
–हिरा दाहाल
“धन्न म मर्नबाट बंचे ।” दाहिने हातले आफ्ना आंसु पुछ्दै देब्रे हातले चिया मेरो टेवलमा राखीदिंदे सुनैना बोल्दैछिन । “एकछिन यता बस सुनैना ।” म उनका छचल्कीएका आंखाभरीका पिडाहरुलाई ह्रदयका मझेरीमा अनुभुति गर्दै बोल्छु अनि आफुपनि कम्प्युटरमा ब्यस्त औंला र दिमागलाई एकैछिन बिश्राम दिएर उनकै छेउमा सोफामा आएर बस्छु । उनि पुरै स्तब्ध छिन । ईनिसाको घटनाले मलाई आफ्नै घटनाको सम्झना गराईदियो । त्यसले मलाई कैयौं पटक मार्ने प्रयास गरेको थियो । तर जति दुख पाएपनी म बांचें । भाग्यमानी रहेछु मृत्युकै मुखमा पुगेर पनि ईनिसाको जस्तो मृत्यु भोग्नु परेन ” सुनैना बोलीराख्दा उनका ओठहरु आंखाबाट झरेका आंसुले चुर्लुम्म भएका छन । म उनको अनुमतिमा केवल उनका हातहरु छोएर बिना कुनै शब्दमा न्यानो मायांको स्पर्ष मात्र दिइरहेछु । उनको कथामै आधारीत किताव लेख्ने क्रममा महिनौ सम्म पनि उनले भोगेका घटनाहरु सुनिसकेको भएर उनले यति भनेपछि मेरो मन पनि यतिखेर उनले भोगेका ति प्रत्येक क्षणमा दौडिरहेछन ।
छोरी भएर यो समाजमा बांच्नु, अझै सवैभन्दा गरीव परिवारको छोरी भएर बांच्नु त्यसमा पनि दलित समुदायको छोरी भएर बांच्नुमा जिवन जति तितो र कठोर छ शायद अरु केहिमाा छैन होला । छोरीसंस्थामा हामीले झण्डै हजार पन्ध्रसय जना किशोरीहरुसंग प्रत्येक बर्ष काम गर्दै आउने क्रममा किशोरीहरुको जिवनलाई धेरै नजिकबाट सुनेको हेरेको र सहयोग गरेको अनुभवको आधारमा ईनिसाको घटनाको विषयमा पनि भित्री लुकेका तत्वहरुलाई केहि प्रश्नहरुमार्फत उजागर गर्न मन लाग्यो । यहां ईनिसा माथि गरीएको अपराधलाई कतिपनि सानो रुपमा हेर्न खोजिएको हैन । ईनिसाले न्याय पाउनैपर्छ । उनले पक्कै पाउंछिन किनभने अहिलेको वर्तमान सरकार तथा अब बन्ने सरकारले यो घटनालाई कतिपनि नजरअन्दाज गर्न सक्दैन । तर ईनिसालाई जिवन समाप्तीको अवस्थामा पुग्नुपरेको घटनाको न्याय अपराधिको सजायंले मात्र पुग्दैन । उनको त बांच्न पाउने अधिकार नै समाप्त भईसकेको छ । कसैसंग प्रेममा पर्नु, विश्वास गर्नु, आफुले बिश्वास गरेको ब्यक्तिले बोलाएको ठाउंमा जानु जस्ता कार्यले के उनको बांच्न पाउने अधिकार नै गुमाउनु पर्ने हो त? कदापी होईन । यो लेख लेख्नुको उद्धेश्य ईनिसा अन्तीम किशोरी बनुन जो बलात्कारमा परिन र मारीईन भन्ने पनि हो ।

