
-रबिना ठाकुरी
झिलीमिली बत्तीभित्र लुकेको पीडा गहिरो छ,
हाँसो जस्तो देखिए पनि मनभित्र आंधी छ ।
पापी पेटको लागि मन नलाई काम गर्नु
बाध्यताको डोरीले बाँधिएको जिन्दगी छ ।
इच्छा विपरीत बाँच्नुपर्ने कथा जस्तै,
सुरक्षाको खोजीमा हरेक पाइला थाकेको छ ।
अपमानका शब्दहरुले घोचिरहने घाउहरू,
मौनतामा दबिएका मन कति कराएको छ ।
“हामी पनि सुरक्षित बाँच्न चाहन्छौ“ भन्ने,
सानो त्यो चाहनाले मन किन हल्लाएको छ ।
सुन्दै जाँदा आफ्नै मन पनि भक्कानीन्छ,
अरुको पीडामा आफ्नै आत्मा आज रोएको छ ।

