
उज्यालो र ममतामय परिवेशमा मेरो बाल्यकाल बित्यो—जहाँ प्रेम, सुरक्षा र उत्साहले भरिपूर्ण वातावरणले मलाई बलियो र साहसी बनायो। म लमजुङको एक सानो गाउँमा जन्मिएको हुँ—गुरुङ समुदायको रमणीय बस्ती। मेरो बुबा बेलायती लाहुरे हुनुहुन्थ्यो, गाउँभरी उनी “लाहुरे बा” भनेर चिनिनुहुन्थ्यो। मेरो हजूरबुबा–हजूरआमालाई त गाउँका सबैले “साहु बा” भन्थे, किनकि उनीहरू सबैका आधार, सहयोगी र सम्मानित व्यक्ति हुनुहुन्थ्यो।
म बुबाको जेठी छोरी। मेरो हजूरबा–हजूरआमाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। कहिलेकाहीँ त उनीहरूले छुट्टै चाँदीको थालमा खाना खुवाउनुहुन्थ्यो। मेरो १६ वर्षको उमेरसम्मको जीवन आराम, माया र सुखको घेरामा बित्यो। मानौं संसारमा दुःख भन्ने शब्द नै हुँदैन। परिवारले कहिल्यै कुनै कमी हुन दिएन। “दुःख भनेको के हो?”—मलाई थाहा नै थिएन।
तर १६ वर्ष पुगेपछि अचानक सबै बद्लियो।
एक दिन मेरी काकीले भनिन्,
“तैँले मसँगै काठमाडौँ जानुपर्छ।”
मैले जाँदिन भन्ने मौका पनि पाइनँ।
उहाँले धम्की जस्तै दिनुभयो—
“तँ नआए म मर्छु, अनि एक चिठी तेरै नाममा लेखेर राखिदिन्छु।”
म डरले थरथर काँपें।
कुनै निर्णय गर्ने उमेर थिएन।
त्यसैले उहाँको पछि–पछि लागेँ।
गाउँबाट बस चढ्ने ठाउँ पुग्न लगभग ८ घण्टा लाग्थ्यो।
हामी त्यहाँ पुग्दा रात परिसकेको थियो।
जीवनमा पहिलोपटक, भुइँमा सुतेँ—किनकि बस चढ्ने ठाउँ नजिकै बस्ने ठाउँ नै थिएन।
भोलिपल्ट बिहानै बस चढ्ने क्रममा मैले मलाई स्कुलमा पढाउने सरलाई देखें।
म अलिकति ढुक्क भएँ—मलाई चिनेको मान्छे भेट्टाएँ कि जस्तो लाग्यो।
तर त्यो सोच गलत रहेछ।
काकीले मलाई सरसँगै पठाइदिनुभयो।
म अत्तालिँदै सरको पछि लागेँ।
सबै चिज मेरो बशभन्दा बाहिर हुँदै गयो।
अनुमानै गर्न सकिन—किन म सरसँग काठमाडौँ जान लागेकी छु?
काठमाडौँ पुग्नेबित्तिकै सरले मलाई मन्दिर लगे।
त्यहीँ हामीलाई विवाह गराइयो।
म १६ वर्षकी—विवाह भनेको के हो, कत्ति थाहा थिएन।
कसले किन गराइरहेको छ, बुझ्दिनथेँ।
बस, सबै कुरा म थाहा नपाउँदै भैरहेको थियो।
विवाहपछि सुरु भयो—हिंसा, झगडा र डरले भरिएको दिन। .
