
-बिनिशा चेपङ्
हे.! नेपाल आमा,
तिमीलाई मन मष्तिष्क देखी नै सादर नमस्कार । म तिम्री एक छोरी, सम्पुर्ण नेपाली महिलाको प्रतिनिधि एक पात्र, आज आफ््ना मनमा उब्जेका केही प्रश्न, महिलामा देखिएका सम्भाव्यता, पीडा र भावना व्यक्त्त गर्न चाहान्छु ।
महिला भएर जन्मिनु कुनै कमजोरी होइन, अभिशाप होइन । तर हाम्रो समाजमा अझैँ पनि छोरी÷महिलाहरुलाई हेप्ने, कमजोर ठान्ने र पछाडि पार्ने प्रवृत्ति देखिन्छ । गर्भमा हुँदा नै चेकजाँच गरी छोरी भएमा गर्भपतन गराउँछन् भने झनै छोरी भएर जन्मिँदा नै कतिपयले हामीलाई बोझको रुपमा हेर्ने गर्छन् । रोजगार, राजनीति, शिक्षा, अवसर र स्वतन्त्रतामा पनि धेरै ठाउँमा छोरीहरुले विभेद भोग्नुपरेको छ ।
हे आमा.! किन हाम्रो मूल्य छोराभन्दा कम मानिन्छ ? किन हामीलाई काम गर्दा समाजको नीतिनियम सँग तुलना गछौँ ? किन हाम्रो सपनाको दायरा सानो बनाइन्छ ? हामी पनि त्यहि माटोमा हुर्किएका हौँ, त्यहि देशका नागरिक हौँ, अनि किन हामीलाई बराबरी अवसर दिइँदैन ? एकचोटी कल्पना गर त, के नारी भएन भने यो सृष्टि चल्छ त..?
तर समय परिवर्तन हँुदैछ । आजका महिलाहरु शिक्षा, स्वास्थ्य, राजनीति, खेलकुद र विभिन्न क्षेत्रमा अघि बढिरहेका छन् । तिमीले त अनुभव नै गरेको छौ होला । अहिलेको समयमा महिलाले नै प्रतिनिधि गरेर निर्वाचन सफल हुन पुगेको छ । जसले नयाँ नेपाल उजागर गर्नको लागी तत्परता पहल गरिरहेका छन् । उनिहरुले आफ््नो क्षमता प्रमाणित गरिरहेका छन् । त्यसैले, अब समाजले आफ््नो सोच बदल्न आवश्यक छ ।
हे नेपाल आमा..!! तिमीलाई मेरो विनम्र अनुरोध छ, तिमीका सबै सन्तानलाई समान दृष्टिले हेर । छोरीहरुलाई पनि माया, सम्मान र अवसर देऊ । हामीलाई पनि उड्न देऊ, सपनाहरु पुरा गर्न देऊ । म विश्वास गर्छु कि, एक दिन हाम्रो समाज पूर्ण रुपमा समानतामूलक बन्नेछ, जहाँ महिला भएर जन्मिनु गर्वको विषय हुनेछ । कमजोरी होइन । अभिशाप होइन ।
धन्यवाद ।

