मलाई ममि बाबाले माया गर्न र हेरविचार गर्न छाड्नुभयो । पछि पछि भएपछि ममी बाबाले मलाई पिट्न थाल्नुभयो तर म पिटाई खाएर मात्र बस्दिनथेँ, म पनि बुबाआमालाई पिट्ने गर्थेँ । म र बुबाआमाबिच हानाहान हुन्थ्यो, दिदी, भाई बहिनीहरु त झनै मेरो नजिक पर्नैै छाड्यो । ममि बाबाले मलाई घृणाले हेर्न थाल्नुभयो । मलाई खाना पनि खान नदिने, धेरै कराउने, हेरविचार नगर्ने र हेप्ने गर्न थाल्नुभयो । मलाई लाग्छ, यदि मेरो दिमाग ठिक भएको भए म कसैलाई पनि कुटपिट गर्दिनथेँ, आमाबुबालाई माया गर्थेँ, सबैले भनेको मान्थेँ तर उक्त घटनाले गर्दा मलाई यो अवस्थामा पुर्याएको थियो । तर मलाई ममिबुबाले कहिल्यै माया गर्नुभएन । मेरो समस्या बुझेर उपचारतर्फ लाग्नुभएन । ममी बुबाको बचनै काफि थियो मेरो लागि “म केही गर्न सक्दिन, अभागि खप्पर लिएर जन्मेकी र म मरेमा नै परिवारको लागि भलो ÷राम्रो हुन्छ”। परिवारले पनि मलाई अपशब्द बोलेर गाली गर्ने, पिट्ने जस्ता अनैतिक क्रियाकलापले म घरमा बस्न चाहादिनथँे । मलाई त केवल आमाबुबाको माया, आफ्नो लागि शान्ति र प्रेम चाहिएको थियो । यस्तै खोजको लागि म कहिले साथिको घर, कहिले अरु गाउँ जान्थेँ । तर जहाँ गए पनि मलाई घृणा र गालि बाहेक अरु केही मिल्दैनथ्यो । मलाई सबैबाट माया र हेरचाह चाहान्थेँ तर मलाई कसैले बुज्ने कोशिस गरेनन् । हुन त आफ्नो आमाबुबाले त मलाई माया गर्दैनन् भने झन् अरुबाट त मैले मायाको आश के गर्नु । विगत २ वर्ष देखि मैले एउटै कुराको सामना गरिरहेको छु, जब म गाउँको दिदीलाई अन्जान मान्छेले घाँटि रेटेको घटनाबाट होस गुमाएँ र अहिले पनि असामान्य छु । मलाई भने परिवारबाट मौखिक दुव्र्यवहार, शारीरिक दुव्र्यवहार दुबै भएको थियो । होस गुमाउनु मेरो गल्ति थिएन, त्यो त केवल एक घटना थियो, तर पनि मेरो परिवारको लागि त्यो एक समस्या थियो । यदि समस्या छन् भने समाधानको उपाय पनि अवश्य छ । समय बित्दै जाँदा गाउँको एकजना काकीले मेरो समस्या बारे बुज्नुभयो । उहाँले पढ्ुनुभएको थियो, तर गाउँको अरु मान्छेले भने त्यति पढेका थिएनन् । उहाँले मनोसामाजिक परामर्शको लागि मलाई ललितपुर एक गैरकानुनी संस्थामा ल्याउनुभयो । त्यो पनि मलाई अझै अलि अलि याद छ । गाउँबाट ललितपुर आउने बेलामा म बसको झ्यालपट्टि बसेको थिएँ, गाउँकी काकि भने बसभरि निदाउनु भएको थियो, यो देखेर म काकीलाई हेर्दै हाँस्ने गरेकी थिएँ । बसबाट बाहिर हेर्दा कहिले ठुलाठुला घर, कहिले खोला नाला, कहिले पुल, कहिले घनाजङ्गल,कहिले गाउँ घर त कहिले सहर देख्थेँ । बसको झ्याल खोलेकोले हावाले मेरो कपाल हल्लाईरहेको थियो । बस हिडिरहेको बेला खाजा÷खाना खाने बेला ठाउँमा रोकियो, त्यहाँ काकीले मलाई खाना खुवाउन लैजानुभयो । म पनि काकीको पछि पछि लागेँ अनि खाना खानको लागि हात धोएर टेवलमा बस्दा मेरो आँखा एक्कासी रोडमा उभिएको ५ जनाको समुहमा पर्यो । त्यो समुहमा १ जना पुरुष÷बुबा, एकजना महिला÷आमा, र २ छोरी र एक छोरा थियो । बुबाले छोरोलाई काँधमा बोकेर एउटा छोरीलाई चाँहि हातले समाएको थियो भने आमाले अर्को छोरीलाई हातमा समाएर रोड क्रसिङ्ग गर्न लागेको थियो । त्यो देखेर मेरो आँखामा अप्रत्याशित आँसु आएको