४ बर्ष देखी निरन्तर रुपमा आफु जन्मेकै ठाउं रौतहटकै भाईबहिनीहरुसंग भेटघाट अनि छलफल, अभिभावकहरुसंग प्रत्यक्ष अन्तरक्रिया र स्थानिय जनप्रतिनीधि तथा कर्मचारीहरुविच बालबालीकाका मुद्धामा डुबेर काम गर्दै दिनहरु वितीरहेछ । । कार्यक्रमका सुरुवाती दिनहरुको बर्षमा एउटा अन्तरक्रिया कार्यक्रममा एकजना प्रहरीले भन्नुभयो “ केटाकेटिलाई त बेस्सरी नपिटी तह नै लाग्दैनन ।” शिक्षकले थप्नुभयो “ अनुशासनमा राख्नलाई त अलिअलि पिट्नै पर्छ नी” । उहांहरुको कुरामा जनप्रतिनीधि सहित सवैले हं मा हं मिलाएर साथ दिनुभयो । सवैको नजरमा यहि तरीका ठिक थियो । त्यहां बालबालीकालाई कुट्नु हुंदैन भन्ने म तथा मेरा सहकर्मि साथीहरुको कुनै पनी कुरा सुनुवाई हुने अवस्था रहेन । बषौंदेखी जरा गाडेर बसेको छोराछोरीलाई तह लगाउने हाम्रो परम्परा नै यहि थियो । उहांहरु सवैजनाले पनि हाम्रै जस्तै कुटाई खाएरै आउनुभएको हो अनि कुटाई खाएको कारणले नै म यति सम्म भएं भन्ने उहांहरुलाई लाग्यो । त्यसैले आफ्ना बालबालीकालाई पनि त्यहि गर्नुपर्छ भन्ने उहांहरुको तर्क थियो। अन्तरक्रियामा केहि बुझाउने प्रयास गर्दै म बोलें। “ म विहे गरेर गएको २० बर्ष भईसक्दा पनि मलाई मेरो बुवासंग उतिक्कै डर लाग्छ । बुवालाई आफ्नो दुखसुख सुनाउने साथी बनाउन पाए हुन्थ्यो भन्ने मेरो भित्री ईच्छा म कहिल्यै पुरा गर्न सक्दिन । किनकी त्यो बाल्यकालमा बुबाले हामीलाई पिटेको, तर्साएको अनि अझै दाईभाईलाई दिएको यातनाले मेरो दिमागमा यति धेरै डर भरीएको छ की मलाई मेरो जिवनबाट यो डर निस्कीन अझै धेरै बर्ष लाग्नेछ । मलाई बुवाले सानैदेखी त्यो साथीत्वको भावको साथमा मायां देखाउनुभएको भए, मेरा कुरा सुन्नलाई तयार हुनुभएको भए सायद म आज जे छु त्यो भन्दा अझै धेरै राम्रो बन्न सक्थें ।” मेरो कुरा सुनिसकेपछि सवैजनाको ध्यान एकैछिन मोडियो र यो अनुभव त्यहां भएका लगभग सवैसंग मिल्यो पनि।
त्यसैले यहां प्रश्न उब्जीन्छ । के छोरीहरुले आफ्ना बुवा बाट पर्याप्त सुरक्षा, साथ, मायां, स्नेह पाएका छन? के तिमी अघि बढ छोरी तिम्रो लागि हरदम म छु भनेर भन्ने बुवा पाएका छन? के उनिहरुले आफ्ना छोरीहरुलाई सुन्न सकेका छन त? आफ्नै बुवाले बलात्कार गरेका कैयौं किशोरीहरुसंग काम गरीसकेकोले यसको उत्तर म आफैं खोज्न भन्दा पनि पाठकहरुलाई नै उत्तर खोज्न आग्रह छ।
