नारी दिवसको अवसरमा

हिरा दाहाल – छोरी
मार्च ८, नारी दिवस — हामी सबैको उत्सव दिन।
मन मेरो चस्काउँदै, उनी मात्र आउँछिन्।
१४ वर्षीया मीनु, एक्लै बस्छिन् खोला बस्तीमा,
प्रत्येक क्षण असुरक्षित, निद्रा छैन रातमा।
आमा दुवै कामको खोजीमा, उनलाई पाल्ने रहरमा,
बुवा अर्कै बिहे गरी बस्न थाले शहरमा।
टोलाएका उनका आँखा, थुप्रै कुरा बोल्दछन्,
सक्दिनन् उनी भन्न — “मलाई चाहियो संरक्षण।”
स्कूलकी उनकी साथी, नाम उनको प्रतिमा,
मीनुजस्ती एक्लै छैन, बुवा-आमा घरमै ।
आमा जान्छिन् दिनभरि दैनिक ज्याला गर्न लाई,
मौका छोपी आफ्नै बाउले भ्याउँछ रेप गर्न लाई ।
बाउलाई जेलमा खोंचे मात्र खुशी हुन्छ उनको मन,
इज्जत जान्छ, अन्न घट्छ, आमा आँट गर्दिनन्।
कहाँ जानु, कसलाई भन्नु यो अत्याचार, अन्याय?
सक्दिनन् उनी बोल्न — “मलाई अब चाहियो न्याय।”
ठमेलको डान्स बारको उज्यालोमा चिहाउदा,
१० वर्षीया सिर्जना ले हेरी मलाई मुस्काउद ।
सडकमै जीवन बाच्दौ, यतै भर्छिन् आधा पेट,
आमा-बुवाको पत्तो छैन, नदेखिछिन घरको गेट।
डान्स बारको गार्ड रुममा बस्दा पनि हाँस्छिन्,
पढ्ने, लेख्ने, डाक्टर बन्ने सपना अझै बुन्दैछिन्।
के सबै बालबालिकाभित्र उनी पर्दिनन्?
“मेरो अधिकार चाहियो” कहिले उनी भन्दिनन्।
तीनै जना जीवित पात्र सुनाइए का यि कथा,
प्रतिनिधि पात्र मात्र हुन्, छोरी यस देशका।
एक्लो, कमजोर, तुच्छ व्यक्ति — समाजको तिरस्कार,
यस्तै मौका छोपी माया नाटक गर्ने हुन्छन् दलाल।
मन-मुटु चिसिएर दुख्छ जीवन सम्झिँदा,
छोरीलाई जरुरी छ संरक्षण र सुरक्षा।
प्रेम बढाऊँ, अवसर दिऊँ, सुन्न थालौँ छोरीलाई,
सम्मानपूर्ण जीवन बाँच्ने अधिकार छ नारीलाई।
अभिभावकले जिम्मेवारी नपुराए पनि के भयो त?
भन्न पाऊन् छोरीहरूले — “मेरो लागि राज्य छ।”
प्रधानमन्त्री अभिभावक बुझून् सारा नारीले,
सरकारका प्रत्येक निकाय ठानून् घर छोरीले।
वातावरण बन्दै जाओस् आफ्ना दुःख पोख्ने ठाउँ,
संरक्षण र न्याय अब सबै छोरीले पाऊन्।


