११६ अन्तराष्ट्रिय महिला दिवस

सुजिन थमि

यसपालीको महिला दिवस अलि फरक तरिकाले हामिले मनायौँ। माइतिघर वरिपरि महिलाको अधिकारको लागी चिचाउदै होइन कि महिलाहरुलाई सहयोग गरेर मनायौँ । सहयोग फेरि आर्थिक रूपले होइन नि ! हामिले दिएको सहयोग भावनात्मक रूपको सहयोग थियो ।

दुई दिनको कार्यक्रममा हामिले करिब २०-२१ जना स्पाका दिदिहरुलाई भेट्यौँ। तर एक जना दिदी मेरो मष्तिष्कको चारै भित्तामा टाँसिन पुग्नुभयो। सुरुको दिन म र मेरो सहकर्मि जोसिदै उहाँको स्पामा पस्यौँ । नमन टक्राउदै, सेतो तन्नाले ढाकेको सोफामा हामी एकै साथ थचक्क बस्यौँ। त्यहाँ उहाँ मात्र हुनुहुन्थ्यो । ग्राहक नआएकोले दिन कटाउन टिभी छोप्ने बुन्दै हुनुहुन्थ्यो । गनथन मनथन कामका कुराहरू गर्यौ। केहि मिनेट पछि एउटा ग्राहक आयो तर हामीलाई कतै नजान इसारा दिएर ग्राहकलाई माथि कोठामा लिएर जानु । एकै छिनमा आफ्नो चप्पल पड्काउदै तल आउनुभयो र ग्राहकलाई काम गर्ने मान्छे छैन भन्दै फिर्ता पठाउनु भयो । त्यसपछि परिस्थिति हेरेर केहि रङ्गहरू र कागज निकालेर उहाँ सामु राख्यौँ। सुरूमा झस्किनु भयो, अलि अप्ठेरो मानेको जस्तो गर्नु भयो । तर हामिले सान्त्वना दिदैँ उहाँलाई बुझायौँ “कागजलाई आदि भागमा विभाजन गरिएको छ । एक पाटोमा आफूलाई नारि भएर गर्व महसुस भएको पल सम्झेर रङ कोर्ने र बाकिको पृष्ठमा नारि भएर दुःखि महसुस भएको पल सम्झेर रङ कोर्ने । “

अप्ठ्यारो मान्दै , रङ केलाउदै अनि दु ः खका पल बुत्बुत्याउदै कागजमा कोर्न थाल्नु भयो । मेरो दुःखको पल त कति छ कति सानो हुँदा आमा बाले स्कुल पठाएनन्, घरको घाँस, दाउरा सबै मैले गर्नु पथ्र्यो। सानै हुँदा विवाह भयो । अब त सुख पाउँछ भनेको झन दुई गुणा काम गर्नु पथ्र्यो। त्यही माथि सासु ससुराले बसेको देखि सहदैन थिए । बुढाले पनि जाड खाएर पिट्थ्यो। विहे गरेको ३ वर्ष पछि छोरो जन्मियो। म ४ दिनको सुत्केरी हुदा घरको घास, दाउरा सबै भ्याउनु पर्थियो । पौष्टिक आहार नपाएको करणले छोरो सधै बिरामी भैरहन्थ्यो त्यसैले सासुले मलाई बोक्सि भनेर भन्न थालिन। अति भएर म सहर पसे । घरको काम गर्न थाले । यो सबै भन्दै गर्दा उहाँको आँखा रसाएर आयो । एकै छिन त्यो कोठामा चिसो र शून्य छायो । केवल क्यार क्यार गरेर उहाँले कागजमा कोरेको धमिलो आवाज आई रहेको थियो । त्यस मौनतालाई चिर्दै मैले सोधे “ गर्व लागेको पल चाहिँ ! “
आँसुको थोपा आफ्नो आँखाबाट खस्न नदिई, पुस्दै मेरो आनुहारमा हेरेर सोचमा ढुब्नु भयो । मुसुक्क हास्दै भन्नु भयो “ आज मेरो एउटा सानो कोठा छ जहाँ मलाई सारै आनन्द लाग्छ। मैले कसैको सहयोग बिना आफ्नो छोरालाई हुर्कायो। “ अर्को रङ्ग समाउदै कागज को अर्को पट्टी कोर्न थाल्नुभयो। यो पटक उहाँको मुहारमा एउटा छुटै खुसी पाए । बढो उत्साह सँग उहाँले रङ्ग लगाउन समाप्त गर्नु भयो। उहाँलाई धन्यवाद ज्ञापन गर्दै र नारी दिवसको शुभकामना दिँदै पुरस्कार दियौँ ।

दुःख हुँदा पनि हाम्रो जिवनमा आफूलाई खुसि हुने क्षणहरू पनि हुन्छन् भन्ने कुरा स्पष्ट भयो ।

अन्त्यमा हामी निस्कन लाग्दा उहाँले तिखो स्वरमा भन्नुभयो “मेरो जिवनमा मैले धेरै दुःख पाए । एउटा नारि भएर त झन् धेरै हेपाइ खाए तर मलाई अर्को जुनि पनि पनि महिला र नारी भएर जन्म लिन मन छ।“ उहाँले भन्नु भएको यो शब्दहरू मेरो कानमा गुन्जन्छ। तिनै जना एकै स्वरमा गर्व साथ हाँस्यौँ। उहाँलाई बिदा गर्दै हामी निस्कियौ।

Scroll to Top