मेरो सासूले पनि धेरै हेप्ने गर्थिन्। उहाँले मैले गरेको हरेक काममा असन्तुष्टि देखाउनु हुन्थ्यो। उहाँ सधैं मबाट केही सिकेर आएन भनेर गुनासो गर्नुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो, ‘साहुको छोरी………
हरेक समय दुख, रातको रुवाइ, बिहानै छिटो उठेर काम।
म कहिल्यै प्रतिवाद गर्दिनथेँ, किनकि गाउँमा हल्ला फैलिएको रहेछ—
“बुढा सरसँग भागेर काठमाडौँ गइछ।”
परिवारको इज्जत जाने डरले गाउँ फर्किन सकिन।
सबै सहेर बस्न बाध्य भएँ।
त्यहीबीच म गर्भवती भएँ।
१६–१७ वर्षकै उमेरमा आमा बन्नु—मेरो लागि कठिन परीक्षा थियो।
म आफैँ बच्चा जस्तै थिएँ।
अब अरू बच्चालाई सम्हाल्नुपर्ने।
छोरी जन्मिएपछि उसलाई नुहाउनदेखि खान खुवाउनसम्म—मलाई केही थाहा थिएन।
कसैले सिकाइ दिएन।
तर जसोतसो दुई वर्षसम्म ज्यान मारी–मारी हुर्काएँ।
पछि अर्को छोरी जन्मिइन्।
दुई छोरी भएपछि त बुढा झन् बदलिनुभयो।
घरमा झगडा, किचकिच, गाली–गलौज बढ्दै गयो।
अन्ततः, उहाँ अर्को केटी ल्याउन थाल्नुभयो।
उहाँको हेपाइ र गाली–गलौज मैले अर्को पाँच वर्षसम्म सहिरहेँ। मेरो साना बालिकाहरूले पनि त्यो सबै सहनुपर्यो। यति हुँदा–हुँदै पनि म पढाइप्रति धेरै इच्छाशक्ति भएकी भएर मैले लुक्दै–लुक्दै कक्षा १२ सम्म पढ्दै गएँ।
कक्षा १२ पास गरेर बैचलर पढ्दै जाँदा ममाथि भएको अत्यधिक हिंसाका कारण मलाई मानसिक समस्या आउन थाल्यो। त्यतिबेला मेरो जेठी छोरी १२ वर्षकी थिइन् र कान्छी १० वर्षकी। उनीहरूलाई मैले होस्टेलमा राखें।
म भने एउटा स्कूलमा आया को काम गरेँ। उनीहरूको स्कुल खर्चदेखि घर–व्यवहारसम्म सबै म सम्हाले गथें।
स्कुलमा काम गर्न थालेपछि मैले बिस्तारै शिक्षकको रूपमा पनि पढाउन थालें।
यो बीचमा म माथि हुने दुव्र्यवहार र अत्याचार झनै बढ्न थाल्यो। मेरो मानसिक अवस्था दिनेदिनै जटिल बन्दै गइरह्यो। मैले सामान्य दैनन्दिन काम गर्न पनि सक्ने स्थिति रहेन।
स्कूलमा पढाउन जाने ताकत पनि मसँग रहेन, अनि अन्ततः मैले काम छोड्नै पर्यो। घरमै हुँदासमेत झगडा, गाली, हप्की–धम्की र शारीरिक हिंसा बढ्दै गयो।
बिस्तारै मेरो मानसिक स्थिति यति कमजोर भयो कि म आफ्नै पहिचान—म को हुँ, मेरो नाम, मेरो उमेर—समेत सम्झन कठिन हुन थाल्यो। रातभरि म निदाउन सक्दिनथेँ, अनि कुनैबेला निदाएँ भने पनि म कतै बाटोमा, कतै अन्य अपरिचित ठाउँमा पुगिहाल्थेँ।
मलाई आफै थाहा हुन्नथ्यो, म कहाँ, कसरी पुगेँ भनेर। त्यो अवस्थाले धेरै मानिसहरूले मेरो कमजोरी देखेर फाइदा उठाए होलान् भन्ने भय अझै मनमा बस्छ।
