तारकेश्वरदेखि विदुरसम्मको मेरो कथा

अनिता श्रेष्ठ

“नमस्ते होटल सनसाईन”
म फोन उठाएर ग्राहकलाई होटलको बारेमा सूचना दिन ठिक परिरहेछु । होटलमा बस्नको लागि विभिन्न ठाउँबाट भ्रमण गर्न आउने ग्राहकहरूले मलार्ई फोन गर्नुहुन्छ । मैले फोन उठाएर उहाँहरूको लागि कोठा बुकिङ्ग गर्छु । त्यसपछि म अघिल्लो दिन खर्च भएको बिलहरूको हिसाब गर्छु । म विदुर नगरपालिकामा रहेको होटल सनसाईनको रिसेप्सनमा काम गर्दै आइरहेकी छु । यहाँ मसहित नौ जना स्टाफहरूले काम गर्नुहुन्छ । यहाँ काम गरेर अहिले मैले महिनाको रु.१५००० कमाइरहेको छु । यसरी आफ्नो खुट्टामा उभिएर बाँच्न पाउँदा मैले जीन्दगीमा पहिले भागेका दुःखहरूलाई बिर्सन्छु ।


दिनभरी काम गर्दा थकाइ लाग्छ र मनमा दुःखका कुराहरू नआओस् भनेर कामसँगसँगै सबैलाई हँसाएर रमाइलो कुराहरू गर्दैै बस्छौँ । होटलमा काम गर्ने स्टाफहरू सबैले सबैलाई आदर र सम्मान गरेर बोल्नुहुन्छ । दिनभरीको काम सकेर म अहिले पनि छोरी संस्थाकै अफिसमा बस्दै आइरहेको छु । बेलुका मेरो वासस्थान फर्कने व्रmममा दिमागमा विगतका अनेकौँ कुराहरू आइरहन्छ, हुन त मैले अब आफू भित्रको डरलाई साहसिलो छोरीको रुपमा बदलिसकेको छु । मेरा ती समस्याहरुलाई समाधान गर्न सक्ने आँट दिलाउन छोरी संस्था सधैँ एउटा बलियो खम्बा भएर मेरो अगाडि बसिरह्यो र बसिरहनेछ । छोराले नै वंश धान्ने हो, छोरी भनेको त अर्काको घर जाने जात भन्दै मेरी आमालाई परिवार तथा आफन्तहरूले मानसिक तनाव दिइरहन्थे । मेरो बाबा म जन्मिएको ७ दिन सम्म पनि मलार्ई स्याहार सुसार गर्न समेत आउनुभएन । त्यसैले छोराको लागि भनेर आमा पटकपटक बच्चा जन्माउन बाध्य हुनुहुन्थ्यो । मेरो घरको सबै परिवार पाल्नको लागि मेरो बाबा सानै देखी विदेशिनु परेको अवस्था थियो । त्यसैले घरपरिवारको व्यवस्थापनमा सानैदेखि मैले पनि आमालाई सघाउनुपर्ने अवस्था थियो । मेरी आमालाई आफ्नै परिवारले बोक्सी भनेर आरोप लगाएको र मेरी आमाको भोक, प्यास र निन्द्रा नै हराएको त्यो क्षण सम्झिँदा अहिले पनि मन झसङ्ग हुन्छ । मेरी आमाको आँखाभरी आँसु देख्दा पनि मैले केही गर्न सकिंन । म त्यो समाज सँग बोल्न सकिन । मैले ठाडो शिर गरेर हेर्न सकिनं । सायद अहिलेको ज्ञान म सँग त्यति खेर भएको भए मैले पनि मेरी आमाको लागि आवाजहरू उठाउन सक्थँें । त्यतिखेरको समयमा हामीलाई बुझाइदिने र सम्झाउने कोही भएनन् ।
मैले जीवनमा धेरै दुःख, कष्ट भोगेँ । घरमा जस्तोसुकै अवस्था भए पनि मैले १२ सम्म अध्ययन गरेकी थिएँ । १२ पास गरेपछि म पढाइ छोडेर काम नै गरेर आमालाई सुख दिन चाहन्थेँ । त्यसैले जसरी पनि म काम गर्छु भनेर कामको खोजीमा थिएँ । यही व्रmममा मैले गाउँपालिका मार्फत छोरी संस्थाको बारेमा थाहा पाएँ पछि मेरो जन्मथलो तारुका छोडेर छोरी संस्था, विदुरमा आइपुगेकी थिएँ । नुवाकोट विदुरमा रहेको छोरी सेल्टरमा पुगेपछि नियमित मनोविमर्श र त्यहाँका कर्मचारीहरूले गर्नु भएको माया र साथ–सहयोग सम्झिँदा गर्व र आभारी महसुस हुन्छ । छोरी संस्थामा आइसकेपछि मैले यहाँ ३ महिनासम्म सिलाइ तालिम लिएँ । त्यहाँ मैले सिलाइको साथ साथै मानव बेचबिखन, लैङ्गिक हिंसा र विभिन्न विषयमा तालिम लिएँ । ३ महिनाको तालिमपछि त्यही संस्थाकै सूचना तथा परामर्श केन्द्रमा पनि काम गर्ने अवसर दिनु भयो । यसरी काम गर्न पाउँदा आफूले आफूलाई निकै भाग्यमानी ठान्थेंँ । आफु जस्तै किशोरीहरूलाई विभिन्न विषयमा जानकारी दिनुकोसाथै बेचबिखन हुनबाट बचाउन पाउँदा आफैमा धेरै गर्व लाग्छ । संस्थामा काम गर्दै म जस्तै ३ महिने सीपमूलक तालिम लिन आएका किशोरीहरूसँगै घुलमिल हुने अवसर पाएँ । उनीहरूको दुःखमा साथ दिँदै सुखमा रमाउने मौका पाएँ । फुर्सदको समयमा उनीहरूलाई सिलाइमा पनि सहयोग गर्न पाउँदा धेरै खुसी लाग्थ्यो । यसरी केही समय त्यहीँ काम गरेपछि मैले संस्थाको मिसहरूको सहयोगमा होटल सनसाईनमा रिसेप्सनमा काम गर्ने र संस्थामै बस्ने मौका पाएँ । अहिले मैले परिवारको जिम्मेवारी लिएर काम गरेको देख्दा मेरो बुबा म जन्मिँदा छोरी भनेर हेला गरेकोमा पछुताउनुहुन्छ । उहाँ सधै मेरो कामको प्रशंसा गर्नुहुन्छ । आमा, बुबा र संस्थाको म्यामहरूले दिनुभएको साथ र सहयोगले गर्दा आज म आत्मनिर्भर हुन सक्षम भएकी छु साथै छोरी भएर जन्मिएकोमा परिवार र आफुलाई गर्व गर्न सक्ने मौका पाएकी छु । मेरो जीवनलाई लक्ष्य दिन र मलार्ई आत्मनिर्भर बनाउन सहयोग गर्नुभएकोमा छोरी संस्थाप्रति म सधैँ आभारी रहनेछु ।

Scroll to Top