–सोनु

देवे्रहातमा बाँधिएको पिलपिले घडीको अलाराम हरेक बिहानजस्तै आज पनि बजिरहेछ । शनिबार भएकाले स्कुल बिदा थियो, त्यसैले अलाराम धेरै बेर बजिरहेपनि मेरो आँखा भने राम्रोसंग खुलेको थिएन । अल्छि गर्दै बल्ल म निद्राबाट ब्यूँझिएँ। बिस्तारै ओछ्यानबाट उठेँ र दैनिक सरसफाइ सकेर भान्सातिर लागेँ। भान्सामा आमा खाना पकाउँदै हुनुहुन्थ्यो। म पनि सघाउन पुगें। हामी दुवै खाना बनाउँदै रमाइरहेका थियौँ।
“आमा, तपाईंलाई मेरो कति माया लाग्छ? “ म ठट्टामै सोधिरहेकी थिएँ।
आमाले मुस्कुराउँदै भन्नुभयो, “किन छोरी? मैले माया गरेको जस्तो लाग्दैन? ”
“होइन के आमा… साँच्चिकै भन्नु न, “मैले झनै नक्कल गर्दै भनेँ।
ठट्टामै चलिरहेको हाम्रो कुरा अचानक रोकियो। आमाको आँखाबाट एक्कासी आँसु झ¥यो।
“के भयो आमा?“ म आत्तिएँ। मलाई लाग्यो, मैले गलत प्रश्न त सोधिन?
आमाले विस्तारै बोल्न थाल्नुभयो—
“बिहे भएको २० वर्ष भयो। तर चाहेर पनि हाम्रो भागमा बच्चा आएन। धनसम्पत्ति भएर मात्रै खुशी हुने रहेनछ। ‘आमा’ ‘बुबा’ भन्ने शब्द घरमा नुगुन्जेसम्म जीवन पूरा हुँदैन रहेछ। ”
आमाको कुरा म एकटकले ध्यान दिदै सुन्दै थिएँ।
“एकदिन तिम्रो आमाबुबा— अर्थात् तिमी जन्म दिने बाबुआमाले— हाम्रो बच्चा छैन भन्ने सुनेर हामीलाई भेट्न आए। ‘हामी छोरी पाल्न सक्दैनौँ, पढाउन त झन् सक्दैनौँ,’ भन्दै तिमीलाई सुम्पिएर जानुभयो ।”
म झस्किएँ— “के? के भन्नुभयो आमा?”
“हो छोरी… तिमी जम्मा ६ महिनाकी थियौ। हामीसँग तिमी आइपुग्दा । हाम्रो जीवनमा उज्यालो बजेर तिमी आएकी थियौं । तिमी आएपछि मात्र घर घर जस्तो भयो।”
आमाले खुसी व्यक्त गर्दै बोलिरहनु भयो, तर मेरो मन भित्रभित्रै भाँचिँदै गइरहेको थियो। पहिलोपटक मैले असली आमाबुबा भनेर कल्पना गरेका मानिस नै मेरो जन्मदाता होइनन् भन्ने थाहा पाएँ। मनमा गहिरो चोट लाग्यो।
म भान्साबाट उठेर कोठामा पसेँ। सिरानीमा टाउको बजारेर रोइरहेँ।
“मेरो असली आमाबुबा को हुन् त ? कता होलान्?” भन्ने प्रश्नले मनै पोल्यो।
त्यसपछि कुन्नि किन, किताब पल्टाउने मनै लागेन। कक्षा ८ मा मिहिनेत गर्नुपर्ने बेला म भित्रैभित्र ट्ट्दै गए । पढाई दिनदिनै खस्कँदै गयो।
कक्षाको टिचरले बोलाएर सोध्नुभयो,
“के भयो तिमीलाई? पढाइ किन बिग्रँदै गयो? ”
टिचरलाई मैले सबै कुरा खोलिदिएँ। “मेरो जन्म दिने आमा कहाँ छिन?” भन्ने प्रश्नले मलाई पछ्याइरहन्छ सर । तर जतिसुकै सम्झाइ–बुझाइ गरे पनि मेरो मनमा एकै कुरा घुमिरह्यो ।
दिन बित्दै जाँदा त्यो चाहना झनै बलियो हुँदै गयो।
अनि अर्कोतिर, जसले मलाई पालेका थिए तिनप्रति मनमा रिस, चोट, द्वन्द्व बढ्दैगयो।
अन्ततः मैले भनिदिएँ—
“आमा, मेरो असली आमाबुबा भेटाइदिनुस न। ”
आमाले भनिन्
“थाहा छैन छोरी, त्यसपछि कुनै सम्पर्क भएन। ”
तर मलाई विश्वास लागेन् ।
पढाइमा मन नलागेर म नराम्रा साथीतिर लाग्न थालेँ—
झगडा गर्ने, चुरोट खाने, घर नफर्कने…
घर अब घरजस्तो लागेन।
जसलाई ‘आमा–बुबा’ भनेकी थिएँ, उनीहरू मेरो होइनन् भन्ने बोधले मन भत्कियो।
कक्षा ८ को फाइनल परीक्षा छिन्नभिन्न हुँदै थियो। स्कुलले जन्मदर्ता माग्यो।
जब म घरमा भन्न गएँ, घरमा आमाबुबाले मेरो बानी बिग्रदै गएकोले झनै मानेन उल्ट कडा स्वरमा भने,
“तिमी हाम्रो छोरी नै होइनौ। अब हामी केही गर्न सक्दैनौँ। ”
त्यो सुनेर म भित्रभित्रै झनै टुक्रिएँ।
पास–फेलभन्दा जीवनको अर्थ नै हराएजस्तो भयो।
एकदिन घर छाडेरै हिँडेँ।
मनले भन्थ्यो—“म मर्ने भए पनि परवाह छैन। कसका लागि बाँच्ने?”
साँझको ७ बजेतिर बाटोमा मेरो शिक्षक भेटिनुभयो। म एक्लै हिँडिरहेकी देखेर छक्क परेर रोकीनु भयो र सबैकुराहरु सोधपुछ गर्नुभयो । मैले त्यो घरमा नफकिने भनेपछि पुलिसको सहयोगमा मलाई एक संस्थामा पु¥याइदिनुभयो।
अहिले म—एउटा संस्थामा छु । मसंग अहिले न त
जन्मदर्ता छ,
न पहिचान,
न परिवार।
जसको काखमा जन्मिएँ, ती कहाँ छन् थाहा छैन।
जसले पाले, तिनले छोडिदिए।
म आफूलाई वेवारिसजस्तै महसुस गर्छु।
तर एउटा चाहना अझै बाँकी छ—
मर्नुभन्दा अघि एकपटक मेरो जन्मदिने आमासँग भेट होस्.. बस्।