अनुसन्धानहरुले के देखाउंछन भने अभिभावको सकारात्मक सम्बन्धले छोरीहरूलाई भावनात्मक रूपले सशक्त, आत्म–विश्वासी र जोखिमपूर्ण परिस्थिति बाट बच्नेक्षमता दिन्छ (ICDP) बुबासँगको नजिकको सम्बन्धले बालबालिकामा आत्मविश्वास, सुरक्षित महसुस गर्ने क्षमता र तनाव व्यवस्थापन गर्ने शक्ति विकास गर्छ, त्यस्तै, बुबाले देखाउने अनुशासन, जिम्मेवारी र सम्मानजनक व्यवहारले बालबालिकामा सकारात्मक सामाजिक सीप विकास गराउँछ र जोखिमपूर्ण व्यवहार घटाउन सहयोग पुर्याउँछ साथै, बुबाले घरमा लैङ्गिक समानता, महिलाप्रति सम्मान र जिम्मेवारी बाँडफाँडको अभ्यास गर्दा बालबालिकामा समानतामूलक सोच विकास हुन्छ, जसले भविष्यमा न्यायपूर्ण समाज निर्माणमा सहयोग पुर्याउँछ। यसरी हेर्दा, बुबाको माया, समर्थन र सक्रिय संलग्नताले बालबालिकाको आत्मसम्मान, पहिचान र समग्र व्यक्तित्व विकासमा गहिरो प्रभाव पार्ने भएकाले परिवार, विद्यालय र राज्य सबैले बुबाको भूमिका सुदृढ गर्न आवश्यक छ, जसले सक्षम, जिम्मेवार र सफल नागरिक निर्माणमा योगदान पुर्याउँछ।Pekel-Uludağlı, N. (2023). Father involvement and child development outcomes.

हम्रो संस्कारमा अहिले पनि छोराछोरीहरुले सवैभन्दा बढि समय बिताउने भनेको आमा नै हो । अनि छोरीहरुमाथि केहि घटना भयो, छोरी पढिन, छोरी कोहि केटासंग बोली वा घरमा समयमा आईन भने सवैभन्दा बढि दोष आमालाई जान्छ । हुन पनि पक्कै हो । बढि समय विताउने भएपछि आमालाई नै थाहा हुनुपर्ने हो । तर आमाको हकमा पनि त्यहि प्रश्न दोहोरीन्छ । के छोरीहरुले आफ्ना आमाबाट पर्याप्त सुरक्षा, साथ, मायां, स्नेह पाएका छन के तिमी अघि बढ छोरी तिम्रो लागि हरदम म छु भनेर आमाहरुले आफ्ना छोराछोरीलाई भन्न सकेका छन तर के उनिहरुले आफ्ना छोरीहरुलाई बिना पुर्वाग्रही सुन्न सकेका छन तर आफ्नै आमाको ब्यवहारको कारणले, तं मरीहाल तैंले बांचेर काम छैन भनेर तिरस्कार गरेका कारणले घर छोडेर बालबिबाह गरेका तथा अन्य शोषणमा परेका थुप्रै किशोरीहरुसंग पनि काम गरीसकेकोले गर्दा यो प्रश्नको जवाफ पनि गहिरीएर खोज्न पाठकहरुलाई नै अनुरोध गरें ।
यहां एउटा अर्को प्रश्न पनि जोड्न मन लाग्योर अधिंकाश महिलाहरु जो आफैं घरेलु हिंसामा परेका छन, जसलाई आफ्नै जिवन बंचाउन धौ धौ छ, यस्ता आमाहरुले के आफ्ना छोरीहरुलाई पर्याप्त रुपमा सुन्ने अनि तिमीलाई जस्तोसुकै अवस्थामा जे गाह्रो परेपनि मलाई भन, म तिमीलाई कतिपनि पुर्वाग्रही नभई सुन्छु र सहयोग गर्छु भन्ने आंट गर्न सक्लानर” आफुलाई बिद्यालयमा भईरहेको दुब्र्यबहार, अपहेलना, साथीहरुले गरेको बुलिइङ, छिमेकी काका पर्नेले दुब्र्यवहारको प्रयास, स्कुलकै केटाहरुले जिस्काएको वा प्रेम प्रस्ताव गरेको घटनाहरु के छोरीहरुले निर्धक्क आमालाई सेयर गर्न सक्लानर बालबालीकाको चौतर्फि विकाशमा आमाको भुमिका कति हुन्छ भनेर यहां बहस गरीरहनु आफैंमा सर्वविवित कुरा हो । छोरीहरुलाई सक्षम बनाउन सुन्न र पुर्ण रुपमा मद्धत गर्ने बनाउनको लागी के आमाहरुमा लगानि गर्नु जरुरी छैनर
