
-कोमल पाण्डे
यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मेरो जीवनमा विगतका वर्षहरूको तुलनामा फरक र गहिरो अनुभव लिएर आयो। हरेक वर्षझैं विभिन्न नाराहरूका साथ महिलाहरूले आफ्ना आवाजहरू उठाउँदै, सम्मान, अधिकार र समानताको माग गर्दै आएका छन्। तर यस वर्ष हामीले केवल आवाज उठाउने मात्र नभई, महिलाहरूको वास्तविक भावना, भोगाइ र अनुभवलाई बुझ्ने गहिरो प्रयास ग¥यौं।
यस अवसरमा हामीले मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरू तथा दिदीबहिनीहरूसँग नजिक बसेर उनीहरूलाई आफ्ना भावना व्यक्त गर्ने सुरक्षित र सहज वातावरण प्रदान ग¥यौं। चित्रकला र रंगको माध्यमबाट दुई दिनसम्म सञ्चालन गरिएको यस कार्यक्रममा करिब ४३ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूसँग प्रत्यक्ष बसेर अभ्यास गराउँदा हामीले अत्यन्त गहिरा र भावनात्मक अनुभवहरू महसुस ग¥यौं। यसरी रंग र चित्रमार्फत आफ्ना भावना व्यक्त गर्ने धेरैका लागि यो पहिलो पटक थियो ।
जब उनीहरूले आफ्नो जीवनका दुःखद क्षणहरूलाई रंगमार्फत व्यक्त गर्न थाले, वातावरण अत्यन्त भावुक बन्यो। धेरैले कालो र निलो रंगको प्रयोग गर्दै आफ्नो पीडा, निराशा र एक्लोपन व्यक्त गरे। उनीहरूको आँखाभरि आँसु देखिन्थ्यो। महिला भएर जीवनमा भोग्नुपरेका पीडा, संघर्ष, शोषण र बाध्यताहरू उनीहरूले चित्रमार्फत बाहिर ल्याइरहेका थिए। कतिपयले हरेक रात रोएर सुत्नुपर्ने अवस्थाको सम्झना गर्दा झन् भावुक भए। यी सबै क्षणहरूले उनीहरूको जीवनमा रहेको अदृश्य पीडालाई स्पष्ट रूपमा उजागर ग¥यो।
मेरो लागि सबैभन्दा अचम्म लाग्दो र महत्वपूर्ण क्षण तब आयो, जब हामीले उनीहरूलाई आफ्नो जीवनप्रति गर्व गर्न र आफ्ना उपलब्धिहरू सम्झन अनुरोध ग¥यौं। सुरुमा उनीहरू अलमलमा परे र प्रश्न गरे—“हामीले केमा गर्व गर्ने? जब हाम्रो हरेक दिन पीडामै बित्छ। हामी लाई जहिले कलंक रुपमा हेरिन्छ र दोष लगाइन्छ । ”
यस अवस्थामा मैले उनीहरूलाई सम्झाउने प्रयास गरें कि यति धेरै दुःख, संघर्ष र शोषण सहेर पनि परिवार सम्हाल्दै जीवनलाई अगाडि बढाउनु आफैंमा ठूलो साहस, धैर्यता र उपलब्धि हो।
यसपछि उनीहरूको सोचमा परिवर्तन देखिन थाल्यो। उनीहरूले रंगहरू प्रयोग गर्दै आफ्ना सकारात्मक पक्षहरू व्यक्त गर्न थाले—कसैले रूख कोरे, जसले स्थायित्व र बलियोपन देखाउँथ्यो; कसैले फूल कोरे, जसले आशा र सौन्दर्य झल्काउँथ्यो; कसैले घाम र चम्किला रंग प्रयोग गर्दै उज्यालो भविष्यप्रतिको विश्वास व्यक्त गरे। यस क्रममा उनीहरूको अनुहारमा देखिएको मुस्कानले उनीहरूको भित्री शक्ति र आत्मविश्वासलाई झल्काउँथ्यो।
यद्यपि, आज पनि उनीहरू धेरै पीडा लुकाएर जीवनमा अगाडि बढिरहेका छन्। कति दुःख, कति शोषण र कति अपमान सहेर पनि उनीहरूले जीवनलाई निरन्तरता दिइरहेका छन्। उनीहरू साँच्चिकै साहसी, संघर्षशील र शक्तिशाली नारीहरू हुन्।
मलाई उनीहरूप्रति गहिरो सम्मान छ। मेरो सन्देश उनीहरूका लागि यही हो—
तपाईंहरू साँच्चिकै बहुमूल्य हुनुहुन्छ। तपाईंहरूको मूल्य र महत्व अत्यन्त ठूलो छ। आफूलाई माया गर्न सिक्नुहोस्, किनकि तपाईंहरूले जे सहनुभएको छ र जे हासिल गर्नुभएको छ, त्यो आफैंमा अद्वितीय उपलब्धि हो।
तपाईंहरू अमूल्य हीरा हुनुहुन्छ—जसको कुनै मूल्य तोक्न सकिँदैन। तपाईंहरूको पहिचान, अस्तित्व र सम्मान कहिल्यै घट्दैन।

