डान्स बारमा भेटिएको यथार्थः मेरो अनुभव

कोमल पाण्डे

हरेक दिनझैं आजको दिन पनि मेरो कार्यालयको काम गर्दै बितिरहेको थियो। साँझतिर हामीले सबै साथीहरू मिलेर डान्स बारमा काम गर्ने दिदीबहिनीहरूलाई भेट्ने योजना बनायौं। करिब ६ बजेसम्म आइपुग्दा घाम अस्ताउँदै गयो र ठमेल क्षेत्र झिलिमिली बत्तीहरूले चम्किन थाल्यो। हामी पनि आफ्नो गन्तव्यतर्फ अघि बढ्यौं।

केही समयपछि हामी एउटा डान्स बारभित्र प्रवेश ग¥यौं। प्रायः त्यस्ता ठाउँहरूमा पुरुष सञ्चालक हुने भए पनि त्यहाँ एक महिला नै बसिरहेकी थिइन्। पछि थाहा भयो—उनी र उनका श्रीमान् मिलेर उक्त डान्स बार सञ्चालन गर्दै आएका रहेछन्।

हामी भित्र छिर्नासाथ उनको अनुहारमा असन्तुष्टि र रुष्टता प्रष्ट देखिन्थ्यो। म मुस्कुराउँदै “के छ, दिदी?” भन्दै अगाडि बढेँ। उनले पनि “ठीकै छु, बहिनी” भनेर जवाफ दिनुभयो। मैले “धेरैपछि आएँ है” भनेँ, र उहाँले मन नलागे पनि “अँ, ठीक छ” भन्नुभयो।

त्यसपछि मैले विनम्र रूपमा अनुरोध गरें—“दिदी, यहाँ काम गर्ने बहिनीहरूसँग केही समय कुरा गर्न मिल्छ?”
उहाँले केही चर्को स्वरमा “अहिले त काम सुरु हुने बेला भइसक्यो” भन्नुभयो। मैले नरम भएर “हामी धेरै समय लिँदैनौं, उनीहरूको समस्या सुन्छौं र तुरुन्तै निस्किन्छौं” भनेर सम्झाएँ। साथै, “तपाईंहरू मेकअप गरिरहनुभएको बेला पनि हामी कुरा गर्न सक्छौं” भनेर सहज बनाउने प्रयास गरें।

सायद मेरो आग्रहले असर ग¥यो। उहाँले सबै स्टाफलाई बोलाउँदै “५ मिनेट दिन्छु, छिटो कुरा गरेर भित्र जाओ” भन्नुभयो। उहाँको चर्को स्वरले त्यहाँ काम गर्ने दिदीबहिनीहरूको अनुहारमा डर प्रष्ट देखिन्थ्यो।

त्यसपछि दुई जना साथीहरू अन्य बहिनीहरूसँग कुरा गर्न बसे, र म भने सञ्चालिका दिदीको छेउमा गएर कुरा गर्न थालेँ। मैले सामान्य प्रश्नहरू सोधेँ—“व्यवसाय कस्तो चलिरहेको छ?”, “बहिनीहरूको काम कस्तो छ?” आदि।

क्रमशः मैले स्वास्थ्यको विषय उठाएँ—“अहिले हामी विशेष गरी स्वास्थ्यमा केन्द्रित छौं। पाठेघरको क्यान्सर तीव्र रूपमा बढिरहेको छ, र यहाँ काम गर्ने बहिनीहरू अझ बढी जोखिममा छन्।”

मेरो कुरा सुनेपछि उहाँको प्रतिक्रिया सुन्दा म अचम्ममा परें। सुरुमा उहाँले भन्नुभयो—“मैले सकेजति सहयोग गरेकै छु।” तर त्यसपछि उहाँले भन्नुभयो—
“यीहरू आफैंले आफ्नो हेरचाह गर्दैनन्। नजिक जाँदा दुर्गन्ध आउँछ, सरसफाइमा ध्यान छैन। त्यसैले म उनीहरूलाई खासै वास्ता गर्दिनँ। उनीहरूको नजिक जान पनि मलाई घिन लाग्छ।”

उहाँका यी शब्दहरूले मलाई स्तब्ध बनायो। मैले मनमनै प्रश्न गरें—यी दिदीबहिनीहरूको लागि कसले साथ दिन्छ? कसले उनीहरूको कुरा सुन्छ? उनीहरूलाई भावनात्मक रूपमा बुझ्ने र साथ दिने कोही छ?

सायद घरपरिवार र कार्यस्थलमा भोगेका व्यवहारका कारण उनीहरू भावनात्मक रूपमा कमजोर बनेका छन्। उनीहरूको जीवन डर, त्रास र असुरक्षाले भरिएको छ। विश्वास गर्न गाह्रो भएको छ। यस्तो अवस्थामा उनीहरूको सपना, आशा र चाहनाहरू बिस्तारै ओइलिँदै गएका फूलझैं मर्न थालेका छन्—अस्ताउँदै गरेको घामजस्तै हराउँदै गइरहेका छन्।

उहाँका शब्दहरूले म केही समयका लागि निःशब्द भएँ। र उहाँको सोचप्रति मलाई लाज पनि लाग्यो—किनकि जहाँ सहानुभूति र समर्थन हुनुपर्ने हो, त्यहीँ अस्वीकार र घृणा देखियो।

Scroll to Top