थियो । मलाई लाग्यो मलाई पनि मेरो बुबाआमाले यसरी नै माया गरेको भए । म खाना नखाई बसमा आएर बसेँ तर अर्कैको सिटमा आएर बसेछु । काकीले खाना प्याकिङ्ग गरेर बसभित्रै ल्याइदिनुभएछ । म भने अर्कै सिटमा बसेको रहेछ भने अर्काे सिट खालि नै रहेछ, त्यहि सिटमै म बसेछु । काकीले त्यो मान्छेलाई मेरो समस्या बताउनुभएर मलाई त्यहि केटामान्छेको सिटमै बसाउनुभयो । म बाहिर हेरेर आफ्नै धुनमा÷गतिमा सिटमा बसेको थिएँ, त्यो केटा मान्छे मेरो नजिक नजिक सर्दै हात मेरो ढाडतिर÷कुमतिर लान थाल्यो । मलाई असहज अनुभव भयो र मलाई एकदमै रिस उठ्यो । म केहि नबोली बसेको ठाउँबाट जुरुक्क उठेँ, र त्यो व्यक्त्तिको मुखमा थुकिदिएँ । बसमा हल्लिखल्लि भयो काकीले त्यो केटालाई सोध्नुभयो के गर्याे नानीले । त्यो केटाले भन्यो मैले केहि गरिनँ, माया लागेर मैले सुन्तला खाउ भनेर दिएको थिएँ यत्तिकैमा मेरो मुखमा थुकिदियो । कुरा अर्कै थियो म दोहोरो कुराकानी गर्न मन नलाग्ने भएर म केही बोलिनँ। काकीले मलाई मेरै सिटमा लगेर राखिदिनुभयो। त्यो केटाले रुमालले आफ्नो मुख पुछ्दै “कस्तो पागल केटी होला” भन्दै अपशब्द प्रहार गर्यो। मलाई त झन् “पागल” शब्दले नै पागल बनाएको थियो। त्यसरी नै हामी ललितपुर संस्थामा आइपुगेका छौँ। मेरो लागि त्यो ठाउ नयाँ थियो। मलाई एकान्तमा एक्लै राखेर म्यामहरू कुरा गर्नुहुन्थ्यो तर मेरो भने ध्यान उतै नै हुन्थ्यो। यसैगरी मलाई यहाँ आमा–बुबाले झैँ माया गरिदिनुभयो। मैले साँच्चै नै आफ्नै आमा–बुबाजस्तो माया प्राप्त गर्न सकेँ। साहस, हिम्मत, आँट—सबै मैले अनुभव गर्न पाएँ। मलाई एक्लै राखेर म्यामहरूले कुरा गर्दा मलाई “के गरिरहेको होला?” जस्तो लाग्थ्यो।जब म अलिकति स्वास्थ्य ठीक हुँदै आएको थियो, मैले बुझें कि मलाई एक्लै राखेर कुरा गर्दा त्यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको थियो। संस्था आएपछि मैले दैनिक रूपमा परिवर्तन महसुस गर्न थालेँ। म काम गर्थें, तर कहिलेकाहीँ त्यो घटना सम्झिँदा नराम्रो सोच पनि आउँथ्यो।सुरुमा संस्था आएपछि म कसैसँग पनि बोल्दिनथेँ। तर केही दिन बित्दै जाँदा म सबैसँग राम्ररी बोल्न थालेँ, सबैसँग घुलमिल हुन सिकेँ। आवश्यक परेको बेला म आफैंले काउन्सेलिङमा बस्नका लागि आग्रह गर्न पनि थालेँ। संस्थाको आफ्नै नीति–नियम भएकाले सेवाग्राहीहरू ७–८ महिनासम्म आवासगृहमा बस्न पाउँछन्, र पढाइ गर्नेहरूलाई पढाइ नसकिएसम्म बस्ने व्यवस्था हुन्छ। म भने पढाइमा संलग्न थिइनँ, र अब संस्थाको आवासगृहबाट बाहिर निस्कने समय नजिकिँदै छ। आज मलाई जीवनमा केही गर्न सक्छु भन्ने आत्मविश्वास छ। परिवारसँगको सम्बन्ध पनि अहिले राम्रो भइसकेको छ। तर दिदीको घटनाले ममाथि शारीरिक, मानसिक र भावनात्मक असर परेको छ। मैले धेरै पटक आत्महत्या गर्ने प्रयास पनि गरेकी थिएँ। अहिले पनि कहिलेकाहीँ रिस उठ्ने, झर्को लाग्ने, आफूले पनि त्यस्तै केही गरिहाल्छु कि भन्ने डर लाग्ने, खाना र निद्रामा असन्तुलन हुने समस्या आइरहन्छ। तर पनि म आफ्ना सपना, इच्छा र आफू एक संवेदनशील छोरी हुँ भन्ने सोचेर ती डर, त्रास र चिन्तालाई आफैं व्यवस्थापन गर्ने प्रयास गरिरहेकी छु।

Scroll to Top