उता मेरी छोरीहरू—जसलाई मैले सुरक्षित राख्न प्रयास गरिरहेकी थिएँ—उनीहरूलाई पनि आमाको हालत कस्तो छ, कहाँ छे भन्ने कुनै जानकारी थिएन।
जब कसैले बुडा र सासूलाई मेरो बारेमा सोध्थे, उनीहरू भन्न्थे,
“उ त बाटोमा पागल भएर हिँडिरहेकी होलिन्, भन्दिएछन्।
यसरी मेरो जीवन पूर्ण रूपमा छरपस्ट बन्दै गइरहेको थियो।
त्यसरी नै धेरै महिना बित्दै गए। म भने सडकलाई नै मेरो घरजस्तै बनाएर बाँच्न बाध्य भएँ।
उता होस्टेलमा मेरो छोरीहरूको पढाइ–खर्च चाहिँ बुढाले हेर्दिनु भएको रहेछ।
आज पनि त्यो कुरा सम्झँदा म उहाँप्रति आभारी हुन्छु। किनकि, यदि त्यतिबेला उहाँले मेरी छोरीहरूलाई पनि म जस्तै त्यागिदिनुभएको भए, आज उनीहरू पनि सडकमै हुन सक्थे होला।
एक दिन, संयोगले,
मेरो गाउँका एक जनाले काठमाडौं आएको बेला मलाइ सडकमा बसिरहेको देखेछन्।
अनि त्यसपछि गाउँभरि हल्ला फैलियो—
“साहुँको छोरी त पागल भएर बाटोमै हिँडिरहेकी रे!”
त्यो कुरा मेरो बुबाको कानमा पुग्यो। उहाँले सुन्नु मात्र भएन, सिधै काठमाडौं आउनु भयो र मलाई खोज्नु भयो। काठमाडौं आउनु भएको चार दिनपछि मात्रै उहाँले मलाई भेट्नुभयो र तुरुन्तै अस्पताल लग्नुभयो। मेरो उपचार सुरु भयो।
डाक्टरले भन्नुभयो कि मलाई मानसिक समस्या थियो, तर उपचार सम्भव छ। मैले औषधिहरू लिन थालें र करिब पाँच वर्षपछि म बिस्तारै निको हुन थालेँ।
थोरै सुधार भएपछि, बाबाले मलाई उहाँले चिनाएको स्कूलमा पार्ट–टाइम काम गर्न लगाउनुभयो। मलाई बालबालिकासँग समय बिताउन रमाइलो लाग्थ्यो र धेरै आनन्द महसुस हुन्थ्यो।
त्यसपछि मैले बिस्तारै फुल–टाइम काम सुरु गरेँ र मेरो पढाइ पनि जारी राखें। अन्ततः मैले मेरो स्नातक (द्यबअजभयिच) पूरा गरें।
मेरो बाबाको ठूलो चाहना थियो कि म मास्टर्स पास गरेर आफ्नो विद्यालय खोलूँ।
आज ती सबै दुःखका पलहरूलाई सम्झँदा, मैले भोगेका पीडा र डरले मलाई कमजोर बनाउँदैनन्, बरु मलाई बलियो बनायो। अहिले म पढाइमा अघि बढ्न सकें, मेरो दुई छोरीहरूको हेरचाह गर्न सक्छु, र आफ्नो भविष्य आफैं बनाउन सकिरहेको छु।
मेरो बाबाको चाहना अनुसार मैले मास्टर्स पनि सकें र अब आफ्नो विद्यालय खोल्ने तयारीमा छु। मेरो अनुभवले मलाई सिकायो—जिन्दगीमा कठिन परिस्थितिहरू आउँछन्, तर हार मान्नु होइन, अगाडि बढ्नु महत्त्वपूर्ण छ।
मेरो कथा केवल मेरो लागि होइन। यो मेरो छोरीहरू र भविष्यका बच्चाहरूका लागि पनि प्रेरणा हो। मैले देखाएँ—महिला आफ्नो साहस र हिम्मतले अन्याय र डरलाई सामना गर्न सक्छन् र आफ्नो जीवन आफैं निर्माण गर्न सक्छन्।
आज म गर्वका साथ भन्छु—मेरो जीवन डर र पीडाको मात्र कथा होइन। यो साहस, धैर्यता र आशाको कथा हो।