दैनीकी जस्तो करीव पचास साठी जना किशोरीहरुसंग भेटघाट, परामर्श, तालिम तथा अन्य सहयोग गरींदै आईएको अनुभवको आधारमा भन्नुपर्दा आज ठुलो जमात किशोरीहरु सुरक्षित छैनन । हिजो विद्यालय, घरपरिवार, नातागोता र छिमेकबाट मात्र सुरक्षित थिएनन भने आज बिश्व बजारको जुनसुकै कुनाबाट पनि उनिहरु जोखीम अवस्थामा गुज्रिनु पर्ने अवस्था छ । नचीनेको नजानेको मान्छेसंग किन बोल्नुपर्यो, किन हांस्नुपर्योर त्यसरी हांसेपछि बोलेपछि यस्तो घटना त भईहाल्छ नि भनेर फेरी पनि दोष जति किशोरीहरुलाई फर्काउने हाम्रो गैरजिम्मेवारी प्रवृतिलाई आजैबाट बन्द गरेर उनिहरु बालबालीका हुन । उनिहरुको मस्तीस्कले सवै सहि निर्णय गर्न सक्दैन र उनिहरुलाई सुरक्षित राख्नु हामी ठुलाहरुको जिम्मेवारी हो भन्ने कुरालाई सवैले मनन गरौं । बालबालीका दुवैलाई हुनसक्ने जोखीमताको बारेमा पनि छलफल गर्ने, उनीहरुका समस्या सुन्ने वातावरण बनाउने, उनिहरुलाई सुरक्षित अनुभुति हुने खालको ब्यवहार गर्न हर अभिभावक, समुदायले थाल्नुपर्ने जरुरी छ । अन्त्यमा अभिभावकको बैदेशिक रोजगारले गर्दा बालबालीकामा बढ्दै गएको असुरक्षा, एक्लोपन अनि डरपुर्ण जिवनमा सकारात्मक परिवर्तन ल्याउन अब बन्ने सरकारले अझै ध्यान देओस ।
यस लेखलाई बिट मार्ने क्रममा महात्मा गान्धीको सानो कथा जोड्न मन लाग्यो । एकपटक गान्धीलाई एउटा पत्रकारले प्रश्न गरे । “यो संसारमा बढ्दै गएको हत्या, हिंसालाई कम गर्न के गर्नुपर्छ र” गान्धीको जवाफ थियो । “संसारका प्रत्येक ब्यक्तिले एकअर्कोलाई मायां गर्नुपर्छ । प्रेम बढाउनुपर्छ ।” पत्रकारलाई अझ थप केहि उपाय छ कि भनेर फेरी गान्धिलाई प्रश्न गरे । अरु उपाय के होला त भनेर ।
अनी गान्धीको जवाफ थियो “अझै धेरै मायां गर्नुस । अझै धेरै प्रेम गर्नुस” । यहि मात्र एकमात्र उपाय हो । गान्धीको यो कथा हामी प्रत्येक अभीभावकको जिवनमा पनि लागु हुनु जरुरी छ ।
धेरै अभिभावकहरुको गुनासो हुन्छ । मेरो छोराछोरीले जति गरे पनि भनेको मान्दैनन। जिद्धी छन । के गर्ने होलार उत्तर उही हो उनीहरुलाई सक्दो मायां देखाउनुस ।
अझै जिद्धी भए भनेको मानेनन भन्ने प्रश्न फेरी पनी आएंछ भने पनि फेरी पनि उत्तर चाहिं उहि हो “अझै मायां गर्नुस । अझै प्रेम गर्नुस ।


